Comments Add Comment

पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिमा बोर्डले सहयोग गर्ने

२३ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डले देशभरका होटल व्यवसायीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएको छ ।

पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौमा आयोजित दुई दिने हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी तालीम समापनका अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले यस्तो जानकारी गराएका हुन् ।

उनले पर्यटन विकासका लागि व्यवसायीको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने बताएका हुन् । कोभिड-१९ का कारण तत्कालै अन्तर्राष्ट्रिय पर्यटक आउने अवस्था अझै बनिनसकेको अवस्थामा आन्तरिक पर्यटन आवश्यक रहेको र त्यसको लागि साना तथा मझौला होटल व्यवसायीहरुले होटलहरूको स्तरीकरण र व्यवसायीहरुको क्षमता अभिवृद्धिलाई जोड दिनु पर्ने उनको भनाइ छ ।

बोर्डले सात प्रदेशका सबै जिल्लाबाट १२० जना व्यवसायीलाई तालिममा सहभागी गराएको छ । तालिममा व्यवसायीहरूले रोजगारी सिर्जना आन्तरिक पर्यटनमा साना तथा मझौला होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेपनि राज्यले साना व्यवसायीहरूलाई सोही अनुरुप सहयोग गर्न नसकेको गुनासो गरेका थिए । महासंघका अध्यक्ष हिराध्यव शाहले देशभर करिब ८१ हजार साना तथा मझौला होटल रहेको र आन्तरिक पर्यटनमा यी होटलको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले आफू होटलको गुणस्तर तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका तयार रहेको र राज्यले समेत त्यसका लागि सहयोग गर्नु पर्ने बताए । होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले कोभिड-१९ को महामारीका समयमा महासंघ अन्तर्गतका होटलहरूले राज्यलाई अग्रपंक्तिमा रहेर सहयोग गरेको बताउँदै होटलहरूको क्षमता अभिवृद्धिका लागि राज्यको थप लगानीको आवश्यक रहेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुकेले यस प्रकारका तालिमलाई देशव्यापी बनाउन आवश्यक रहेको र बोर्डले सहयोग गरेमा आफूहरूले यसलाई सातै प्रदेशमा लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment