Comments Add Comment

वृहत विराट क्षेत्रको अवधारणा अलमलमै

मुख्यमन्त्री भन्छन्- योजना बन्दैछ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

२१ चैत, विराटनगर । मोरङ र सुनसरीलाई समेटेर प्रदेश १ सरकारले अघि सारेको वृहत विराट क्षेत्रको अवधारणा अलमलमा परेको छ ।

प्रदेश १ को राजधानी घोषणा गर्दै गर्दा प्रदेश सरकारले १८ वटा स्थानीय तहलाई समेटेर वृहत विराट क्षेत्र घोषणा गरेको थियो । विराट क्षेत्रको विकासका लागि ‘वृहत विराट क्षेत्र विकास सम्बन्धी ऐन २०७६’ पनि बनेको छ । तर दुई वर्षसम्म वृहत विराट क्षेत्रको काम अघि बढेको छैन । ऐन पनि कार्यान्यनमा आएको छैन ।

वि.सं. २०७६ बैशाख २६ गते प्रदेशसभाले विराटनगरलाई केन्द्र बनाएर वृहत विराट क्षेत्रलाई राजधानी घोषणा गरेको थियो । इटहरी, धरान, धनकुटा र विराटनगरमा स्थायी राजधानी माग गर्दै आन्दोलन उठेपछि प्रदेश सरकारले वृहत विराट क्षेत्रको अवधारण अघि सारेको थियो ।

राजधानी घोषणा गर्नुभन्दा ९ दिनअघि २०७६ साल वैशाख १७ गते वृहत विराट क्षेत्र विकास सम्बन्धी ऐन २०७६ प्रमाणीकरण भएको थियो ।

ऐनमा भौतिक पूर्वाधार मन्त्रीको अध्यक्षतामा समिति गठन गर्ने प्रावधान छ । समितिमा ३ जना प्रदेश सांसद्, तीन जना स्थानीय तहका प्रतिनिधि, तीन जना विषय विज्ञ, भौतिक र मुख्यमन्त्री कार्यालयका सचिव सदस्य रहने प्रावधान छ । विकासको काम अघि बढाउनका लागि प्रमुख कार्यकारी निर्देशकको पनि व्यवस्था गरिएको छ । समितिको सदस्य सचिवमा कार्यकारी निर्देशक सदस्यसचिव रहने छन् ।

समिति गठन भएको विषयमा आफूलाई जानकारी नभएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । वृहत विराट क्षेत्र घोषणा भए पनि दुई वर्षसम्म कुनै काम नभएको उनले बताए । विगतमा वृहत विराट क्षेत्रको चर्चा उठेपनि पछिल्लो समय चर्चा सेलाएको उनले बताए ।

बृहत विराट क्षेत्रमा मोरङका विराटनगर महानगरपालिका, सुन्दरहरैचा, रंगेली नगरपालिका, बुढीगंगा, कटहरी, ग्रामथान, जहदा, केराबारी र धनपालथान गाउँपालिका समेटिएका छन् ।

सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, बराहक्षेत्र, दुहबी इनरुवा, रामधुनी नगरपालिका समेटिएका छन् । त्यस्तै कोशी, गढी र बर्जु गाउँपालिका पनि वृहत विराट क्षेत्रमा समेटिएका छन् ।

अध्ययनको चरणमा छौं : मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई १८ वटा स्थानीय तहलाई वृहत विराट क्षेत्रमा समेटिए पनि दुई वर्षसम्म काम अघि बढाउन नसकिएको बताउँछन् ।

वृहत क्षेत्रलाई व्यवस्थीत र योजनावद्ध रुपमा विकास गर्नका लागि अध्ययन जारी रहेको उनले बताए । विगतमा योजनाबद्ध रुपमा सहरको विकास नगर्दा समस्या भएको बताउँदै उनले सबै विषयको अध्ययनपछि विराट क्षेत्रको काम अघि बढ्ने बताए । १८ वटा पालिकालाई पूर्वाधार आवास लगायत क्षेत्रमा योजना निर्माण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment