Comments Add Comment
खेम सेञ्चुरी :

‘गीत नचलेपछि विदेश जाउँ कि सोच्थें’

सोचे झैं जिन्दगी रै’नछ…

सोचे झैं जिन्दगी रै’नछ…।

याे गीत एक समय निकै चल्यो । अघिल्लो तीजमा यही गीतमा धेरैले कम्मर मर्काए । टिकटकमा त याे निकै ‘भाइरल’ नै बन्यो । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत रहेको गीतमा खेम र मधु क्षेत्रीले स्वर दिएका थिए ।

त्यसपछि ‘झ्यालमा पर्दा छ’ लोकदोहोरी सार्वजनिक भयो– खेम र सुमन थापा मगरको आवाजमा । यो गीत पनि श्राेता–दर्शकले उत्तिकै मनपराए । यी दुई गीतका संगीतकार समेत रहेका खेम सेञ्चुरी पछिल्लो समय लोकदोहोरीमा चलेका संगीतकर्मी हुन् ।

खेमले एकपछि अर्को गीत गाइरहेका र भिडियोमा अभिनय गरिरहेका छन् । मेला–महोत्सवतिर पनि प्रस्तुति दिइरहेका हुन्छन् । तर, खेमको यो सक्रियता शुरु भएको धेरै समय भने भएको छैन ।

खेम भन्छन्, ‘डेढ, दुई वर्ष अगाडिसम्म पनि विदेश जाने सोच आउँथ्यो ।’

‘सांगीतिक क्षेत्रमा लामो समय बिताउँदा आर्थिक हिसाबले सबल नभएपछि धेरै पटक विदेश जाने सोच बनाएँ । त्यही सोचले पासपोर्टसमेत बनाएँ ।’

समयका हिसाबले खेम सांगीतिक क्षेत्रमा लागेको एक दशक भएको छ । तर  आर्थिक रूपमा निकै सकस भएपछि डेढ–दुई वर्ष अगाडिसम्म पनि आफू दोधारमा रहेको खेमले सुनाए ।

सांगीतिक क्षेत्रमा लामो समय बिताउँदा आर्थिक हिसाबले सबल नभएपछि धेरैपटक विदेश जाने सोच बनाएको खेमले बताए । ‘त्यही सोचले पासपोर्टसमेत बनाएँ’ उनले भने, ‘विदेश जाने सोच धेरैपटक आयो । मैले रचना गरेका, संगीत भरेका, गाएका गीतमा सन्तुष्ट थिएँ । तर, आर्थिक रुपमा सबल थिइनँ । धेरै गाह्रो थियो । त्यसैले डेढ/दुई वर्ष अगाडिसम्म पनि विदेश जाने सोच आएको थियो ।’

तर, खेमको सांगीतिक यात्रामा केही गीतहरू आए । जसले उनको विदेश जाने सोच सधैंका लागि अन्त्य गरिदिएको छ ।

खेमले संगीत भरेको ‘चिया छानेको’ गीतले राम्रो चर्चा पायो । ‘औंठी बेरुवाको’, ‘कपाल कोरेर’, ‘कामी दाइको छोरो’, ‘लरी लरी लै’ बोलको गीतलाई श्राेता दर्शकले मन पराए । त्यसपछाडि सार्वजनिक भए– ‘सोचे झैं जिन्दगी रै’नछ’ र ‘झ्यालमा पर्दा छ’ । त्यसपछि उनको आर्थिक सकस पनि केही कम भयो । उनले विदेश जाने सोच बदले ।

रेकर्डिङ, छायांकनदेखि मेला–महोत्सवसम्म

एकपछि अर्को गीतलाई श्राेता–दर्शकले रुचाउन थालेपछि खेमले फुर्सद पाएनन् । एकपछि अर्को गीत गाइरहे । संगीत भरिरहे । अभिनय पनि गरिरहे ।

पहिले मेला–महोत्सवमा फाट्टफुट्ट मात्र पुग्ने खेमलाई मेला–महोत्सव आयोजकले खोज्न थाले । लकडाउनपछि मात्रै उनले आधा दर्जनभन्दा बढी महोत्सवमा गीत गाएर फर्किए । केहीमा अझै जानुपर्नेछ ।

पछिल्लो समय खेमका महिनामा १० देखि १५ वटासम्म गीत बजारमा आइरहेका छन् । अफर आएका सबै काम गर्ने हो भने यो संख्या लम्बिन्छ । तर, उनलाई यो संख्या लम्ब्याउनेभन्दा घटाउन मन छ ।

कस्तो पृष्ठभूमिबाट उदाए ?

खेमको सांगीतिक यात्रा रुपन्देहीको रुद्रपुरबाट स्कूल जीवनदेखि नै शुरु भएको हो । उनी मगर परिवारको बाहुल्य रहेको समाजमा जन्मिए, हुर्किए । बाबु रोजगारको सिलसिलामा भारतमा थिए । परिवारको जेठो सन्तान भएका कारण खेम घरायसी काममा पनि लाग्नुपर्थ्याे ।

तर उनको रुचि सांगीतिक क्षेत्रतिर थियो । सम्झन्छन्, ‘गीत गाउन, नाच्न अगाडि सर्थें । विद्यालयमा हुने सांगीतिक कार्यक्रम, देउसी–भैलोमा नाच्ने, गाउने गर्थे ।’ यद्यपि उनको ठ्याक्कै यही बन्छु भन्ने सपना थिएन ।

गाउँ समाजबाट धेरैजसो वैदेशिक रोजगारमा गएका थिए । खेमलाई पनि बाबुआमाले भनेका थिए, ‘एसएलसी सकेपछि लाहुरे बन ।’

९–१० कक्षामा अध्ययन गर्दाको समयमा भने खेमले प्रतियोगिताहरू तथा एफएम रेडियोमा धेरै गीत गुनगुनाए । साथीभाइ, छिमेकीले दिने प्रशंसा नै सांगीतिक क्षेत्रमा लाग्ने प्रेरणा बनेको खेम स्मरण गर्छन् ।

एसएलसी दिएपछि गायक बन्ने सपना बोकेर खेम ऋणधन गरेर २०६६ सालमा काठमाडौं आए । गायक खुमन अधिकारीसँग पहिल्यैदेखि चिनजान थियो । काठमाडौं आएपछि पनि  खुमनकै कारण खेमको लोकदोहोरीका धेरै कलाकारसँग चिनजान भयो ।

खेमलाई अब विदेश जानुपर्ने बाध्यता टरेको छ । संगीत कर्ममै बाँच्ने आधार बनेको छ । दुईचार रुपैयाँ बचत गर्न सक्ने भएका छन् ।

यद्यपि काठमाडौं बसाइ सोचेजस्तो भएन । आफूलाई टिकाउनका लागि उनले दोहोरी साँझ, रेष्टुराँमा काम गर्न थाले ।

खेमको एल्बम निकाल्ने रहर थियो । तर, कसले गाउन दिने ? खेमले सुनाए, ‘ऋणधन गरेर एक लाख लगानीमा पहिलो एल्बम निकालें । तर, सोचेजस्तो भएन ।’ त्यो एल्बम थियो, ‘भन्छु आज साथी मात्र हो ।’

अर्कोमा लगानी गर्न उनीसँग पैसा भएन । उनी दोहोरी साँझ, रेष्टुराँको काम सकेर रेकर्डिङ स्टुडियोतिर पुग्न थाले । गीतबारे धेरै कुरा बुझ्ने अवसर त्यहींबाट पाए ।

नेत्रको शब्द, खेमको संगीतमा एउटा गीत सार्वजनिक भयो, ‘ए हावा जाऊ, ए बादल जाऊ’ । रामजी खाँण र टीका पुनको स्वरमा रहेको गीतले राम्रै चर्चा पायो ।

‘गीत संगीतमा केही गर्न सक्छु भन्ने भएको थियो । त्यो गीतमा संगीत भरेवापत ३५ सय रुपैयाँ पाएको थिएँ,’ करिअरले लय समात्दै गर्दाको समय उनी स्मरण गर्छन् ।

खेमले गीत लेख्दै गए, भाका बनाउँदै गए । ‘सोल्टिनी तिमीले आँखा मार्‍याै नि’ बोलको गीतमा भाका हाले । ‘राम्रो केटा पाएमा बिहे गर्ने मन छ’ मा शब्द कोरे, भाका हाले । ‘खुसीको के अर्थ’ गीत गाए । बिस्तारै ‘तामे करुवा’, ‘दर्शक ढुंगा’, ‘लाहुर’, ‘कपालु कोरेर’ जस्ता गीतले खेमलाई गायकका रुपमा परिचित बनाउँदै लग्यो ।

‘त्योभन्दा अगाडि सर्जकको रुपमा मात्रै चिनिन्थें । त्यसपछि गायक भनेर पनि चिनिन थालें, अवसर पाउन थालें’, खेमले सुनाए ।

 

सन्तुष्ट खेम

खेमलाई अब विदेश जानुपर्ने बाध्यता टरेको छ । किनभने उनको आफ्नै मिहिनेतले गर्दा आज संगीत कर्ममै बाँच्ने आधार बनेको छ । दुईचार रुपैयाँ बचत गर्न सक्ने भएका छन् ।

‘आशीर्वाद भनौं, धेरैको माया पाएको छु । दुई चार रुपैयाँ आउने ठाउँ पाएको छु । अब सांगीतिक क्षेत्रमै भविष्य बित्छ कि भन्ने आधार बनेको छ’, १५० सेरोफेरो गीत गाएका खेम सन्तुष्ट सुनिए ।

पहिले स्थापित हुन संघर्ष गरेका खेम अहिले भने स्तरीय लोकगीत गाउने उद्देश्यमा छन् । ‘संख्याभन्दा गीतको स्तरीयतामा फोकस गरिरहेको छु’, उनले भने ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment