
२४ चैत, काठमाडौं । एक वर्ष लामो पूर्ण बन्देज हटेसँगै केराउ, मरिच, छोकडा र सुपारी आयात गर्न व्यापारीहरुले वाणिज्य विभागमा निवेदन दिन थालेका छन् । आयात कोटा निर्धारण भएको दुई सातामै ती वस्तुहरुको आयात गर्न १९ गुणा परिमाण बराबरको निवेदन परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उक्त वस्तुको प्रतिबन्धमा परिमाण कोटा तोकेको थियो ।
सोमबारसम्म सुपारीमा १९, केराउमा १८, नधुल्याइएको मरिचमा ११, छोकडामा १२ गुणा बढीसम्म आवेदन परेको विभागले जनाएको छ । चार लाख ७८ हजार ८४६ मेट्रिकटन सुपारीमा आयात गर्न दुई सय ५० निवेदकले आवेदन दिएका छन् । जो तोकिएको परिमाण भन्दा १९ गुणाले बढी हो । यस्तै एक लाख ७९ हजार ३३ मेट्रिकटन केराउ आयात गर्न तीन सय चार वटा निवेदन परेको छ । एक लाख ६६ हजार ३०३ मेट्रिकटन नधुल्याइएको मरिचमा आयात गर्न २०६ वटा निवेदन परेको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए ।
यस्तै ६० हजार ८०४ मेट्रिकटन छोकडा आयात गर्न १२४ वटा निवेदन परेको छ । लामो समयपछि प्रतिबन्ध हटेका कारण उक्त वस्तुको आयातमा व्यवसायीको माग धेरै आएको विभागका प्रवक्ता शिवराज सेढाईँले बताए ।
प्रतिक्रिया 4