Comments Add Comment

महिला क्रिकेट टिमले भारतीय टिमसँग टी-२० र एक दिवसीय सिरिज खेल्ने

फाइल तस्वीर

३० चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग टी-२० र एक दिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघको शनिबार बसेको बैठकले यही अप्रिल तेस्रो हप्तादेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र उत्तराखण्ड महिला क्रिकेट टिम, भारत बीच टी-२० र एक दिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको तयारी गर्ने निर्णय गरिएको जनाएको छ ।

तर सिरिज कहाँ हुने र कहिले हुने भन्ने निश्चित मिति तोकिएको छैन ।

नेपालको पुरुष टिमले वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी-२० सिरिज खेल्दैछ ।

कम्तीमा त्यस सिरिजपछि महिला टिमको सिरिज हुने सम्भावना छ ।

यस्तै क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ ।

नेपालको पुरुष टिमलाई एक दिवसीय मान्यता दिलाउँदा प्रशिक्षक टमाटाले यसअघि पनि महिला टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन् । उनी राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षकसमेत हुन् ।

यस्तै क्यानले मे महिनामा नामिबियासँग पुरुष टिमको एक दिवसीय क्रिकेट सिरिज गर्ने समेत तयारी गरेको छ।

यस्तै क्यान बैठकले महिला र पुरुष क्रिकेट खेलाडीको १८/१८ जनालाई २०२१ को लागि सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने तयारी गरेको छ । त्यसका लागि आगामी १५ मे सम्म बोर्डलाई खेलाडीहरु छनोट गर्दै प्रतिवेदन पेस गर्न राजुबुबु श्रेष्ठ सन्जय राज सिंह र प्रशान्त विक्रम मल्ल गरी ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको छ । समितिले एक्सपर्टको रुपमा थप दुईजना सदस्यलाई सेन्ट्रल कन्ट्रयाक्ट छनोट गर्न आमन्त्रित गर्ने सक्ने जनाएको छ ।

यस्तै क्यानले संघ अन्तर्गत गठन भएका विभिन्न समितिहरुलाई विधानले तोके बमोजिम कार्य गर्ने गरी पूर्णता दिने निर्णय गरिएको छ । जसमा अनुशासन समितिको संयोजकमा शैलेश कर्माचार्य, उपसंयोजकमा रतन कठायत, सदस्यहरुमा नारायण अर्याल र अजयवीर पाण्डेलाई मनोनित गर्ने निर्णय गरेको छ ।

यस्तै क्रिकेट समितिको उपसंयोजकमा दिवाकर घले, सदस्यहरुमा पदम खड्का, करण महत्रा र विनय राजभण्डरी, छनोट समितिमा बासुदेव जोशी, एन्टी करप्सन युनिटमा मिलन बस्नेत, कुवेत चन्द र रितेश सिंह त्यसैगरी महिला क्रिकेट विकास समिति उपसंयोजका प्रदीप मजगैया सदस्यहरुमा निरा राजोपाध्याय जिना श्रेष्ठ र अनिल शर्मालाई मनोनित गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment