Comments Add Comment

प्रधानमन्त्रीलाई सांसद पौडेलको प्रश्न : यस्तो गरेर राजनीति संग्लिन्छ ?

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीले फेरि प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘आफ्नै घर सम्हाल्न नसक्ने, जनताको बीचमा दुई तिहाइ प्राप्त गरेको दललाई व्यवस्थापन गर्न गर्न नसक्ने, जनताले लडेर लिएर आएको संविधान र प्रतिनिधिसभाको संरक्षण गर्न नसकेर विघटन गर्ने, दलहरुलाई बोलाएर फेरि विघटनको प्रस्ताव गर्ने यस्तो प्रकारको तरिकाले देशको राजनीति संग्लिन्छ ? म प्रश्न गर्न चाहन्छु’ नेता पौडेलले बिहीबार प्रतिनिधिसभाको विशेष समयमा भने ।

केही समय अघि राष्ट्रिपति विद्या देवी भण्डारीले सितल निवासमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने प्रस्ताव गरेका थिए । त्यसतर्फ इंगित गर्दै नेता पौडेलले प्रधानमन्त्रीमाथि आशंका व्यक्त गरेका हुन्। नेता पौडेलले प्रधानमन्त्रीलाई संसदलाई प्रभावकारी भूमिका खेल्न समेत आग्रह गरे।

‘यो संसदलाई सक्रिय बनाउनुस् । सांसदहरुको समस्या हो भने, राजनीतिक दलहरुको समस्या हो भने राजनीतिक दलहरुसँग छलफल गरेर यो सदनलाई जनताको प्रतिनिधिको हैसियतमा जनताका समस्याहरु, राष्ट्रका समस्याहरु अभिव्यक्ति हुने थलोको रुपमा सक्रिय बनाउन म अनुरोध गर्न चाहन्छु’ उनले भने ।

तर, एक पटक ब्युँतिएको प्रतिनिधिसभालाई फेरि विघटन गर्नको निम्ति सरकारले बिजनेस नदिएको उनले बताए । ‘सरकारले हिजो गरेका निर्णयहरुलाई वर्तमानमा पुष्टी गर्नको निम्ति संसदको आवश्यकता छैन भनेर निश्क्रिय पार्ने काम कतै बाट नहोस्’ पौडेलले भने ।

अहिलेको राजनीतिबाट युवाहरुमा वितृष्णा फैलिएको पनि उनले बताए । यसको जिम्मेवारी पनि सरकारले लिनुपर्ने उनले बताए । ‘देशको राजनीति भुत्ते बनेको छ। राजनीतिप्रति युवाहरुको आकर्षण घटेर गएको छ । जो जससँग जसको निम्ति पनि सत्ता स्वार्थको निम्ति मिल्ने गम्भीर प्रकारका अराजनीतिक संस्कार र संस्कृति बढेर गएका छन् । यसको जिम्मा कस्ले लिने ? सरकारले यसको जिम्मा लिनुपर्छ की पर्दैन ?’ पौडेलले भने ।

विभिन्न पार्टीका नेताहरुको भनाइलाई सम्मानजनक रुपमा ग्रहण गर्दै विकास र समृद्धिको बाटोमा सबैलाई लिएर जाने संकार र संकृतिको आवश्यक रहेको भन्दै  उनले भने, ‘यसको सम्बोधन प्रधानमन्त्रीले गर्नुपर्छ की पर्दैन ? म उहाँलाई अनुरोध गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment