Comments Add Comment

चक्रपथको विस्तारित खण्डमा छुट्टै साइकल लेनको तयारी

फाइल तस्वीर

२७ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथको विस्तारित खण्डमा छुट्टै साइकल लेन बनाउने भएको छ । कोटेश्वरदेखि बल्खुसम्मको ७.७ किलोमिटर चक्रपथमा छुट्याइने साइकल लेनको डिजाइन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

चक्रपथमा साइकल लेनको डिजाइन तयार गरिरहेको नेपाल साइकल सोसाइटीमा महासचिव राकेश महर्जन करिब एक हप्ताभित्र महानगरपालिकामा डिजाइन पेस हुने बताउँछन् । महानगरपालिकाले डिजाइन स्वीकृत गरेपछि चक्रपथमा पनि साइकल लेन छुट्याउन महानगरपालिकाले समन्वय र प्रक्रिया थाल्ने उनले बताए ।

योजनाअनुसार चक्रपथको दुवैतर्फको सर्भिस लेनमा लेनको रेखाङ्कन गरिनेछ । ललितपुर महानगरपालिकाले हरियो रंग पोतेर ठाउँ–ठाउँमा साइकलको चित्र राखेर लेन बनाउँदै आएको छ ।

कुपण्डोल, जाउलाखेल, लगनखेल, पुल्चोक मंगलबजारमा पहिलो चरणमा र सानेपासहित चक्रपथ जोड्ने सडकमा दोस्रो चरणमा महानगरपालिकाले साइकल लेन छुट्याएको छ । सडकका दुई भागमा साइकलका लागि बनाएपछि पछिल्लो समयमा साइकल प्रयोगकर्ता बढेको साइकल सोसाइटीका महासचिव महर्जनले बताए ।

अब साइकल लेनमा साइकल चलाउँदा अरु सवारीले दिने हैरानी कम गर्न सचेतना अभियान नै चलाउने योजनामा साइकल सोसाइटी छ । साइकल लेनमा सवारी पार्किङ गर्ने र साइकल देख्दा देख्दा साइकल लेनमा आएर ‘ओभरटेक’ गर्ने अन्य सवारीको शैली बदल्न यस्तो अभियान चलाउने योजना बनाइएको महासचिव महर्जनले बताए ।

‘नगर प्रहरीको सहयोग लिएर भएपनि साइकल लेनमा साइकल सुरक्षित र बिना झन्झट चल्न पाउने वातावरण तयार गर्न महानगरपालिका पनि प्रतिवद्ध छ,’ उनले भने,‘हामी पनि त्यसमा हातेमालो गरिरहेका छौं ।’

ललितपुर महानगरले साइकलमैत्री शहर बनाउने भन्दै सडकमा साइकल लेनको रेखाङ्कन गरेपछि सडक विभागले असन्तुष्टि जनाउँदै आएको छ । सडकमा साइकल लेन राख्दा दुर्घटना बढ्ने तर्क विभागले गर्दै आएको छ । अहिलेको भन्दा थप व्यवस्थित गरेर लेन बनाउनुपर्ने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा बताउँछन् ।

‘बनाउन नदिने पक्षमा हैनौं, सडकलाई थप व्यवस्थित गरेर साइकल लेन बनाउनुपर्छ,’ महानिर्देशक थापाले भने,‘वैज्ञानिक र व्यवस्थित गरौं भन्ने हाम्रो कुरा हो ।’

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन चक्रपथमा साइकल लेन बनाएर सडक विभागलाई जानकारी दिइने बताउँछन् । साइकल लेन बनाउँदा शहरमा साइकलको प्रयोग बढ्ने र त्यसले शहरको वातावरण र शहरबासीको स्वास्थ्य पनि सुध्रने भएकाले आफूहरु अभियान जारी राख्ने पक्षमा रहेको उनले बताए ।

साइकल लेन बनाउन महानगरपालिकाले साइकल पूर्वाधार विकासको छुट्टै ‘टास्कफोर्स’ नै गठन गरेको छ । महानगरपालिकाले साइकल लेन बनाउन ७० लाखभन्दा बढी खर्च गरिसकेको छ ।

यो पनि पढ्नुहोस मेयरको घोषणामा साइकल सिटी, भएको साइकल लेन पनि अलपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment