Comments Add Comment

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

२५ चैत, काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । कैलाली, भोजपुर, धादिङ र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको हो ।

कैलालीको टिकापुर नगरपालिका–१ सन्त निरंकारी चोकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया पद्मा साउद छिन् । हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउदको टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

भोजपुरको हतुवागडी गाउँपालिका–२ लुङ्गिनमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । को २ त ९४७९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक रामप्रसादराई गाउँपालिका–७ बासिखोराका २० वर्षीय नबिन राईको घटनास्थलमै मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, धादिङको खनियाबाँस गाउँपालिका–२ डुन्डुरेमा बोलेरो जीप आफैं अन्यिन्त्रित भई सडकबाट खस्दा एक किशोरको मृत्यु भएको छ । ग १ ज ६२७० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार रुबिभ्याली गाउँपालिका–५ लापाका १४ वर्षीय अनिल तामाङको घटनास्थलमै मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, वीरगञ्ज महानगरपालिका–३१ न्यका टोलमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ना ५ त ६८९४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने शेख सफिकको ७ वर्षीय छोरा शेख साहिदको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment