Comments Add Comment

चोटका कारण सुजलले नेपाल सुपर लिग नखेल्ने

२७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य सुजल श्रेष्ठले वैशाखमा हुने नेपाल सुपर लिग (एनएसएस) गुमाउने भएका छन् । वैशाख ११ देखि २५ गतेसम्म हुने एनएसएलका लागि सुजल पोखरा थण्ड्समा अनुबन्ध भएका थिए ।

तर थ्री नेसन्स कप खेल्दा पुरानै चोट बल्झिएपछि नेपालमै पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल सुजलले गुमाउनेछन् । राष्ट्रिय टिमबाट पछिल्लो पटक खेल्दा चोट बल्झिएपछि एनएसएल खेल्ने उनको सपना तत्कालका लागि रोकिएको छ ।

‘थ्री नेसन्स कपको पहिलो खेलमै पुरानो चोट बल्झियो । त्यसपछि चिकित्सकको सल्लाह अनुसार नै एनएसएल नखेल्ने भएको हो,’ सुजलले अनलाइनखबरसँग भने, ‘३–४ हप्ता रेस्ट गर्नुपर्छ भनेको छ । समय त अझै बाँकी छ तर रिस्क लिनुभन्दा अहिले नखेल्नु राम्रो लाग्यो र नखेल्ने निर्णय गरेको हुँ ।’

नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलको लागि चैत ६ गते भएको अक्सनमा सुजल ए क्याटेगोरीमा थिए र उनलाई अधिकतम २ लाखसम्मको बोली लागेको थियो । त्यसमा पोखराले गोलाप्रथाबाट सुजललाई टिममा अनुबन्ध गर्न सफल भएको हो ।

गत वर्ष नेपालमै आयोजना भएको १३औं सागमा नेपालको यू–२३ टिमले फुटबलमा स्वर्ण जित्दा सुजलले कप्तानी गरेका थिए । यस्तै गत सिजन सुजनले खेलेको मच्छिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

एनएसएल नखेल्ने भएपछि उनी फरक भूमिकामा पोखरा थण्डर्समै रहने भएका छन् । नखेल्ने भनेर नाम फिर्ता लिन जाँदा टिमले आफूलाई म्यानेजरको रुपमा सँगै बस्न आग्रह गरेको सुजलले बताए । ‘मलाई टिमसँगै बस्नु भनेर म्यानेजरको भूमिका दिएको छ । सँगै ट्रेनिङ गर्न हुन्छ । टिमसँगै भइन्छ भनेर भनेको छ । खेल्न नपाएपनि टिमसँगै हुनेछु,’ उनले भने ।

सुजलको स्थानमा पोखरा थण्डर्सले राष्ट्रिय टिमका मिडफिल्डर रवि पासवानलाई भित्र्याएको छ । थ्री नेसन्स कपमा खेलेका रवि एनएसएलको अक्सनमा बिक्री भएका थिएनन् ।

सुजल नखेल्ने भएपछि रविले अवसर पाएका हुन् । विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्ने रवि छिटो दौडने खेलाडीको रुपमा चिनिन्छन् ।

पोखराले अक्सनमा अनुबन्ध गरेका सुशील राई पनि घाइते छन् । त्यसैले उनले पनि एनएसएल खेल्ने छैनन् । उनको स्थानमा पोखराले विशोन गुरुङलाई टिममा राखेको छ ।

राष्ट्रिय टिम तथा त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुग श्रेष्ठ मार्की खेलाडी रहेको पोखराले यसअघि नै तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । यस्तै दुई हिडल ट्यालेन्ट भने घोषणा हुन बाँकी नै छ ।

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक टिममा २० खेलाडी हुनेछन् । जसमा १४ जना अक्सनबाट लिएका थिए । एक जना मार्की खेलाडी हुनेछन् भने तीन विदेशी खेलाडी रहनेछन् । यस्तै दुई खेलाडी हिडन ट्यालेन्टको रुपमा राख्नुपर्नेछ ।

दशरथ रंगशालामा हुने एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

पोखराको टिम

गोलकिपर : अजित प्रजापति, दीप कार्की

डिफेन्डर : अजित भण्डारी, सुरज गुरुङ, केट्चा वानिक (विदेशी), मानबहादुर तामाङ, दीपक गुरुङ, गौतम श्रेष्ठ

मिडफिल्डर : प्रविनकुमार स्याङ्तेन, रवि पासवान, बिडिएस रिम राफाएल (विदेशी), नितिन थापा, सुजित थापा, विशोन गुरुङ

फरवार्ड : नवयुग श्रेष्ठ, अनिल गुरुङ, मौसा अबागाना (विदेशी)

प्रशिक्षक : नवीन न्यौपाने

सहायक प्रशिक्षक : राजेश शाही

गोलकिपर प्रशिक्षक : विनोद डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment