Comments Add Comment

कर्णालीमा प्रचण्डको निर्देशन : लाखौं महिला सडकमा उतार्ने मोर्चा बनाउनुस्

२६ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौ महिला एकैपटक सडकमा उत्रने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेलामा उनले महिलाको शक्तिशाली संगठन बनाउनुपर्ने बताए ।

‘कर्णालीका प्रत्येक वडा–टोल सबैतिर संगठनको सञ्जाल निर्माण गर्नुस् र जरुरी पर्दा एकैचोटी लाखौ महिलाहरु सडकमा निक्लिन सक्ने गरी मोर्चा बनाउनुस्,’ उनले भने ।

प्रचण्डले अघि भने, ‘महिलामाथि हुने सबैखाले हिंसा, ज्यादती, असमानता र महिलालाई हेप्ने प्रवृत्तिका विरुद्ध सामूहिक रुपमा एउटा आन्दोलन छेड्नुस् ।’

महिलाहरुले अब वर्ग संघर्ष, उत्पादन र संगठन निर्माणको अभियानलाई एकसाथ उठाउनु पर्ने उनको भनाइ छ । प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका महिला नेता कार्यकर्तालाई भूमिका दिने पनि प्रतिवद्धता जनाए ।

अबको केन्द्रीय समिति बैठकमा महिलालाई नेतृत्व दिने विषयमा छलफल हुने पनि उनको भनाइ छ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको भन्दै परिवर्तनकामीहरु एक हुनुपर्ने बताए । ‘बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन, अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने भनेर म कर्णाली आएको हुँ’, प्रचण्डले भने ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै भएकाले प्रतिक्रियावादीलाई परास्त गर्न महिलाहरु अघि बढ्नुपर्ने उनले बताए ।

‘अब महिलाहरुको विशाल समूह खडा गरौं र क्रान्ति सम्पन्न गर्ने मात्रै होइन, प्रतिक्रान्ति रोक्न सक्ने गरी परिचालित गरौं’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment