Comments Add Comment

अनुगमन र धरपकड गरे तेल आयात नगर्ने खाने तेल उत्पादकको धम्की 

फाइल तस्वीर

१९ चैत, काठमाडौं । खाने तेल उत्पादकहरुले आफूहरु माथि अनुगमन र धरपकड नर्गन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई धम्की दिएका छन् । खाने तेलको मूल्य वृद्धिबारे कारण पेस गर्न विभागले बोलाएको छलफलमा उद्योगी व्यवसायीहरुले आफूहरु माथि अनुगमन तथा धरपकड गरे तेल आयात नगर्ने र बजारमा तेलको अभाव हुने धम्की दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

तोरी, सोयबिन र सूर्यमूखी तेलको भाउ चार महिनामै प्रति लिटर ४० रुपैयाँसम्मले बढेपछि विभागले गत मंगलबार दोस्रो पटक नेपाल वनस्पती तेल उत्पादक संघका पदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा भाग लिन संघका पदाधिकारी विभाग आएको विभाग स्रोतले बतायो । ‘तेलको मूल्य बढ्नुको कारणबारे प्रश्न गर्दा उद्योगी व्यवसायीले अन्तर्राष्ट्रिय मूल्य नै प्रमुख कारण भएको दाबी गरे । प्रमाण पेस गर्न आग्रह गर्दा उनीहरुले आयात रोक्ने र बजारमा तेलको अभाव हुने धम्की दिए,’ स्रोतले अनलाइनखबसँग भन्यो ।

अन्तर्राष्ट्रिय मूल्य बढ्नु नै नेपाली बजारमा तलेको मूल्य बढ्नुको कारण रहेको दाबी गरेका उद्योगीहरुले काम गरेर खाने वातावरण नबिथोल्न पनि विभागलाई आग्रह गरेका थिए ।

उपभोक्ताको आवश्यकताका लागि कानुनअनुसार नाफा राखेर तेलको कारोबार गरेको दाबी उनीहरुले गरेको छलफलमा सहभागी एक सदस्यले बताए । संघका पदाधिकारीसँग तेलको मूल्य वृद्धि सम्बन्धमा विभागमा छलफल गरिएको विभागका निर्देशक एवं प्रवक्ता शिवप्रसाद सेढाईंले स्वीकारे ।

बढेको मूल्यको कारण पेस गर्न तथा तत्काल घटाउन वस्तुपरक मूल्य समायोजन गर्न उद्योगी तथा संघ संस्थाहरुलाई निर्देशन दिइएको उनले बताए । ‘तेल उत्पादक उद्योग तथा उद्योगीहरुको संघ संस्था पारदर्शी देखिएनन्, उनीहरुको संस्था र उद्योगको सूचना प्रणाली पनि गतिलो रहेनछ,’ प्रवक्ता सेढाईंले भने, ‘सम्पूर्ण कारणसहित मूल्य वृद्धि जस्टीफाई गर्न हामीले निर्देशन दिएका छौं ।’ मूल्य वृद्धिमा कुनै कृतिम कारण नभएको दाबी उनीहरुले गरेको र विभागले त्यो प्रमाणित गर्न भनेको सेढाईंले बताए । विभागकसँगको छलफलमा संघका पदाधिकारीमध्ये को-को सहभागी थिए भन्ने परिचय भने सेढाईंले खुलाउन चाहेनन् ।

तेलको मूल्य र अनुगमन नगर्न दिएको धम्कीबारे पटक पटक सम्पर्क गर्ने प्रयास गरे पनि संघका अध्यक्ष सन्दीप अग्रवाल अनलाइनखबरको सम्पर्कमा आएनन् । पहिलो पटक फोन नउठाएका अध्यक्ष अग्रवालको फोन दोस्रो पटकबाट भने सम्पर्क हुने नसक्ने अवस्थामा पुग्यो । नेपाल खुद्रा व्यापार संघका अनुसार सबै प्रकारका खाने तेल र घ्यूको भाउ कात्तिक पछि प्रति लिटरमा २५ देखि ४० रुपैयाँसम्मले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment