Comments Add Comment

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा ११ जना मारिए

Photo Credit : एपी/रासस

२६ चैत, काठमाडौं । म्यानमारमा सैन्य कू विरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा ११ प्रदर्शनकारीको मृत्यु भएको छ । म्‍यानमारको उत्तरपश्चिमी सहर ताजेमा बिहीबार भएको प्रदर्शनमा निस्किएका प्रदर्शनकारीले पनि सुरक्षाकर्मीमाथि हाते बन्दुक र पेट्रोल बमले प्रहार गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीले पनि प्रतिकार गर्न थालेपछि थप पाँच ट्रक सुरक्षाकर्मी परिचालन गरिएको थियो । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर थप २० प्रदर्शनकारी घाइते भएका छन् भने सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे केही बताइएको छैन ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हटाउँदै सत्ता कब्जा गरेको थियो । त्यसयता म्यानमारमा निरन्तर सैन्य कूको विरोधमा प्रदर्शन भइरहेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा अहिलेसम्म ६ सयभन्दा बढी प्रदर्शनकारी मारिइसकेका छन् ।

यसअघि बुधबार पनि म्यानमारमा १२ प्रदर्शनकारी मारिएका थिए । एएपीपीकाअनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली, ग्रिनेड र मेसिनगनको प्रयोग गरिरहेका छन् ।

म्यानमारको प्रदर्शनमा सहभागीहरुले अब नागरिकले आफ्नो सुरक्षा आफैंले गर्ने प्रयास गर्न थालेको बताएका छन् । एएपीपीका अनुसार अहिलेसम्म दुई हजार ८४७ जना प्रदर्शनकारी पक्राउ परिसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment