+
+
Shares

प्रदेशसभा बैठक : सभामुखले बोलाउँदा मुख्यमन्त्री गएनन्, छुट्टै बोलाए सर्वदलीय छलफल

हरि अधिकारी हरि अधिकारी
२०७७ चैत ३० गते ९:३०
सभामुख प्रदीपकुमार भण्डारी (वायाँ) र मुख्यमन्त्री शेरधन राई

३० चैत, विराटनगर । प्रदेश १ संसदमा देखिएको समस्या समाधान गर्न प्रदेश १ सभामुखले बोलाएको छलफलमा नगएका मुख्यमन्त्री शेरधन राईले छुट्टै सर्वदलीय बैठक बोलाएका छन् ।

सोमबार प्रदेशसभा बैठक बस्नुअघि मुख्यमन्त्री राईले सर्वदलीय बैठक बोलाएका हुन् ।

संसदमा देखिएको समस्या समाधान गर्न आइतबार सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको  सर्वदलीय छलफल बोलाएका थिए । मुख्यमन्त्रीको सहमतिमा बोलाइएको बैठकमा मुख्यमन्त्री राई नै उपस्थित भएनन् । मुख्यमन्त्री उपस्थित नभएपछि छलफल विनानिष्कर्ष टुङ्गिएको थियो ।

प्रतिपक्षी दलहरुले सोमबारको बैठक पनि अवरोध गर्ने बताएपछि मुख्यमन्त्री राईले सोमबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका हुन् । ‘हिजो बोलाइएको छलफलमा मुख्यमन्त्री सहभागी नभएपछि हाम्रो असहमति रह्यो, छलफल निष्कर्षमा पुगेन’ माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आज मुख्यमन्त्रीले मुख्यमन्त्री कार्यालयमा सर्वदलीय छलफल बोलाउनुभएको छ ।’

प्रदेश १ को प्रदेशसभाको साताैं हिउँदे अधिवेशनको छैटाैं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गरेका थिए । चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेका दलहरुले सोमबार बस्ने सातौं बैठक पनि अवरोध गर्ने तयारी गरेका छन् ।

सर्वदलीय छलफलमा मुख्यमन्त्री माग सम्बोधन गर्न सहमत भए प्रदेश सभामा अवरोध नगर्ने प्रतिपक्षको तयारी छ । ‘मुख्यमन्त्रीले बोलाएको छलफलबाट निकास निस्किए अवरोध हुन्न’ आङ्बोले भने, ‘छलफल पछि टुङ्गो लाग्छ ।’

गत माघ ७ गतेबाट प्रदेश १ को सातौं हिउँदे अधिवेशन सुरु भएको थियो । सत्ता पक्षकै कारण तीन महिनामा ६ वटा मात्रै बैठक बसेका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?