Comments Add Comment

एपीएफकी सीता बनिन् ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको उत्कृष्ट खेलाडी

२८ चैत, काठमाडौं । एपीएफ क्लबकी कप्तान सीता राना मगर पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेटको उत्कृष्ट खेलाडी बनेकी छन् ।

प्रतियोगितामा शनिबार एपीएफले सुदूरपश्चिमलाई ८ विकेटले हराउँदै उपाधि जित्दा सीताले नेतृत्वदायी भूमिका निर्वाह गरिन् । सीताले प्रतियोगितामा पाँच खेल खेल्दै ब्याटिङमा १२३ रन बनाउनुका साथै बलिङमा ५ विकेट लिइन् । उनी सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहिन् । उनले चार खेलमा ब्याटिङ गर्दा एक अर्धशतक प्रहार गरिन् ।

उत्कृष्ट खेलाडी घोषित भएसँगै सीताले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । एपीएफकी बिनु बुढामगर उत्कृष्ट बलर घोषित भइन् । उनले ५ खेलमा सर्वाधिक १० विकेट लिइन् ।

यस्तै प्रदेश १ की कप्तान रुविना क्षेत्री बेस्ट ब्याट्सवुमन घोषित भइन् । उनले चार खेल खेल्दै एक अर्धशतकसहित सर्वाधिक १६१ रन बनाइन् । गत पुसमा दाङमा भएको प्रधानमन्त्री कप जितेको प्रदेश १ मेयर कपमा भने फाइनल पुग्न असफल रह्यो ।

बिनु र रुविनाले १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा पाँच टिमले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment