Comments Add Comment

हरिद्वारको गंगास्नानमा २० लाख भन्दा बढी सहभागी

३० चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित हरिद्वारमा हरेक १२ वर्षमा लाग्ने कुम्भमेलामा सोमबार २० लाख भन्दा बढीले गंगा स्नान गरेका छन् ।

पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा गंगा स्नान गर्न जाने गर्छन् । सोमबार दिउँसोसम्म २१ लाख भन्दा बढीले गंगा स्नान गरेको कुम्भमेला आयोजकले दावी गरेको छ । आज सोमबारे औंशी भएकाले गंगा स्नान गर्नेको भीड लागेको हो ।

शिवरात्रीको दिन शुरु भएको कुम्भ मेला दुई महिनादेखि निरन्तर छ । कुम्भ मेला भारतका चार सहर अल्लाहबाद, हरिद्वार, नासिक र उज्जैनमध्ये एक सहरमा आयोजना हुने गरेको छ । यसपटकको मेलाको लागि हरिद्वार छानिएको हो । सोमबारको शाही स्नानमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन् ।

स्वास्थ्य विशेषज्ञहरुले कोरोना संक्रमणलाई ध्यानमा राख्दै यो मेला स्थगित गर्न सरकारसँग आग्रह गरेका थिए । तर, सरकारले स्वास्थ्य मापदण्डको पालना हुने भन्दै यो मेला नरोक्ने निर्णय गरेको थियो ।

यद्यपि भारतीय समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा वरिष्ठ प्रहरी अधिकारीले गंगा नदीको किनारामा भौतिक दूरीको नियम पालना गराउन नसकिएको बताएका छन् ।

प्रहरी महानिरीक्षक सञ्जय गुन्ज्यालले भने, ‘हामीले निरन्तर मानिसहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छौं । तर, ठूलो भिड भएकाले व्यवहारमा उनीहरुलाई चलान काट्न (जरिवाना गर्न) सम्भव भएन ।’

प्रहरीले नदी किनारमा भौतिक दूरी पालना गराउन थाल्दा ठेलमठेल भएर दुर्घटना हुने जोखिम देखिएको पनि गुन्ज्यालले बताए ।

भारत सरकारले यसअघि कुम्भमेलामा जान कोरोनाको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने र भौतिक दूरी कायम राख्नेलगायतका मापदण्ड पालना गरिने बताएको थियो । तर, साधु, सन्तसहित धेरै मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

एक दिनअघि मात्र कुम्भमेलाका मुख्य पुजारी अखडा परिषद्का महन्थ नरेन्द्र गिरी कोरोना संक्रमित पाइएका थिए । सोमबारको स्नानले भारतमा कोरोना संक्रमण बढाउन थप सहयोग गर्ने विशेषज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment