Comments Add Comment

आसाम र पश्चिम बंगाल विधानसभाको आज दोस्रो चरणको निर्वाचन

१९ चैत, काठमाडौं । भारतको आसाम र पश्चिम बंगाल राज्यमा अहिले विधानसभाको निर्वाचन भइरहेको छ । मार्च २७ मा यी दुवै राज्यमा पहिलो चरणको निर्वाचन भयो भने बिहीबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको हो ।

तेस्रो चरणको निर्वाचन अप्रिल ६ मा हुनेछ । आसाममा तेस्रो चरणमा विधानसभाको निर्वाचन सकिनेछ भने पश्चिम बंगालमा भने आठ चरणसम्म निर्वाचन हुनेछ र अप्रिल २९ मा सकिनेछ । यी दुवै राज्यको मतगणना मे २ मा एकैदिन हुनेछ ।

आसाम

भारतको आसाम राज्यको विधानसभाको १२६ सिटको लागि निर्वाचन हुन लागेको हो । यो राज्यमा पछिल्लोपटक सन् २०१६ मा विधानसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी)को गठबन्धनले ८६ सिटमा जित हात पारेको थियो । आसाममा भारतीय जनता पार्टीका सर्वानन्द सोनावाल मुख्यमन्त्री छन् ।

अहिले प्रतिपक्षी कांग्रेस आईसहितका पाँच पार्टी गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । गठबन्धनका नेताहरुले यो निर्वाचनमा जित हात पारे कांग्रेसका नेतालाई नै मुख्यमन्त्री बनाउने घोषणा गरिसकेका छन् । विपक्षीहरुले यो निर्वाचनमा आफूहरुको ७४ सिट आउने दाबी गरेका छन् । सत्तारुढ बीजेपी पार्टीले पनि यो निर्वाचनमा ८६ सिट आउने दाबी गरेको छ ।

मार्च २७ मा भएको पहिलो चरणको निर्वाचनमा आसामका ४७ सिटको लागि मतदान भइसकेको छ । बिहीबार थप ३९ सिटका लागि निर्वाचन हुन लागेको हो भने अन्तिम चरणमा ४० सिटको लागि निर्वाचन हुनेछ ।

पश्चिम बंगाल

भारतको पश्चिम बंगालमा जारी निर्वाचन अहिले सबैभन्दा धेरै चासोको विषय बनेको छ । पश्चिम बंगालको विधानसभामा २९४ सिट छ । पछिल्लोपटक सन् २०१६ मा यहाँ विधानसभा निर्वाचन भएको थियो । यो निर्वाचनमा तृणमूल कांग्रेस (टीएमसी) ले भारी बहुमत ल्याउँदै जित हात पारेको थियो । ममता बनर्जी अहिले पश्चिम बंगालकी मुख्यमन्त्रीको छिन् ।

यहाँ पहिलो चरणमा ३० सिटको लागि निर्वाचन भइसकेको छ । दोस्रो चरणमा बिहीबार पनि ३० सिटका लागि निर्वाचन हुनेछ । तेस्रो चरणमा अप्रिल ६ मा ३१ सिट, चौथो चरणमा अप्रिल १० मा ४४ सिट, पाँचौं चरणमा अप्रिल १७ मा ४५ सिट, अप्रिल २२ मा छैटौं चरणमा ४३, अप्रिल २६ मा सातौं चरणको निर्वाचनमा ३६ र अप्रिल २९ मा अन्तिम चरणमा ३५ सिटको लागि निर्वाचन हुनेछ ।

पश्चिम बंगालको निर्वाचनमा धेरै विवाद हुने गरेको छ । यसपटक पनि निर्वाचन प्रचारकै क्रममा केही विवाद आएका थिए । यसै क्रममा मुख्यमन्त्री बनर्जीले आफूमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको बताएकी थिइन् । तर, बीजेपीले भने यसलाई नाटकको संज्ञा दिएका थिए ।

गत आइतबार बीजेपीका नेता तथा भारतका गृहमन्त्री अमित शाहले यसपटक पश्चिम बंगालका नागरिकले परिवर्तन चाहेको भन्दै बीजेपीको गठबन्धनले २०० सिट ल्याउने दाबी गरेका थिए । उनले ममता बनर्जीको सरकार हटेमा पश्चिम बंगालमा स्वतः परिवर्तन आउने दाबी गरेका थिए ।

पश्चिम बंगालको लागि बीजेपीको गठबन्धनले सकारात्मक एजेन्डा लिएकाले मतदाताले आफूहरुलाई रुचाउने शाहको भनाइ थियो । केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमणको क्रममा दलित माटुवा समुदायको मन्दिरको भ्रमण गरेकोमा टीएमसीले विरोध जनाएको थियो ।

यसले पश्चिम बंगालको निर्वाचनमा प्रभाव पार्न सक्ने र यो निर्वाचन आचारसंहिता विपरीत रहेको पनि टीएमसीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment