Comments Add Comment

यसपटक हाम्रो टिम बलियो छ : सन्दीप लामिछाने

३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पीनर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली बलियो रहेको बताएका छन् । शनिबारदेखि सुरु हुने सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्दैछन् ।

सिरिजका लागि दुवै विदेशी टोली नेपाल आइसकेका छन् । यस्तै नेपालले बिहीबार नै आफ्नो अन्तिम प्रशिक्षण पूरा गरिसकेको छ । पहिलो पटक घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी-२० सिरिज खेल्न नेपाली टोली नै उत्साहित रहेको बेला सन्दीप पनि निकै उत्साहित छन् ।

सन्दीपले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजको लागि नेपाली टोली बलियो रहेको बताएका हुन् । ‘सिरिज एकदम राम्रो हुनेवाला छ । हामीले राम्रो तयारी गरेका छौँ । हाम्रो टिम पनि राम्रो छ । ब्याटिङ र बलिङ दुवै पक्षमा अहिले बलियो नै छ’ सन्दीपले भने, ‘टिममा ट्रस्ट छ । गुड रिजल्ट आउने अपेक्षा छ ।’

नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टी-२० सिरिज खेल्दैछ । यसअघि २०१९ मा भएको १३ औं सागमा नेपालले टी-२० क्रिकेट खेलेको थियो । जसमा भुटान र माल्दिभ्ससँग खेलेको खेलले टी-२० मान्यता पाएपनि त्यो सिरिज थिएन ।

त्यसैले यो घरेलु मैदानमा पहिलो सिरिज हुनेछ । सन्दीपले भने, ‘म पहिलो पटक टी-२० सिरिज टीयू ग्राउन्डमा खेल्न पाउँदा उत्साहित छु । मैले यहीँबाट खेल्न शुरु गरेँ, ओडीआई सिरिज खेलेँ । टी-२० झन् मेरो लागि सुहाउँदो खेल हो ।’

नयाँ प्रशिक्षक डेभ वाटमोरको आगमन पछि पुरानै कुरा पनि फरक तरिकाले सिकिरहेको सन्दीपले बताए । ‘पहिला सिकेकै तर त्यसलाई नयाँ तरिकाले सिकिरहेका छौं’ सन्दीपले भने, ‘सबैजना अझै सिक्न उत्साहित छौं । हामी पहिलो पटक डेभको अन्डरमा खेल्दैछौँ । पोजिटिभ रिजल्ट दिएर अरु टुर्नामेन्टहरुको लागि पनि राम्रो गर्न तयारी गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment