Comments Add Comment

सम्पादनमा जमेका भरत

म्यूजिक भिडियो तथा चलचित्रको सम्पादनमा विगत २ दशकदेखि सक्रिय छन् भरत रेग्मी । उनले कलर गरेको चलचित्र ‘कथा काठमाडौं’ले केही समय अगाडि चर्चा पाएको थियो । जसमा, उनको कलर को चर्चा पनि खुबै भयो ।

टेलिभिजनबाट आफ्नो सम्पादनको यात्रा थालेका भरत पछिल्लो समयका महंगा सम्पादक हुन् । उनी भन्छन्–‘थोरै तर उत्कृष्ट काम गर्ने मेरो सोच हो । यसैअनुसार, पारिश्रमिक पनि लिने गरेको छु ।’ भरतले सम्पादन गरेको पछिल्लो चलचित्र ‘सुश्री सम्पत्ती’ हो ।

उसो त, भरतको सोच सम्पादक बन्ने भन्ने थिएन । सानैबाट, उनीमा रेडियोमा बोल्ने हुटहुटी थियो । तर, क्याम्पस पढ्न थालेपछि भने उनले आफ्नो सोच मोडे । सम्पादनमा भविष्य छ भन्ने लागेपछि भरतले यो पेशा रोजेका थिए । २ दशकमा उनी देशकै चर्चित र रोजाइका सम्पादक बनेका छन् ।

भरतले ‘नेपाली म्यूजिक भिडियो अवार्ड, इमेज अवार्ड, विन्धवासिनी म्यूजिक अवार्ड’ लगायतका प्रतिष्ठित अवार्डबाट उत्कृष्ट सम्पादकको ट्रफी समेत उचालिसकेका छन् । भरत भन्छन्–‘सम्पादन गर्दा क्यामेरा र निर्देशकको शैली पनि वुझ्न आवश्यक छ । म्यूजिक भिडियो, विज्ञापन र चलचित्र फरक विधा हुन् । तर, तिनै विधामा काम गर्दा मिहिनेत उस्तै हुन्छ ।’

कुनै पनि प्रोजेक्टको पहिलो दर्शक सम्पादक भएको भन्दै भरत आफूले चलचित्रमा केही नयाँ स्वाद पस्कने कोशिश गरिरहेको बताउँछन् । उनी भन्छन्–‘खिचिएका दृश्यलाई सम्पादन टेबलमा निर्देशकको सोच अनुसार तयार पार्ने जिम्मेवारी सम्पादकको हो । तर, कहिलेकाही हामीले पनि निर्देशकलाई सुझाव दिइरहेका हुन्छौं ।’

टेलिभिजनमा काम गर्दै गर्दा आफूलाई जिन्दगीले नयाँ मोडमा ल्याउँछ भनेर कहिले नसोचेको भरत बताउँछन् । कुनै पनि कुरा वुझ्दै जाँदा झनै उत्सुक हुने आफ्नो बानीले पनि नयाँ बाटो कोरेको भरतको तर्क छ ।

भरतले चलचित्र, भिडियो वा विज्ञापनलाई चम्किलो देखाउनु मात्र कलर करेक्शन नभएको बताए । उनले भने–‘चम्किलो देखाइदियो भने राम्रो सम्पादन भन्ने वुझाई हाम्रोमा छ । तर, बिषयवस्तु, लोकेशन, पात्रको प्रस्तुतीलाई आधार मानेर कलर गर्नुपर्छ ।’

थोरै तर उत्कृष्ट काम गर्ने सोचमा रहेका भरत म्यूजिक भिडियो, विज्ञापन र चलचित्रको कामले नै जीवनलाई अगाडि बढाउन सहज भैरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment