 
																			३० चैत, पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले लिएको सही सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी र सीके राउतको पार्टी मूलधारमा आएको बताएका छन् ।
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री बादलले मूलधार बाहिरका शक्तिहरुलाई नियन्त्रण गर्न राज्यले ‘प्रशासनिक कारवाही र राजनीतिक संवाद’ को दुई नीति लिएकोमा त्यो सफल भएको दाबी गरे ।
उनले भने, ‘यसअघिका सुरक्षा गोष्ठीमा विप्लव र सीके राउतले उत्पन्न गरेका सुरक्षा चुनौती प्रमुख विषय हुन्थे । यसपटकको गोष्ठीसम्म आइपुग्दा ती विषय गौण बन्न पुगे । हामीले उनीहरुलाई एकातर्फ प्रशासनिक कारवाही गरेर रक्षात्मक अवस्थामा पुर्यायौं, अर्कोतर्फ वार्ताको माध्यमबाट समस्या समाधान गर्यौं ।’
उनले राज्यलाई नै चुनौती दिने स्तरका समूहहरु अब नरहेको भन्दै अझै केही समूह जाति, क्षेत्र र धर्मका नाममा अस्थिरता निम्त्याउन प्रयासरत रहेकोले सुरक्षा निकाय त्यसतर्फ पनि सचेत हुन आवश्यक रहेको टिप्पणी गरे ।
गृहमन्त्री थापाले सुरक्षा गोष्ठीमार्फत गण्डकी प्रदेशका ११ जिल्लाको सुरक्षा अवस्था, सकारात्मक र नकारात्मक पक्षबारे जानकारी आएको भन्दै अब सोही अनुसार नयाँ सुरक्षा रणनीति बन्ने बताए । उनले हाल देखिएका कमजोरीलाई निर्ममतापूर्वक सच्याउनसमेत मातहतका निकायलाई निर्देशन दिए ।
गोष्ठीमा गृहमन्त्री बादल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आन्तरिक मामिला मन्त्री रामशरण बस्नेत, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी छन् ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका युद्धकार्य निर्देशनालयका रथी तथा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका सिडिओ र जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ । गत वर्ष नै हुनपर्ने सुरक्षा गोष्ठी कोरोनाका कारण रोकिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4