Comments Add Comment

भारतमा कोरोनाको दोस्रो लहर : अन्तिम संस्कारका लागि घाटमा घण्टौं लाइन

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या डेढ लाख नजिक पुग्दा मृतकको संख्या पनि बढिरहेको छ ।

केही राज्यको अवस्था दयनीय बनेको छ । त्यहाँ कोरोनाका बिरामीको उपचारका लागि आवश्यक संशोधनको अभाव देखिएको छ भने संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टिमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका धेरै जिल्लामा शवको अन्त्येष्टि संस्कारको लागि घण्टौंसम्मको प्रतीक्षा गर्नुपर्ने अवस्था आएको छ ।

विशेषगरी उत्तर प्रदेशको राजधानी लखनऊ र मध्य प्रदेशको राजधानी भोपालको अवस्था चिन्ताजनक देखिएको छ । जानकारहरुले अहिले भारतका राज्यहरुमा देखिएको अवस्था निकै लामो समयपछि देखिएको संकटको हो ।

उत्तर प्रदेशको पछिल्लो दृश्य भने सरकारी दाबी र आँकडाभन्दा फरक छ । कोरोनाबाट मृत्यु भएका मानिसको परिवारले अन्त्येष्टिको लागि टोकन लिएपछि आठदेखि १० घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।

वैकुण्ठधाम शव दाहगृहमा अत्येष्टिका लागि पालोमा राखिएका शवको संख्या बढिरहेको छ । शवदाह गृहको बाहिर रहेका राजेन्द्र नायक एम्बुलेन्समा तीनवटा शव आउने गरेको र एम्बुलेन्सको लाइन पनि घण्टौंसम्म रहने बताउँछन् ।

दिनभर जलाइन्छ शव

उत्तर प्रदेशको राजधानी शहर लखनऊको वैकुण्ठधाम विद्युत् शवदाह गृहमा दैनिक करिब २५ शवको अन्त्येष्टि भइरहेको छ ।

शवदाह गृहका एक कर्मचारी मुन्ना सिंहले बीबीसीलाई बताएअनुसार एउटा शव अन्तिम संस्कारका लागि करिब ४५ मिनेट समय लाग्छ । यो शवदाह गृहमा दिनभर शवहरु जलाउने काम हुन्छ ।

सरकारी तथ्यांकअनुसार अप्रिल महिनामा लखनऊमा दैनिक पाँचदेखि आठजनाको मृत्यु भएको थियो । तर वैकुण्ठधाममा भने कोरोना प्रोटोकल मानेर दैनिक २० भन्दा धेरै शव जलाइएको थियो । लखनऊमा कोरोनाबाट मृत्यु हुनेको शव मात्र वैकुण्ठधाममा जलाइने गरिएको छ ।

मुन्ना सिंह बताउँछन्, ‘होलीपछि यो संख्या निरन्तर बढिरहेको छ । अधिकांश शव केजीएमयू अस्पतालबाट आइरहेको छ । उनीहरुको अन्तिम संस्कार बिहान चार बजेसम्म भइरहेको छ ।’

सरकारी तथ्यांक कति ठीक ?

मुख्य चिकित्सा अधिकारीको कार्यालयका अनुसार पछिल्लो तीन दिनमा कोरोनाको कारण २० संक्रमितको मृत्यु भएको छ । शवदाह गृहमा भने ६० संक्रमितको अन्तिम संस्कार भइसकेको छ ।

वैकुण्ठधाम शव दाहगृहमा अत्येष्टिका लागि पालोमा राखिएका शवको संख्या बढिरहेको छ । शवदाह गृहको बाहिर रहेका राजेन्द्र नायक एम्बुलेन्समा तीनवटा शव आउने गरेको र एम्बुलेन्सको लाइन पनि घण्टौंसम्म रहने बताउँछन् ।

लखनऊका नगर आयुक्त अमित कुमार भन्छन्, ‘हामीसँग दुई घाटमा तीन मेसिन छन् । गुल्लारा घाटमा एक मेसिन र वैकुण्ठधाममा दुई मेसिन छन् । संख्या बढेका कारण दुईदेखि तीन घण्टा प्रतीक्षा गर्नुपरेको छ । यद्यपि वैकुण्ठधाम नजिक भएकाले धेरै मानिस यहाँ आउने गरेका छन् । गुल्लारा घाटमा धेरै भिड छैन । धेरै प्रतीक्षा गर्नु नपरोस् भनेर प्रयास गरिरहेका छौं ।’

भोपालमा चिन्ताजनक अवस्था

मध्यप्रदेशको पनि अवस्था बिग्रिँदै गएको छ । मृतकको अन्तिम संस्कारका लागि घण्टौंसम्म प्रतीक्षा गर्नु यहाँको लागि पनि नौलो होइन । राजधानी भोपालको भदभदा विश्रामघाटमा बिहीबार कोरोनाको कारण मृत्यु भएकासहित ३१ जनाको शव जलाइएको थियो ।

यो घाटमा अन्य कारणले मृत्यु भएकाको शव ल्याइन्छ । अन्तिम संस्कारको लागि अहिले दुई घण्टा प्रतीक्षा गर्नुपरेको छ ।

भदभदा घाटका प्रबन्धक लाड सिंह सेनले बीबीसीसँग भने, ‘अवस्था लगातार बिग्रिरहेको छ । एकै समयमा धेरै शवहरु जलाउने काम भइरहेको छ । ताकि अवस्थालाई नियन्त्रणमा लिन सकियोस् ।’

व्यवस्थापनमाथि प्रश्न

भदभदा घाटमा बिहीबार जलाइएकामध्ये १३ जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको थियो । त्यस्तै भोपालको सभाषनगर घाटमा पाँच संक्रमितको शव जलाइएको थियो ।

भोपालका अन्य दुई घाटमा गरी थप १० शव जलाइएको थियो । यससँगै समग्रमा बिहीबार ३१ शवको अन्तिम संस्कार गरिएको थियो । जसमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक आठ महिनाकी बालिकाको पनि शव थियो ।

बेबारिसे शवको अन्तिम संस्कार गर्ने संस्था ‘जनसंवेदना’ का राधेश्याम अग्रवाल पनि घाटको अवस्था भयावह हुँदै गएको बताउँछन् ।

उनकाअनुसार धेरै शव दाह गर्ने स्थान निर्माण गर्नुपर्ने अवस्था आएको छ । उनी भन्छन्, ‘जुन अवस्थाको हामीले अहिले सामना गरिरहेका छौं, त्यसमा विद्युत् शवदाह गृहको अवश्यकता छ । तर, तयार भएर पनि सरकारले यसलाई सञ्चालनमा ल्याउन सकेको छैन ।’

अग्रवालका अनुसार कसैको मृत्युपछि अन्तिम संस्कार गर्नका लागि आर्थिक अभावको सामना गरिरहेका परिवारको संख्या पनि उल्लेख्य देखिएको छ । यस्तोमा जनसंवेदना संस्थाले उनीहरुलाई सहयोग गरिरहेको छ । इन्दौरको अवस्था पनि भोपालकै जस्तो नाजुक छ । त्यहाँ पनि शवको अन्तिम संस्कारको लागि लामो समय पर्खिनुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment