+
+

कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री

'नेपालको अवस्था आतंकित हुनुपर्ने छैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते २०:१०

२३ चैत, काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ । तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।

आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ’ उनले भने ।

यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।

माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ । सोमबार देशभरमा २६६ नयाँ संक्रमित भेटिएका छन् । भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए ।

पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै उनले अगाडि भने, ‘अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने छैन ।’

उनका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य छ । खोप ल्याउन रकम अभाव नहुने भन्दै उनले भने, ‘खोपका लागि ४८ अर्ब बजेट सुरक्षित छ । त्यति पनि खर्च नहोला ।’

मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?