Comments Add Comment

संसदीय समितिमा एमाले नाममै प्रतिनिधित्व गराउन माग

२६ चैत, काठमाडौं । नेकपा एमालेले संसदीय समितिहरुमा दलीय आधारमा सांसदहरुको प्रतिनिधित्व हेरफेर गर्न माग गरेको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसदीय समितिमा पनि यी दलको अलग अलग प्रतिनिधित्व गराउन माग गरेको हो ।

बिहीबार प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोल्दै एमाले सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा एमाले र माओवादी केन्द्रको अलग अलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा अहिले पनि एमाले सांसदहरु नेकपाकै प्रतिनिधित्व गर्न बाध्य भएको बताए ।

यस्तो परिस्थिति निर्माण हुँदा संसदको क्रियाशीलतामा नै प्रभाव पार्ने भन्दै अधिकारीले यस्तो संविधान र कानून विपरीत काम अन्त्य गर्न माग गरे । ‘हामी संविधान विपरीत रुपले समितिहरुमा नेकपा हुन सक्दैनौं । असंवैधानिक काम गर्न पनि हुँदैन, यस्तो काम गर्न उक्साउन पनि हुँदैन’ उनले भने ।

आफ्ना सांसदहरुले संसदीय समितिमा नेकपा एमाले भएरै प्रतिनिधित्व गर्न चाहेको भन्दै उनले सत्ता पक्षलाई बाध्य पारेर नेकपा हुनैपर्छ भन्न नमिल्ने बताए ।

संसदीय समितिमा आफ्नो संसदीय दलका प्रमुख सचेतकले दिएको नामावली अनुसार आफ्ना सांसदहरुको प्रतिनिधित्व गराउन पनि उनले माग गरे ।

जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले दलगत आधारमा विषयगत समितिमा सांसदहरुको हेरफेरबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको बताए । उनले कार्यव्यवस्था परामर्श समितिबाट नाम प्राप्त भएपछि नाम हेरफेर हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment