Comments Add Comment

बेंगलुरुसँग ५-० ले पराजित हुँदै आर्मी बाहिरियो

१ वैशाख, काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ ।

गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बेंगलुरु एफसीसँग ५-० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो ।

अब बेंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्लेअफ फाइनल खेल्नेछ । आर्मीले घरेलु मैदानमा भएको पहिलो चरणमा श्रीलका पुलिसलाई ५-१ ले पराजित गरेको थियो ।

तर गोवामा आर्मीको प्रदर्शन उस्तै भएन । नियमित कप्तान भरत खवास, गोलकिपर विशेक कुथु र जर्ज प्रिन्स कार्की बिनै भारत पुगेको आर्मीले बेंगलुरु विरुद्ध एक गोल पनि गर्न सकेन ।

कवरोना पोजिटिभ भएकोले तीनै खेलाडी भारत भ्रमणमा गएनन् । विकेश र जर्जप्रिन्सले पहिलो खेल समेत गुमाएका थिए ।

बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २-२ गोल गरे । यस्तै सुनिल क्षेत्रीले एक गोल गरे ।

पहिलो हाफमा आर्मीले बेंगलुरुलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा बेंगलुरुले १४ मिनेट अन्तरमै ५ गोल गर्‍यो । भेकेले ५१औं र ६५औं तथा सिल्भाले ६१औं र ६३औं मिनेटमा गोल गरे । सुनिलले ५२औं मिनेटमा गोल गरे ।

गत सिजन ए डिभिजन लिग उपविजेता बनेपनि क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब बनेको बर्मीले पहिलो पटक एएफसीको कुनै पनि प्रतियोगिता खेलेको थियो । तर समूह चरण पुग्न भने असफल रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment