Comments Add Comment

राजनीतिक निकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक : प्रकाशमान सिंह

फाइल तस्वीर

३१ चैत, चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थिर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।

मंगलबार चितवन पुगेका नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्मत तरिकाले निकास दिनुपर्ने बताए ।

उनले भने, ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निर्माणका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

उनले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैं पूरा गरेको र अहिले पनि पूरा गर्ने बताए । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलाई हटाउन कांग्रेस आफैं अग्रसर भएको उनको भनाइ छ ।

‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो,न सुशासन कायम गर्‍यो, न विकास निर्माणका कार्य गर्‍यो, विकास बजेटसम्म पनि खर्च गर्न सकेन’ उनले भने, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ । यो सरकारले नैतिकता गुमाइसकेको छ । अब यसको विकल्प तत्काल दिनुपर्छ ।’

कांग्रेसका लागि महाधिवेशन कि सरकारको नेतृत्व महत्वपूर्ण ? भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने, ‘हाम्रो लागि देश र जनता महत्वपूर्ण हुन् । अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं । महाधिवेशन पनि गर्छौं ।’ कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment