Comments Add Comment

विराटनगरमा फेरि बढ्यो संक्रमण : नाका खुला, कन्ट्याक्ट ट्रेसिङ बन्द !

२५ जना भेला हुन रोक, गोल्डकपमा दैनिक पाँच हजार बढी दर्शक

२ वैशाख, विराटनगर । बुधबार विराटनगर महानगरपालिकामै १५ जना कोरोना सङ्क्रमित भेटिए । सोमबार ११ जना, मंगलबार १३ जना भेटिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीपछि तङ्ग्रिदै गरेको विराटनगरमा पुन दोस्रो चरणको सङ्क्रमण फैलिएको प्रमाण हो पछिल्लो सङ्क्रमण । मन्त्रालयका अनुसार प्रदेश १ मा १७९ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये ११६ जना विराटनगर भित्रका छन् ।

अस्पतालमा कोरोना जाँच गराउन जानेहरुको संख्या दैनिक बढ्दो छ । दोस्रो लहर सुरु भएसँगै कोरोना जाँच गर्न आउनेको संख्यासँगै पोजिटिभ केस पनि बढेको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास बताउँछन् ।

गत पुसदेखि चैत पहिलो सातासम्म अवस्था सामान्य थियो । कोसी अस्पतालमा चैत १–२४ गतेसम्म ५६५ जनाको पीसीआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । चैत २५–३१ गतेसम्म २०२ जनाको पीसीआर जाँच गर्दा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो सङ्क्रमणको तथ्याङ्कले समुदायमा सङ्क्रमण फैलिएको देखाउने उनले बताए ।

डा. दासका अनुसार अनुसार लक्षण देखिएकाहरु जाँच गराउन अस्पताल पुग्छन् । समुदायस्तरमा सङ्क्रमण पुगेका कारण लक्षण नदेखिएकाहरुको संख्या धेरै हुनसक्ने उनको भनाइ छ ।

नाकामा कडाइ गरी सतर्कता नपअनाइए अवस्था नियन्त्रण बाहिर जाने सक्ने उनले बताए । भारतमा दोस्रो फेजको कोरोना सङ्क्रमण दर उच्च छ । खुला सीमा भएका कारण भारतबाट सहजै सङ्क्रमित आउने उनले बताए ।

खेल हेर्न ५ हजार दर्शक, छैन कन्ट्याक्ट ट्रेसिङ

सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । स्वास्थ्य सतर्कता अपनाउन बारम्बार आग्रह पनि गरेको छ । तर विराटनगरमा दैनिक पाँच हजार हाराहारी मानिस एकै ठाउँ भेला हुन्छन् ।

रात्रिकालीन विराट गोल्डकप सञ्चालन भएका कारण शहीद रंगशालामा दैनिक पाँच हजार बढी भेला हुने गरेका हुन् । ठूलो जनसंख्या एकै ठाउँ भेला भएका कारण सङ्क्रमण फैलने जोखिम पनि उच्च छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार मोरङ जिल्लामा १२४ जना सक्रिय कोरोना सङ्क्रमित छन् । तीमध्ये विराटनगर महानगरपालिकामा मात्रै १ सय १६ जना सक्रिय सङ्क्रमित छन् ।

सङ्क्रमण दर बढेपनि कन्ट्याक्ट ट्रेसिङ अघि बढाउन नसकिएको विराटनगर महानगरपालिका स्वास्थ्य संयोजक रमेश कार्की बताउँछन् । विराटनगर महानगरपालिकाले पिसिआर संकलन केन्द्र गत पुसमा बन्द गरेको थियो । त्यसयता सञ्चालन गर्न नसकिएको उनले बताए । ‘अब एउटा टिम बनाएर कन्ट्याक ट्रेसिङको काम गर्छौ,’ उनले भने ,‘ महानगरले क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्न चाहिं गाह्रो छ ।’

समाजमा सतर्कता नअपनाएका कारण कन्ट्याक ट्रेसिङ पनि प्रभावकारी नहुने उनको बुझाइ छ । ‘सहिद रंगशालामा ५-७ हजार फुटबल हेर्न भेला हुन्छन्, बजारमा भीडभाड छ, सतर्कता अपनाएको देखिंदैन,’ उनले भने,‘ नागरिक आफै सचेत हुनुपर्छ, सतर्कता अपनाउनुपर्छ ।’

शुक्रबारबाट कन्ट्याक्ट ट्रेसिङका लागि टोली खटिने बताउँदै उनले नाकामा एन्टीजेन परीक्षण भइरहेको बताए । तर नाकामा झण्झटिलो व्यवस्थाका कारण भारतबाट आउने जानेहरु चोरबाटोबाट ओहोरदोहोर गर्छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला नाकाको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । मुख्य नाकामा आवागमन नभएपनि चोर बाटोबाट हुने आवामनलाई रोक्न कठिन भएको उनले बताए । ‘नाका नखुलेपनि व्यवहारिकता हेरेर आवतजावत गर्न दिइएको छ,’ उनले भने ,‘ खुला नाका छ, चोरबाटोले संक्रमणको जोखिम झनै बढाएको छ ।’

कोरोना सामान्य अवस्थामा रहेका बेला विराट गोल्डकप सञ्चालन गर्न दिएको तर एक्कासी संक्रमण बढेपछि सतर्कतासहित प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment