Comments Add Comment

घरेलु मैदानमा पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज, नेपाली टिम उत्साहित

३ वैशाख, काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज हुँदैछ । नेपाली टिमले पनि घरेलु मैदानमा पहिलो टी-२० सिरिज खेल्दैछ ।

कोरोना महामारीका कारण सामान्य अवस्था भन्दा अहिले फरक तरिकाले टी-२० सिरिज हुँदैछ । मुख्य प्रशिक्षक डेभ वाटमोरको प्रशिक्षणमा पनि नेपालले पहिलो पटक सिरिज खेल्दैछ । उनले पनि घरेलु मैदानबाटै प्रशिक्षणमा डेब्यु गर्दैछन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा यही वैशाख ४ दखि ११ गतेसम्म हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाले डबल राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

घरेलु मैदानमै हुने र तयारी पनि राम्रो गरेकोले सिरिजमा राम्रो प्रदर्शन गर्ने नेपालको अपेक्षा छ । आफ्नो प्रशिक्षणमा पहिलो पटक नेपालले खेलेको हेर्न उत्साहित छन् वाटमोर । साथै उनले यो खेललाई आफ्नो चुनौतीको रुपमासमेत लिएका छन् । ‘यो चुनौती हो र परीक्षण गर्ने अवसर हो । हामी आफूलाई परीक्षण गर्नेछौँ’ वाटमोरले भने, ‘हामीले अन्तिम प्रशिक्षण सक्यौं । उपलब्ध साधन र स्रोत अनुसार राम्रो तयारी गरेका छौँ ।’

वाटमोरले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै फाइनल खेल्ने उद्देश्य रहेको बताए ।

कप्तान ज्ञानेन्द्र मल्ल कोरोना भाइरस महामारीका कारण धेरै खेल गुमाएको अवस्थामा अहिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाउनु खेलाडीको लागि खुशीको कुरा भएको बताउँछन् । नयाँ प्रशिक्षक आएपछि तयारी पनि राम्रो भएको उनले बताए ।

कोरोना भाइरस महामारीका कारण धेरै कुरा चाहेजस्तो हुन नसको भन्दै मल्लले अब फड्को मार्ने समय आएको बताए । ‘कोभिडले गर्दा चाहेको जस्तो हुन सकेन । ३ महिना प्रशिक्षण गरेपनि हामी डिटेल लाग्न सकेनौँ’ ज्ञानेन्द्रले भने, ‘यसलाई एउटा फड्को वा फस्ट स्टेपको रुपमा लिनुपर्छ र निरन्तरता दिनुपर्छ । राम्रो कोच आउनुभएको छ । सबै कुराहरु राम्रो हुँदैछ, अलिकति समय लाग्ला ।’

मल्लले यस्तो सिरिजमा कुनै दबाव महसुस नहुने भएकाले खेलाडीले आफ्नो क्षमता वृद्धि गर्नतिर ध्यान दिनुपर्ने बताए । ब्याटिङ नेपालको सधैँ समस्या बन्दै आएको सन्दर्भमा ज्ञानेन्द्रले क्षमतावान बलरसंग खेल्न पाए ब्याटिङमा राम्रो हुने बताए । ‘अलि राम्रो इन्टरनेसनल कम्पिटेटिभ गेमहरु, फरक स्किल भएका बलरसंग खेल्न पाए हाम्रो ब्याटिङ निखारिने हो’ उनले भने ।

प्रशिक्षक वाटमोरले टी-२० फर्म्याट भएकाले हरेकलाई विशेष भूमिका दिइने वाटमोरले बताए । ‘यो फर्म्याट नै यस्तो छ जहाँ केही खेलाडीलाई विशेष रोल दिइन्छ’ उनले भने ।

त्रिकोणात्मक सिरिजमा नेपालको ओपनिङ कसले गर्ने भन्ने अर्को महत्वपूर्ण विषय हो । कप्तान ज्ञानेन्द्रले ओपनिङ गर्ने लगभग पक्का छन् । यस्तोमा अर्को खेलाडी को होला ? कुशल भुर्तेल र आसिफ शेखले डेब्यु गर्दै ओपनिङ गर्ने सम्भावना देखिएको छ ।

‘अहिलेलाई टप थ्रीमा म, आसिफ र कुशल छौँ । अब तीन बाट दुई जनाले गर्ने हो’ उनले भने, ‘डोमेस्टिकमा राम्रो गरेको क्षमता भएको खेलाडी छ अब अन्तर्राष्ट्रियमा कस्तो गर्छ भन्ने हो । जसले खेलेपनि यही बेला हो युवाहरुलाई मोटिभेट गर्ने अवसर छ ।’

नेपालले शनिबार पहिलो खेलमै नेदरल्याण्ड्ससंग खेल्नेछ । पछिल्लो पटक नेपालले सन् २०१९ मा नेदरल्याण्डससँग ओमानमा खेलेको थियो । यस्तै मलेसियासंग गत वर्ष थाइल्याण्डमा एसीसी इस्टर्न रिजन खेलेको थियो ।

दुवै टिमसंग नेपाल परिचित छ । पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो भने मलेसियासंग पराजित भएको थियो । त्यसैले घरेलु मैदानमा खेल्दा नेपाल दुवै टिमसंग सजग छ । वाटमोरले विपक्षी टिम जस्तो भएपनि आफ्नो गेम खेल्ने बताए ।

नयाँ खेलाडीबाट अपेक्षा

यस पटक दुई नयाँ खेलाडी सिनियर टिममा परेका छन् आसिफ शेख र शहाब आलम । यस्तै ओडीआई खेलिसकेका कमल सिंह ऐरी र लिस्ट ए खेलेका कुशल भुर्तेलले पनि टी-२० मा डेब्यु गर्न बाँकी छ । चार खेलाडी टी-२० डेब्युको पर्खाइमा छन् ।

पहिलो पटक टिममा परेका शहाब र आसिफ क्षमतावान क्रिकेटर भएको वाटमोरले बताए । ‘आसिफ र शाहब राम्रा छन् । उनीहरुको प्रदर्शन क्षमता र सीप भएकोले नै टिममा परेका हुन् । यदि उनीहरुले खेल्ने अवसर पाए भने झन् राम्रो हुन्छ’ उनले भने, ‘कुशलले अभ्यास खेलहरुमा राम्रो प्रदर्शन गरेका छन् । उनी अर्का राम्रो खेलाडी हुन् ।’ उनीहरुले डेब्यु गर्ने सम्भावनालाई वाटमोरले नकारेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment