Comments Add Comment

वायु प्रदूषण कोरोना महामारीभन्दा घातक

सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट महामारीका रूपमा शुरू भएको भनिएको कोरोनाभाइरसले आज पनि विश्वलाई उत्तिकै आक्रान्त बनाएको छ । कोरोनाका कारण १५ महीनाको अवधिमा २९ लाखभन्दा बढीले ज्यान गुमाएका छन् । महामारीको विपत्ति अझै कायमै छ ।

हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ कि कोरोना भन्दा हानिकारक र विश्वलाई प्रभावित गरिरहेको अर्को ‘महामारी’ वायु प्रदूषण पनि हो । यो सुन्दा अपत्यारिलो लाग्न सक्छ तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को रेकर्ड अनुसार अहिले कोरोनाले भन्दा झण्डै तीन गुणा अर्थात् वार्षिक ८५ लाखभन्दा बढी मान्छे वायु प्रदूषणकै कारण ज्यान गुमाइरहेका छन् ।

के हो वायु प्रदूषण ?

विश्व स्वास्थ्य संगठनका अनुसार हावामा एक वा एकभन्दा बढी पदार्थ मिसिनु (धुवाँ, ग्याँस, धुलो, कुहिरो, बाफ, अप्रिय गन्ध निश्चित वा अधिक मात्रामा पाइनु) जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ त्यो नै वायु प्रदूषण हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को रेकर्ड अनुसार अहिले कोरोनाले भन्दा झण्डै तीन गुणा अर्थात् वार्षिक ८५ लाखभन्दा बढी मान्छे वायु प्रदूषणकै कारण ज्यान गुमाइरहेका छन् ।

हामीले सास फेर्ने हावा सफा र शुद्ध हुनुपर्छ तर औद्योगीकरण, बढ्दो जनसंख्या वृद्धि, बसाइँसराइ, विकास सबैको पहुँचमा पुर्‍याउन नसक्नु, शहरीकरणले गर्दा वन मासिनु, वनको दोहन हुनु, डढेलो लाग्नु, ढलको उचित व्यवस्थापन नहुनुले गर्दा वायु प्रदूषण हुने गर्दछ ।

त्यसैगरी कार्वन उत्सर्जन गर्नु, जीवाश्ममा आधारित इन्धनको प्रयोग बढी हुनु, पुराना र थोत्रा गाडीको प्रयोग गर्नु, सीमित क्षेत्रमा स्रोतसाधनको उपलब्धता हुनु, गाडीको उचित सर्भिसिङ नगर्नु, उद्योग गुणस्तरीय नहुनु, उद्योगबाट निस्किने हानिकारक पदार्थ, आणविक भट्टी, इँटा भट्टा, ज्वालामुखी विस्फोट भई निस्कने ग्याँस, हतियारको परीक्षण, विस्फोटक पदार्थको प्रयोग, हरित गृह ग्याँस वायु प्रदूषण गराउने कारक तत्व हुन् ।

कति खतरनाक ?

वायु प्रदूषणले आँखा-नाक पोल्ने, शरीरको प्रतिरक्षा प्रणालीमा असर गर्ने गर्छ । यसले श्वास–प्रश्वाससम्बन्धी रोग लाग्ने, फोक्सोमा असर गर्ने, फोक्सो सम्बन्धी क्यान्सर बनाउने, मुटु–स्नायु प्रणालीमा असर गर्छ । वायु प्रदूषणले हृदयघात हुने, बालबच्चा र गर्भवती महिलालाई अझ बढी असर गर्ने, बच्चाको तौल घट्ने, मानसिक विकासमा अवरोध पुग्ने, मस्तिष्कघात, अल्जाइमर्स गराउने जस्ता घातक परिणाम देखा पर्छन् । वायु प्रदूषणले उमेर समेत घटाउने काम गर्छ ।

एक अध्ययनका अनुसार सन् २०३५ सम्म अहिलेकै स्थितिमा प्रदूषण बढ्ने हो भने वार्षिक झण्डै तीन करोड पाँच लाख मानिसको ज्यान वायु प्रदूषणकै कारण जाने चेतावनी दिइएको छ । त्यसैले यसलाई नजरअन्दाज गर्नु प्रत्युत्पादक हुने पक्का छ ।

विश्वका ९० प्रतिशत मानिस डब्लूएचओको मापदण्ड भन्दा बढी प्रदूषित वातावरणमा बस्ने गरेको पाइएको छ । सन् २०१७ को विश्वको कुल मृतकको आधारमा १० मध्ये १ व्यक्ति वायु प्रदूषणकै कारणले मरेको पाइएको छ ।

नेपालको स्थिति के छ ?

नेपाल भौगोलिक रूपमा वनजंगलले ढाकिएको सुन्दर मुलुक भए पनि विगत केही वर्षयता नेपालको वायु प्रदूषणले आम जनतालाई प्रताडित बनाइरहेको छ ।
राजधानी काठमाडौं विश्व सम्पदास्थलको पर्याप्तता भएको हुँदा कलात्मक शहरका रूपमा विश्वमा घुम्नैपर्ने शहरको सूचीमा फोब्र्सले समाविष्ट गरेको छ । अर्कोतिर विगत चार वर्षदेखि विश्वकै प्रदूषित शहरका रूपमा सूचीकृत छ ।

सन् २०१८ मा विश्व आर्थिक मञ्चसँगको सहकार्यमा विश्वका १८० देशमा भएको अध्ययनपछि प्रकाशित ‘इन्भायरोमेन्ट पर्फमेन्स इन्डेक्स’को प्रतिवेदनमा वातावरण प्रदूषण धेरै हुने देशको सूचीमा नेपाल १७६औं स्थानमा थियो । अर्थात् नेपालको प्रदूषणको स्तर उच्च रहेको प्रतिवेदनले देखाएको छ । २०२० मा भने १७८ औं स्थानमा छ ।

अन्तर्रास्ट्रियस्तरमा भएका प्रयास

अमेरिकाको येल विश्वविद्यालयले वर्षेनि तयार पार्ने ‘इन्भायरोमेन्ट पर्फमेन्स इन्डेक्स’मा वायु प्रदूषणलगायत ३२ वातावरणीय सूचकांक समेटिएका हुन्छन् । त्यसको आधारमा २०२० मा विश्वका १० सफा मुलुकमध्ये क्रमशः डेनमार्क, लक्जेमवर्ग, स्विट्जरल्यान्ड, बेलायत, फ्रान्स, अस्ट्रिया, फिनल्यान्ड, स्वीडेन, नर्वे र जर्मनी छन्।

एक अध्ययनका अनुसार सन् २०३५ सम्म अहिलेकै स्थितिमा प्रदूषण बढ्ने हो भने वार्षिक झण्डै तीन करोड पाँच लाख मानिसको ज्यान वायु प्रदूषणकै कारण जाने चेतावनी दिइएको छ ।

यसमा सम्बन्धित देशको वायु शुद्धताको मापन, पानी, सरसफाइ, भौगोलिक विविधता, दिगो विकास र सम्बन्धित देशले वातावरण सफा बनाइराख्न गरेका पहलले प्राथमिकता पाउँछ । यो सूचीमा पर्ने राष्ट्रहरूले वातावरणमैत्री होटल, सोलार इनर्जीको प्रयोग, अर्गानिक खाद्य पदार्थको प्रयोग र हरित गृह ग्याँसको प्रयोग घटाउन भूमिका खेलेकाले प्राथमिकता पाएका छन् ।

वायु प्रदूषण घटाउन वनले धेरै योगदान गर्छ । मार्च २८ मा साउदीका राजकुमार मोहम्मद बिन सल्मानले ‘साउदी ग्रिन इनिसिएटिभ’ कार्यक्रमअन्तर्गत सन् २०३० सम्म देशभर १० अर्ब रूख रोप्ने कार्यक्रम घोषणा गरेका छन् । यो कार्यक्रम साउदीको ‘भिजन २०३०’ अन्तर्गत नै रहने गरी घोषणा गरिएको छ ।

त्यसैगरी कतारले पनि विश्वकप अघि झन्डै १६ हजार रूख रोपिसक्ने जनाएको छ । त्यसैगरी भूटानले जलवायु परिवर्तनको असरबाट आफ्नो हिमाल र सुन्दरता जोगाइराख्न, प्राकृतिक स्रोत र साधनको संरक्षण गर्न र इकोसिस्टम जोगाउन संविधानमै कुल भूभागको न्यूनतम ६० प्रतिशत भूभाग वनले ढाकिएको हुनैपर्ने भनी लिपिबद्ध गरेको छ ।

चीनले पनि आफ्नो मरुभूमि क्षेत्रलाई क्रमशः हराभरा बनाउन काम गरिराखेको छ । चीनले २०५० सम्म झण्डै एक खर्ब रूख रोप्ने योजनाका साथ अघि बढेको छ । विगत १० वर्षमा मात्र १३ मिलियन हेक्टर भू–भाग वनले ढाकिएको बनाएको जनाइसकेको छ ।

समाधानको उपाय

वायु प्रदूषणले काठमाडौंलाई विश्वकै प्रदूषित शहर मात्र बनाएको छैन यसले गर्दा तङ्ग्रिन लागेको देशको पर्यटन व्यवसायमा नराम्रोसँग धक्का दिएको छ । प्रदूषणका कारण देशको इमेज नै विश्वमा नराम्रो हुन पुगेको छ ।

यस्तो हानिकारक वातावरणको ज्ञात हुँदाहुँदै पर्यटक पनि जोखिम मोलेर आउन सक्दैनन् । त्यसकारण; यसबाट पाठ सिकेर सम्बन्धित निकाय, सरकार र नागरिकको पनि ध्यानाकर्षण हुन जरूरी छ ।

वायु प्रदूषणको दीर्घकालीन समाधान भनेको देशले वनको भू–भागलाई घट्न नदिएर यसको संरक्षण गर्न स्थानीय तह र प्रदेशलाई आग्रह गर्नुपर्छ । त्यसका लागि केन्द्र सरकारको जिम्मेवारी भनेको स्रोतसाधनको कमी हुन नदिनु हो । प्रदूषण नियन्त्रण करमार्फत आर्थिक वर्ष २०७६÷७७ मा रु.२ अर्ब ९६ करोड २० लाख उठेको आँकडा छ ।

२०६५÷६६ देखि हालसम्मको कुल रकम रु.११ अर्ब ५३ करोड ५६ लाख जम्मा भएको पत्रपत्रिकामा आइसकेको छ । तर सरकार भने गम्भीर देखिंदैन किनकि यत्ति नै रकम प्रदूषण नियन्त्रणको नाममा भने अर्थ मन्त्रालयले दिने गरेको पाइँदैन । केही रकम दिइए पनि त्यो प्रभावकारी रूपमा सदुपयोग भएको पाइँदैन ।

हावामा पीएम २.५ को मात्रा १५१ भन्दा बढी भएमा अस्वस्थकर र १०१–१५० भएमा वृद्ध, बच्चा र बिरामी जस्ता संवेदनशील समूहका मानिसका लागि हानिकारक मानिन्छ । २०० देखि ३०० धेरै अस्वस्थकर र ३०० भन्दा माथि पुगे घातक हुन्छ ।

सन् १९९० पछि शुरू भएको सामुदायिक वन विकास कार्यक्रम अन्तर्गत संरक्षित वनको प्रतिफल आज देशको झण्डै ४३ प्रतिशत भन्दा बढी भू-भाग वनले ढाकिएको छ । तर यो जोगाइराख्न पहल भएको देखिंदैन । जसका कारण २०२० को मार्च ३० सम्म ४० जिल्लाका १८८ ठाउँका डढेलो लागेको थियो । हाल त्यसको १४ गुणासम्म बढी डढेलो लागेको छ । पछिल्लो रेकर्ड अनुसार २ हजार ७१३ स्थानमा डढेलो लागेको बीबीसीले उल्लेख गरेको छ ।

सर्वप्रथम त डढेलो लाग्नै नदिने गरी काम गर्नुपर्‍यो । त्यसपछि डढेलो लागिहालेमा के गर्ने ? भन्ने डढेलो नियन्त्रण रणनीति बनाउन जरूरी छ । हाल वायु प्रदूषण बढी हुनुमा डढेलो मुख्य कारकतत्व पाइएको छ । त्यसैले सरकारले तत्काल डढेलो निभाउन प्रयोग गर्ने हेलिकोप्टर आवश्यक मात्रामा किन्नुपर्ने देखिन्छ ।

त्यसबाहेक धुवाँ, धुलो, पुराना सवारी साधनको व्यवस्थापनदेखि वायु प्रदूषण हुनसक्ने सम्भावनाहरूको रोकथाममा लाग्नुपर्छ । हामीमा नपरेसम्म चेत नआउने बानी छ । अब विद्युतीय गाडीमा लगाइएको कर छुट गरेर भए पनि इन्धनभन्दा विद्युतीय सवारीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।

तत्काल चालिनुपर्ने कदम

संविधानको भाग ३ को धारा ३० मा स्वच्छ वातावरणको हक भनेर उल्लेख छ । जसमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनि लेखिएको छ । वातावरण प्रदूषण र ह्रासबाट हुने क्षतिबाट पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक छ भन्ने पनि उल्लेख छ ।

तत्काल सरकारले गर्न सक्ने काम भनेको वायुको अवस्था पहिचान गरेर क्लाउड सिडिङमार्फत पानी पार्ने प्रणालीबारे जानकारी लिने, तत्काल अन्य क्षेत्रबाट फ्रिज भएको बजेट कटौती गरेर आवश्यक मात्रामा डढेलो निभाउनलाई हेलिकोप्टर किन्ने प्रबन्ध गर्ने, अनलाइनको पहुँचमा हुने विद्यार्थी यकिन गरी उपत्यकामा केही दिनलाई भए पनि अनलाइन कक्षा सञ्चालन गर्ने, अनलाइनबाट हुनसक्ने काम घरै बसेर गर्ने, वातावरण सफाइलाई महत्त्व दिने, प्रदूषण जाँच गर्ने उपकरण थप्ने, प्रदूषित वायु चिन्ने, मुख्य बाटो सकभर निजी साधन भएकोले प्रयोग नगर्ने, पुराना गाडीको प्रयोगमा रोक लगाउने, जोर–बिजोर प्रणाली लागू गर्ने, आवश्यकता हेरी हप्तामा दुई दिन बिदा गर्ने, सवारी साधनमा एयर फिल्टर प्रविधिको जडान गर्न सरकारले यातायात व्यवसायीलाई अपिल गर्ने गर्न सकिन्छ ।

निष्कर्ष
विश्वभर पीएम २.५ भनिने मसिना धूलोका कणलाई वायु प्रदूषणको प्रमुख कारकतत्व मानिन्छ । हावामा पीएम २.५ को मात्रा १५१ भन्दा बढी भएमा अस्वस्थकर र १०१–१५० भएमा वृद्ध, बच्चा र बिरामी जस्ता संवेदनशील समूहका मानिसका लागि हानिकारक मानिन्छ । २०० देखि ३०० धेरै अस्वस्थकर र ३०० भन्दा माथि पुगे घातक हुन्छ ।

नेपालको काठमाडौं घातक अवस्थामा छ भने भरतपुर, धनगढी, हेटौंडा जस्ता तराईका जिल्ला धेरै खतरनाक स्थितिमा छन् । काठमाडौं अझै पनि विश्वको प्रदूषित शहरमा छ । त्यसैले अहिले सकभर काम नपरेसम्म बाहिर ननिस्कने, निस्कनै पर्ने भएमा मास्क र चस्मा लगाउने, झ्यालढोका सीमित मात्रामा खोल्ने, खुल्ला ठाउँमा दाउरा र प्लास्टिकजन्य फोहोर नबाल्ने गर्नु बाहेक अरू विकल्प छैन ।

(लेखक नेशनल ल कलेज सानेपामा बीए/एलएलबी दोस्रो सेमेस्टरमा अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment