Comments Add Comment

म्यानमारका प्रदर्शनकारीले नयाँ वर्ष नमनाउने, प्रदर्शन जारी राख्‍ने

३१ चैत, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले मुलुकको पाँच दिने नयाँ वर्ष नमनाउने निर्णय गरेका छन् ।

उनीहरुले यसपटक थिंज्ञान नयाँ वर्ष नमनाउने निर्णय गरेका हुन् । सामान्यतया यो नयाँ वर्ष प्रार्थना, सांस्कृतिक रुपमा बुद्धको मूर्ति सफा गरेर र सडकहरु सफा गरेर मनाइन्थ्यो । तर यसवर्ष सेनाविरुद्धको प्रदर्शन जारी रहेकाले नयाँ वर्ष उत्सव नमनाउने निर्णय गरिएको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रदर्शनकारीको तर्फबाट गरिएको एक पोस्टमा सातसयभन्दा बढी निर्दोष साहसी मानिसको यसवर्ष मृत्यु भएकाले उत्सव स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ ।

नयाँ वर्षको अवधिमा पनि प्रदर्शनलाई निरन्तरता दिने प्रदर्शनकारीको नेतृत्व गरिरहेका नेताहरुले बताएका छन् । गत वर्ष पनि कोरोना महामारीको कारण नयाँ वर्ष मनाइएको थिएन । म्यानमारमा मंगलबारदेखि सुरु हुने नयाँ वर्ष शनिबार सकिनेछ । प्रदर्शनकारीहरुले मुलुकमा प्रजातन्त्र आएपछि मात्र नयाँ वर्ष मनाउने बताएका छन् ।

म्यानमारमा सेनाले गरेको कूको विरुद्ध भएको प्रदर्शनमा अहिलेसम्म ७१० जनाको मृत्यु भएको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment