Comments Add Comment

कतारमा कोरोनाको असर : ५० प्रतिशत कामदारलाई मात्रै काममा लगाउन पाइने

फाइल तस्वीर

२६ चैत, कतार । कतारमा कोरोना भाइरस संक्रमण रोक्नका लागि सरकारी तथा निजी क्षेत्रका ५० प्रतिशत कामदारलाई मात्रै काममा लगाउन पाइने भएको छ । कतार सरकारले शुक्रबारदेखि कामको चाप अनुसार ५० प्रतिशतलाई घरबाटै काममा लगाउन पर्ने निर्णय गरेको हो । कतारमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसँगै यहाँको सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

कतार सरकारले सरकारी र निजी क्षेत्रका कर्मचारी तथा कामदारहरू ५ जना भन्दा बढी बैठकहरूमा भाग लिन नपाउने, कतारमा रहेका सबै नागरिकहरूले कुनै पनि कारणले घर छोड्दा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय कतार सरकारले गरेको हो ।

पार्क, समुन्द्री किनारा, कर्नेश लगायतका स्थानमा परिवार भए बढीमा २ जना भन्दा बढी भेला हुन नपाउने, चालक समेत गरेर परिवार भए निजी सवारीमा ४ जना भन्दा बढीले यात्रा गर्न नपाउने, बस तथा भ्यानको आधा क्षमता अनुसार मात्र कामदार बोक्न पाउने भएपनि सबैले सावधानीका उपायहरुको अनिवार्य प्रयोग गर्नैपर्ने र मेट्रो तथा कर्वा बस बढीमा २० प्रतिशत यात्रु क्षमताले मात्र चल्न पाउने कतार सरकारले निर्णय गरेको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

त्यस्तै कतार सरकारको अर्को सूचना नआएसम्म कतारका सबै ड्राइभिङ स्कुलहरू बन्द रहने, सिनेमाघर र थिएटरहरूको बन्द हुने, निजी शैक्षिक केन्द्रहरू र प्रशिक्षण केन्द्रहरूले अनलाइन सेवाहरू मात्र दिन पाउने जनाएको छ ।

त्यस्तै रेस्टुरेन्ट र क्याफेहरू बन्द रहने, टेक अवे र डेलिभरी सेवा भने चलाउन पाउने, होलसेल मार्केट सपिङ मल ३० प्रतिशतले खोल्न पाउने, १२ वर्षका बालबालिकालाई भने प्रवेश गर्न नपाइने उल्लेख छ ।

त्यस्तै अर्को सूचना नआएसम्म बन्द र खुला ठाउँहरूमा विवाहहरू गर्न नपाइने, जिमहरू र शारीरिक प्रशिक्षण क्लबहरू, सैलुन ब्युटिपार्लरहरु, स्विमिङ पुल, मनोरञ्जन पार्क र सबै मनोरञ्जन केन्द्रहरू पनि बन्द गर्ने कतार सरकारले निर्णय गरेको छ ।

निजी स्वास्थ्य सेवा केन्द्रहरुले आपतकालीन सेवा मात्र दिन पाउने, सफाइ र आतिथ्य कम्पनीहरूले प्रदान गरेको सेवाहरूको सञ्चालन क्षमता घटाउन पर्ने तथा मागको ३० प्रतिशत मात्रले काम गर्न पाउने, एकदिनमा एक व्यक्तिद्वारा मात्र एक घरमा सेवा गर्न सक्ने कतारबाट प्रकाशित हुने क्यूएन खबरले जनाएको छ ।

त्यस्तै कतार सरकारले कतारमा पीसीआर परीक्षणको शुल्क निर्धारण गरेको छ । अप्रिल ८ देखि लागू हुनेगरी कतारको स्वास्थ्य मन्त्रालयले ४४ वटा निजी अस्पतालमा कोभिड–१९ भाइरसको स्वाब परीक्षणको शुल्क कतारी तीन सय रियाल निर्धारण गरेको हो । सरकारी क्षेत्रमा पीसीआर गर्नेहरुको भिड बढेपछि निजी अस्पतालहरुलाई शुल्क तोकेर पीसीआर गर्न दिइएको हो । लेवर भिसामा आएका श्रमिकहरुले सरकारी अस्पतालमा पिसिआर गर्न पाउने उल्लेख छ ।

त्यस्तै कतारमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरुले होटल क्वारेन्टिइन बस्नु नपर्ने भएको छ । कतारमै दुवै डोज पूरा गरेर विदामा गएकाहरु फर्कँदा होटल क्वारेन्टिन बस्न नपर्ने भएको हो ।

त्यस्तै कतारमा कोरोना बिरुद्धको खोप लगाउन हेल्थ कार्ड नचाहिने भएको छ । यसअघि हेल्थ कार्ड अनिवार्य गरिएपनि हाल खोप लगाउन कै लागि हेल्थ कार्ड नचाहिने उल्लेख छ । हालका लागि खोप लगाउनका लागि म्याद भएको कतारी आइडी र एहथेराज भने हरियो रङ्गको हुनुपर्ने उल्लेख छ । कतारी नागरिक सहित आप्रवासी कामदारहरुलाई कतारले प्राथमिकताको आधारमा फाइजर बायोटिक र मोडना खोप निःशुल्क उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप कार्यक्रम सुरु भएदेखि हालसम्म करिव १० लाख डोज खोप उपलब्ध गइएको छ ।

कतार सरकारले कोरोना भाइरसबाट बच्नका लागि सबैलाई सावधानीका उपायहरु अपनाउन र अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनेको छ । सामाजिक दुरी कायम राख्न र कतार सरकारले जारी गरेको मोबाइल एप एहथेराज पनि कतारमा बस्ने सबैले अनिवार्य प्रयोग गर्न भनिएको छ ।
कोरोनाका कारण कतार संगै बिभिन्न राष्ट्रहरुमा कार्यरत हजारौं श्रमिक नेपालीहरु प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् भने हजारौं श्रमिकहरुले रोजगारी गुमाएका छन् । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

बुधबार एकैदिन ८ जनाको मृत्यु

कतारमा कोरोना भाइरस संक्रमणका कारण बुधबार एकैदिन ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९, ४४, ४५, ५२, ५३, ७३, ८२ र ८६ बर्षीय नागरिक रहेको गल्फ टाइम्सले जनाएको छ । कोरोना संक्रमणबाट कतारमा हालसम्म ३ सय २० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु भएका नागरिकहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन ।

कतारमा बुधबार मात्रै ९२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार २०१ पुगेको छ भने १ लाख ६७ हजार ४८० जना निको भएका छन् । कतारमा अहिलेसम्म १७ लाख ८० हजार ८७७ जनाको स्वास्थ्य परीक्षण भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment