News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी अगुवाहरूले २३ भदौ २०८२ मा संसद् भवन गेटमा चलेको गोलीपछि आन्दोलन उग्र भएको र १९ जनाको मृत्यु भएको सम्झे।
- उनीहरूले २३ र २४ भदौ दुवै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र घाइते तथा शहीद परिवारलाई न्याय दिन सरकारसँग माग गरे।
- जेनजीहरूले भ्रष्टाचार नियन्त्रण, रोजगारी, सुशासन, कर्णाली–सुदूरपश्चिमका घाइतेको उपचार र सम्झौता कार्यान्वयनलाई मुख्य मुद्दा बताए।
२३ भदौ, काठमाडौं । जेनजी र जेनजी अगुवाहरू मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन प्राङ्गणमा भेला भए । जेनजी शहीद दिवसका अवसरमा आयोजित सभामा सहभागी भएर उनीहरू एक वर्ष अगाडि सडकमा रहेर गरेका संघर्ष र संकल्प सम्झिरहेका थिए ।
‘मैले यही गेट अगाडि गोली खाएको हुँ’ संसद्को मूल गेटतर्फ देखाउँदै जेनजी अगुवा युवराज जंग थापाले भने ।
उनी २३ भदौ २०८२ मा संसद् भवनको गेटमा चलेको गोली लागेर घाइते भएका युवा हुन् । गोली लागे लगत्तै निजामती अस्पतालमा भर्ना भए । तीन दिनपछि डिस्चार्ज भए ।
‘हामीले नागरिकको दैनिकीमा सुधार चाहेका हौं, रोजगारी सिर्जना गर भनेका हौं । यसमा भ्रष्टाचार मूल बाधक थियो । राजनीतिक स्थायित्वको कुरा छँदैथियो’ थापा भन्छन्, ‘राज्य सञ्चालनमा सुधार खोज्दा गोली चलाउनु गलत थियो । त्यसले आन्दोलनलाई उग्र बनाएको हो ।’
गत वर्ष २३ भदौमा सडकमा आएका जेनजी युवाहरूका हातमा राष्ट्रिय झण्डा थियो । काँधमा परिवर्तनको सपना र आखाँमा उज्यालो भविष्यको अपेक्षा थियो ।
यही शैली र सन्देश दिने गरी आन्दोलनकै नमूना रुप संसारलाई देखाउने भनेर प्रदर्शन सुरु गरेको उनीहरू सम्झँदैछन् ।
शान्तिपूर्ण प्रदर्शन नियन्त्रण गर्न तत्कालीन राज्यले गोली चलाएपछि मुलुक अहिलेको कोर्समा अघि बढेको उनीहरूको निष्कर्ष छ ।
अर्का जेनजी अगुवा बादल राई गोली चलेपछिको अवस्था सम्झिन्छन् । ‘गत वर्ष यो दिन राति (२३ भदौको राति) हामी सुत्न सकेका थिएनौं । त्यो राति मैले हिजोको राति महसुस गरेँ, मलाई निद्रा लागेन । आज मेरा आँखा राता भएका छन् । बोल्दा शरिर कापिरहेका छन्’ बादल भन्छन्, ‘बोल्न नसकेर होइन् । त्यो आन्दोलनलाई सम्झेर ।’
बादल जेनजी आन्दोलन सुरुआतकर्ताहरूमध्ये एक हुन् । उनीहरूले सरकारलाई खबरदारी गर्ने गरी रेडिटबाट आन्दोलन सुरु गरेका थिए । त्यो टिकटक, इन्टाग्राम, फेसबुक हुँदै डिस्कर्डसम्म पुग्यो । अनि माइतीघरमा जम्मा हुने तय भयो ।
तर, शान्तिपूर्ण हुने भनेर अगाडि बढेको उक्त प्रदर्शन किन उग्र भयो भनेर उनी २३ भदौमा चलेको गोली र गोली लागेर शहीद भएका र घाइते भएकाहरूको अवस्था सम्झन्छन् । उनी आफैँ २३ भदौ २०८२ मा नयाँ बानेश्वरमा चलेको गोली लागेर घाइते भए । ९ दिन पछि डिस्चार्ज भए ।

तर के सोचर आन्दोलन गरेको र के भयो भन्नेमा आफैँ आश्चर्यचकित भए । उनी सम्झन्छन्, ‘म डिस्चार्ज भएर आउँदा अन्तरिम सरकार गठन भइसकेको थियो । वी आर टोटल्ली सक्ड । सरकार हाम्रो रगतले बनेको देख्दा गर्व पनि लाग्यो । तर कति कुरामा चित्त बुझेको थिएन ।’
बादल राईलाई त्यतिबेला कतै मुलुक लोकतान्त्रिक बाटोबाट अन्यत्रै जान्छ कि भन्ने चिन्ता लागेको रहेछ । यहाँनेर उनले मुलुकलाई अहिलेको कोर्समा अगाडि बढाउन भूमिका खेल्ने पात्रहरू सम्झिए ।
‘…सुशीला आमालाई एकदम रेस्पेक्ट गर्छु । राष्ट्रपतिज्यूलाई रेस्पेक्ट गर्छु । तमाम आन्दोलनपछाडि बनेको संविधानलाई बचाइदिनुभएकोमा’ उनले भने, ‘तर त्यो संविधानले, यो सिस्टमले साँच्चै काम दिइराखेको छ त ?’
बादल हाल घाइते जेनजी नेपालको अध्यक्ष छन् । अध्यक्ष राईले ‘सुशीला आमा’ भनेर तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई सम्झेका हुन् ।
जेनजी आन्दोलन थप विस्तार भएपछि २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । २७ भदौमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही दिन प्रतिनिधिसभा विघटन भयो । यस कोर्समा मुलुकलाई अगाडि बढाउने संवाद र पहलकदमीमा राष्ट्रपति रामचन्द्र पौडेल एक प्रमुख पात्र थिए ।
२१ फागुन २०८२ मा प्रतिनिधिसभाको निर्वाचन भयो । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित शक्तिशाली पार्टीका रुपमा उदायो । बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री छन् । जेनजी आन्दोलनकै अगुवा सुधन गुरुङ गृहमन्त्री छन् ।
मंगलबार जेनजी आन्दोलनकै क्रमा २४ भदौमा जलेको पुरानो संसद् भवन प्राङगणमा जेनजी शहीद नेपाल र जेनजी शहीद परिवार कल्याणकारी समितिले जेनजी शहीद स्मृति सभा राखे । प्रमुख अतिथि उनै सुधन गुरुङ थिए । अन्य मन्त्रीहरू अतिथि थिए । जहाँ उपस्थित जेनजी र जेनजीका अगुवाहरू नेताहरूको भाषण मात्रै सुनिरहेका थिएनन् । उनीहरू आपसमा जेनजी आन्दोलन यताको एक वर्षको घटनाक्रम केलाइरहेका थिए ।

युवा आक्रोश किन ?
जेनजी सबल रोका २३ र २४ भदौ दुवै दिन आन्दोलनमा थिए ।
‘भ्रष्टाचारको अन्त्य हुनुपर्छ र राज्य संचालनमा नातावाद र कृपावादले प्राथमिकता पाउनु हुँदैन भन्ने भावना बोकेर सडकमा आएका थियौं,’ उनी भन्छन्, ‘आन्दोलन भयो । परिवर्तन भयो । एक वर्ष बित्यो । अब धेरै पूरानो कुरा धेरै सम्झिने भन्दा पनि आन्दोलनको मर्मअनुसार अहिलेको सरकारले काम गर्नुपर्यो । पीडित र प्रभावितलाई न्याय दिनुपर्यो ।’
उनका अनुसार शहीद परिवार र घाइते र घाइतेका परिवार न्यायको पर्खाइमा छन् ।
मंगलबार पुरानो संसद भवन प्राङ्गणमा देशैभरका जेनजी आन्दोलनमा सहभागि युवाहरू थिए । चितवनको आन्दोलनमा सरिक जेनजी युवा अविनव वाग्ले पनि आफूहरूले धेरै ठूलो माग नराखेको सम्झन्छन् ।
अविनव भ्रष्टाचारको अन्त्य भयो र राज्य सञ्चालनमा नातावाद र कृपावाद नभनेर योग्यता र क्षमताले प्राथमिकता पायो भने देश बदलिने बताउँछन् ।
‘हामीले जन्मिएदेखि प्रधानमन्त्रीको कुर्सी राउण्ड चेयरमा घुमिरहेको थियो । एक नभए अर्को, अर्को नभए अर्को व्यक्ति प्रधानमन्त्री हुने तर राजनीतिक अस्थिरता भयो भनेर पनि भनिरहने अवस्था मन परेको थिएन,’ उनी भन्छन्, ‘यसमै जोडिएको थियो सुशासन र भ्रष्टाचार । यसमै थपिएको थियो, रोजगारी देशमा सिर्जना हुन नसकिरहेको आक्रोश ।’

उनका नजरमा युवाले आफ्नै देशमा भविष्य खोज्न भनेरै आन्दोलन गरेका हुन् । उनी थप्छन् ‘काठमाडौंमा बस्न महिनामा न्यूनतम ३० हजार कमाउनुपर्छ । तर १०/१२ हजारको काम गाह्रो छ । यस्तोमा विदेशिनु बाध्यता हो । अनि आक्रोश स्वभाविक आउँछ नि । आयो र त आन्दोलन भयो ।’
अर्थात्, युवाले दैनिकीमा सहजता खोजेका हुन् । अवसरमा समान पहुँच खोजेका हुन् । भ्रष्टाचार, अपारदर्शिता र नीतिगत अनियमितताको निष्पक्ष छानबिन र दोषीलाई कारबाही भए जनतामा विश्वास जगाउन सकिने र देशलाई समृद्ध बनाउने सकिने भनेर त्यो वातावरण खोजेका हुन् ।
बाध्य भएर विदेश जान नपरोस् भन्ने चाहेका हुन् । जेनजी युवा अविनव थप्छन्, ‘यसका निम्ति के गर्नुपर्छ थाहा छैन तर गर्नुपर्छ भनेका हौं ।’
यससँगै सर्वसुलभ शिक्षा र स्वास्थ्यको उपलब्धता युवाको चाहना छ । अनावश्यक कर राज्यले लिन हुँदैन भन्ने उनको आग्रह छ ।
‘राज्यले जसरी कर लगाइरहेको छ । यसमा पुर्नर्विचार आवश्यक छ । किनभने ३ करोड नेपालीमा २ करोड नेपाली निम्न वर्गका छन्’ उनी भन्छन्, ‘पठाओ राइड गरेर जीवन चलाइरहेका गणेश नेपालीलाई हेर्नुहोस् । प्रहरीसँग झगडा पर्यो भनेर गणेश निराश भएका होइनन् । १५ हजार फाइन पर्यो ला, हाउ आइ पे’ भन्ने कुराले ट्रिगर भयो । अरु लोन आदिका कुरा पनि थिए ।’
उनका नजरमा नयाँ सरकारले पनि युवा आक्रोशलाई सम्झँदै जेनजी आन्दोलनको मर्मअनुरुप तल्लो वर्गका नागरिकलाई प्राथमिकतामा राखेर उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक हैसियत बढाउने गरी काम गर्नुपर्छ ।
‘सबैभन्दा पहिले तल्लो वर्गमा मान्छेहरूको कुरा सुन्नुपर्यो । राज्यको पहुँचमा नभएका नागरिकको कुरा सुन्नुपर्यो’ उनी भन्छन्, ‘भ्याट बिल लिए १० लाखसम्म चिठ्ठा पर्ने आदि कुरा गरिँदैछ । पैसा हुनेले ट्याक्स तिरेर सामान किन्ने हो । सबैले होइन ।’
के–के भए उपलब्धि ?
काभ्रेस्थलीकी जेनजी उमा धितालका नजरमा आन्दोलनको एक वर्षमा परिवर्तनको अनूभुत हुने घटनाहरू भएका छन् ।
‘भन्ने बित्तिकै सबै नहोला, तर बन्द भएका उद्योगहरू खुल्दैछन् । विस्तारै त्यसबाट रोजगारी सिर्जना होला’ उनी भन्छिन्, ‘६ महिना भयो निर्वाचन पछाडि अहिलेको सरकार बनेको । यसबीचमा सार्वजनिक सेवा प्रवाहमा सहजता भएको विषय पनि आएको छ ।’
धितालको नजरमा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा जनताले जेनजी आन्दोलनलाई अनुमोदन गरे ।
‘यो महत्वपूर्ण उपलब्धी हो । संसद्मा, सरकारमा युवाहरूको वर्चस्व छ । युवालाई आफ्नो पुस्ता राज्य सञ्चालनमा छ भन्ने परेको छ । यसले युवामा सकारात्मक उत्साह र जोश थपेको छ’ उनी भन्छन् ।
कर्मचारीतन्त्रको काम गर्ने शैलीमा समेत परिवर्तनको अनुभूत भएको उनी सुनाउँछिन्, ‘पहिले भन्दा अहिले कर्मचारीहरुमा पनि पोलाइटनेस देखिन्छ । कुनै ठाउँमा काम गर्न गयौँ भने सरकारी कर्मचारीहरू टाइम लाग्छ भने पनि पोलाइट भएर भन्छन् । यो फिल हुन्छ ।’

जेनजी आन्दोलनलाई राजनीतिक वैधता दिने गरी भएको १० बुँदे सम्झौलाई पनि जेनजीहरूले अर्को उपलब्धि मानेका छन् ।
२४ मंसिर २०८२ मा तत्कालीन अन्तरिम सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनकारीका तर्फबाट भोजविक्रम थापाले गरेको सम्झौताको प्रस्तावनामै जेनजी आन्दोलनलाई राजनीतिक–सामाजिक जनआन्दोलनको रुपमा लिपिवद्ध गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य अफ्साना बानु जनेजी आन्दोलनमा उठेका माग, मुद्दा सम्बोधन र सरकारसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको बताउँछिन् । सम्झौता अनुसार जेनजी आन्दोलनमा सरिक भएकै आधारमा जेल परेकालाई छुटाउने प्रयास जारी छ ।
‘यो विषय निरन्तर संसद्मा उठाइरहेको छु’ उनी भन्छिन्, ‘यो हाम्रो सरकार हो, जेनजी सरकार हो भनेर महसुस गराउनु छ भने सबैभन्दा पहिले जेनजी आन्दोलनमा सरिक भएकैक कारण जति पनि साथीहरू जेलभित्र हुनुहुन्छ, उहाँहरुलाई रिहा गर्नु पर्यो ।’
रिहा गर्ने प्रक्रियामा कानुनी विषय मिलाउने लगायतका काम भइराखेको भनेर उनले यसलाई सकारात्मक रुपमै लिएकी छन् ।
साथै, सरकारले १०० दिनमा गर्ने कामको १०० सूची बनाएको र त्यसअनुसार काम गरेको भनेर बानुले यसलाई उपलब्धीको सूचीमा राखेकी छन् ।
‘सरकारले संस्कार बदल्ने प्र्रयास गरेको छ । १०० दिनमा गर्ने १०० कामको प्रगति हेर्न सक्नुहुन्छ’ उनी भन्छिन्, ‘कतिपय काममा बहस भयो होला । तर परिवर्तनका केही पोइन्ट्सहरु पाउनुहुन्छ ।’
२३ र २४ मा के फरक ?
भदौ २३ गते र भदौ २४ गतेको घटनालाई हेर्ने दृष्टिकोणमा समाजमा भइराखेको बहसबाट जेनजीहरू टाढा छैनन् उनीहरू २३ भदौमा राज्यले गोली चलाउँदा १९ जनाको मृत्यु भएको र त्यसपछि २४ भदौको आन्दोलन उग्र भएको साझा बुझाइमा छन् । तर राज्यले दुवै दिनको निश्पक्ष छानबिन गरोस् भन्ने आग्रह गरिरहेका छन् ।
यस्तो बहस गर्नेहरूलाई जेनजी अगुवा वर्ष श्रेष्ठको प्रश्न छ, ‘२३ गते पहिला आउँछ कि २४ गते ? अनि आजको घटनाले भोलिलाई प्रभाव पार्छ कि भोलिको घटनाले आज ? यो आफैँ नै बुझ्नुपर्यो ।’
उनका अनुसार २३ भदौमा जेनजीहरू नै सडकमा थिए । तर राज्यकै कारण भोलिपल्ट अरु पनि सडकमा आए ।
‘भोलिपल्ट उता म कालिमाटी तिरबाट बानेश्वरतर्फ आउँदै थिए । राज्यले गोली हानिरहेको थियो । हामी लुकेर हुँदैन भनेर लुक्दै छिप्दै आयौं,’ उनी भन्छिन्, ‘बाटो भरि देख्यौं, अंकलहरू, दाईहरू, आमाहरू चिच्याएर हाम्रो बच्चा मार्न पाउँछ ? भनिरहनुभएको थियो । त्यो सम्झिँदा अहिले पनि हातमा काँडा उम्रिराछ ।’
अर्का जेनजी निमेष श्रेष्ठ पनि अघिल्लो दिनको परिस्थितिले भोलिपल्टको घटना निम्त्याएको बताउँछन् । बरु २३ भदौमा भएको आन्दोलनको दमनमा संलग्नमाथि सरकारले आवश्यक कारबाही नगरेको गुनासो जेनजीहरूको रहेको सुनाउँछन् ।
तर दुवै दिनको निष्पक्ष छानबिन सरकारले गरोस् भन्नेमा जेनजीहरू सहमत छन् ।

‘हाम्रो उद्देश्य राज्यको सम्पत्ति जलाउने थिएन । यो संसद् भवनसँग हाम्रो दुश्मनी होइन । यहाँ भित्र बस्ने सँग त थियो तर यो भवनसँग थिएन’ जलेको भवन देखाउँदै जेनजी अगुवा युवराज जंग थापाले भने ।
उनी थप्छन्, ‘हाम्रो युवा पुस्ताले विदेशमा गएर काम गरेर पठाएको रेमिटेन्सले देश चलिरहेको छ, त्यसबाट तलब र भत्ता तथा सुविधा ललिनेहरूले नागरिकप्रति जवाफदेही भएर काम गरे कि गरेनन् भन्ने हाम्रो प्रश्न हो ।’
राज्यले २३ भदौमा गोली चलाएपछि परिस्थिति बिग्रिएको उनलाई लाग्छ । २४ भदौमा राज्यको सम्पत्ति जलेको पनि ठीक लाग्दैन ।
‘आन्दोलनमा कसरी घुसपैठ भयो ? किन प्रहरीले गोली हान्न बाध्य भयो ? यी दुई प्रश्न छन्’ उनी भन्छन्, ‘यी दुवै प्रश्नको जवाफ दिने गरी दुवै दिनको घटनाको निष्पक्ष छानबिन हुनै पर्छ ।’
अन्यथा, गलत नजिर बस्नेछ । ‘यो छानबिन भएन भने भोलिको दिनमा फेरि गाह्रो हुने वाला छ । २४ गते देश कसले जलायो ? कसको नेतृत्वमा त्यो भयो ?’ उनी भन्छन्, ‘यस सम्बन्धी केही अध्ययन भएर प्रतिवेदन बनेका छन् । तिनको पनि कार्यान्वयन हुनुपर्छ । आवश्यक छानबिन पनि अगाडि बढ्नुपर्छ ।’
भदौ २३ र २४ का घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बन्यो । उक्त आयोगले सुरक्षा निकायका अधिकारीमाथि विभागीय तथा फौजदारी कारबाहीको सिफारिस गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले पनि सरकारलाई सिफारिसहरू गरिसकेको छ । तर, दुवै प्रतिवेदनले औंल्याएका कैयन् विषय कार्यान्वयनमा आएको छैनन् ।
कार्की आयोगले सुरक्षा निकायका अधिकारीमाथि विभागीय तथा फौजदारी कारबाही सिफारिस गरेको विषयमा सरकारले छुट्टै अध्ययन गर्ने भनेको छ ।
बाँकीको हकमा एक हदसम्म कार्यान्वयनमा लागेको सरकारी दाबी छ । मानवअधिकार आयोगको प्रतिवेदन सरकारले कार्यान्वयनमा लगेकै छैन । यस सन्दर्भमा जेनजीहरूले दुवै दिनको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
यथावत छन् प्रश्नहरू …
जेनजी शहीद स्मृति दिवस मनाउँदै गर्दा अधिकांश जेनजीहरूले सरकारप्रति विश्वास प्रकट गरेका छन् । तर फेरि पनि प्रश्नहरू यथावत रहेको जनाउ पनि दिएका छन् ।
भ्रष्टाचार नियन्त्रण कति भयो ? सरकारी सेवा छिटो खै ? भन्नेहरू भेटिए ।
एक जेनजीले भने, ‘युवाका लागि पर्याप्त रोजगारी सिर्जना कहिले ? विदेश पलायन रोकिएको त छैन । राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी भनियो तर प्रश्नहरू उठेका छन् । ठेक्का र सार्वजनिक खरिदमा पारदर्शिताको कुरा छ । रास्वपाभित्रै आन्तरिक लोकतन्त्र कस्तो छ ?’
यसबाहेक समान विकासका सन्दर्भमा सरकारले के कति काम गर्यो भन्ने प्रश्न पनि छ ।

कर्णाली जाजरकोटकी सुप्रिया राजलक्ष्मी शाही नेपालको सबै परिवर्तनमा कर्णाली र सुदूरपश्चिमको ठूलो योगदान रहेको बताउँछिन् ।
‘तर अहिले पनि कर्णाली र सुदूरपश्चिमका जेनजीहरू गुमनाम छन् । कतिले खुट्टा गुमाएका थिए, कतिले आँखा गुमाएका थिए, कतिले हात गुमाएका छन् तर तिनीहरू राज्यको पहुँचमा छैनन् ।’
उनी थप्छिन्, ‘ती साथीहरू एउटा जिउँदो शहीद भएर बाँचिरहेका छन् । तिनीहरूको अवस्था देख्दा साँच्चिकै सरकारले कता-कता कर्णालीलाई र सुदूरलाई हेपिरहेको जस्तो जस्तो हामीलाई महसुस हुन्छ ।’
कर्णाली उपेक्षामा पर्यो भनेर यसपटक मात्रै उठेको होइन । जाजरकोटकी सुप्रिया राजलक्ष्मी भन्छिन्, बजेटको हिसाबमा पनि हेर्नु भयो भने पनि कर्णाली एकदमै पछाडि छ, सुदूरपश्चिमभन्दा पनि कर्णाली एकदमै पछाडि परेको छ ।’
यी लगायत पछाडि परेका भूगोल, क्षेत्र, वर्ग र नागरिकको पक्षमा काम गर्न सरकारलाई फेरि पनि खबरदारी गरिरहने उनको प्रतिबद्धता छ ।
‘हामीले जेनजी मुभमेन्टभन्दा अगाडि पनि खबरदारी गरिरहेका थियौं । अब पनि खबरदारी गरि नै रहन्छौं । अहिले पनि बोलिरहेका छौं, भोलि पनि बोल्छौं । जबसम्म यो देशमा बाँच्छौ जबसम्म रिसर्च गर्छौं, पढ्छौं, लेख्छौं, परिवर्तनको आशा राख्छौं र राज्यलाई खबरदारी गरिरहन्छौं ।’
उनका नजरमा फेरि पनि असमानता र विभेद रह्यो भने फेरि पनि विद्रोह जन्मिन सक्छ । भन्छिन्, ‘आशा छ त्यो अवस्था नआओस्, यो देशमा फेरि भाद्र २३ र २४ गते भएका घटनाहरू नदोहोरियोस् । यसमा हाम्रो एकदमै ठूलो अपेक्षा छ ।’
प्रतिक्रिया 4