Comments Add Comment

झ्यालमा फक्रिएको सौन्दर्य, प्रेम र कला

ह्यांउ थ्वं, अजि थ्वं, कता थ्वं मदुसां

सं झ्या दुथाय्, लाका व्यू यो मां

अर्थात्, इत्यादि इत्यादि कुरा नभए पनि संझ्याल भएको घर त पारिदिनुस् न है आमा !

यसको भावार्थ भनेको आर्थिक हिसाबले समृद्ध नहोस् । तर केटीको घरमा संझ्याल भने भएको होस् भनेर गीतमार्फन् नै केटाले आमासँग शर्त राखेको कुरा परम्परागत लोक गीतमा पाइन्छ ।

यस्ता प्राचीन नेवारी लोक गीतका शब्दावली खोतल्दै जाने हो भने झ्यालको बारेमा कोरिएका प्रशंसाका शब्दहरूले यसको महत्वलाई दर्शाएको छ । झ्यालहरूमध्ये पनि महत्वपूर्ण संझ्याल सौन्दर्य र प्रेमको प्रतीकको रूपमा देखिएको छ ।

एउटा सानो प्वालबाट संसार नियाल्ने आँखीझ्याल सुरक्षाका प्रतीक थिए भने हरेक शैलीका झ्यालहरूले आफैँमा छुट्टै महत्व बोकेका छन् । ती परम्परागत गीतहरूले संझ्याललाई दिएको महत्वलाई हेर्ने हो भने ऊबेलामा संझ्याल राख्ने घरहरू सबैको नजरमा विशेष थिए भन्ने देखिन्छ । अर्काे परम्परागत नेवारी लोक गीतमा भनिएको छ ः

सं. झ्यालय् कपि फ्यनाः देवा गोलं क्य्का हल

छग मुगं निंगः मुंमुं कपि पोचा जाल थोमां

संझ्यालमा बसेर बत्ती कातिरहेकी युवतीलाई हेर्नुहोस् न आमा बाटोबाट हिर्काएको ती पैसा एकएक गरी राख्दाराख्दा बत्ती राख्ने भाँडो भरिइसक्यो ।

अर्थात्, त्यतिबेला झ्यालहरू केबल घरमा हावाको प्रवाह र घरको सौन्दर्यको लागि मात्रै नभएर एउटा उमेरदार युवती र युवकको प्रेमसँग समेत जोडिएको कुरा उल्लेखित गीतहरूबाट पत्ता लगाउन सकिन्छ ।

गुसिंबहाल, जनबहाल, तलाछें, बलम्वुलगायत पाटनको मात्रै १६ ठाउँमा कुँदिने यी काष्ठ झ्यालहरू केवल कला मात्रै नभएर राजनीतिक समीकरण जुराउने सूत्र समेत थिए ।

काठमाडौंका तीन राज्यबीच भएको राजनीतिक कटुताको बीचमा पनि भक्तपुरका राजाले वैवाहिक सम्बन्धमार्फत पाटनका काष्ठ कलाकारलाई भक्तपुर भित्र्याएको भन्ने इतिहासमा पाइन्छ । यसरी इतिहासमा सम्बन्ध मिलाउने सूत्रको रूपमा समेत तत्कालीन काष्ठकला एवं झ्यालहरूले अहं भूमिका खेलेको देख्न सकिन्छ ।

८८ वर्षको उमेरमा देवरथारोहण गर्दा होस् या त विवाह व्रतबन्ध जस्ता नेवारी संस्कृतिमा झ्यालको बहुउपयोगिता रहन्छ । देवरथारोहणको क्रममा झ्यालबाट भित्र्याउने र दुलही भित्र्याउँदा होस् या व्रतबन्ध गर्दा समेत झ्यालबाट अबिर छर्किने परम्परा आफैंमा झ्याललाई महत्व दिने संस्कार भित्र पर्छ ।

त्यसो त झ्यालको महत्वलाई लोकगीतसँग मात्रै जोडेर देखाउनु आफैँमा पर्याप्त हुँदैन । सिने क्षेत्रको विकास हुनु अघि झ्यालमा मैनबत्ती बालेर पर्दामा चलचित्र देखाउने चलनले यसको महत्वलाई झनै बढाएको पाइन्छ ।

चन्द्र बहादुर जोशीले तयार पारेको काठमाडौं उपत्यकाका कलात्मक झ्यालहरू नामक पुस्तकमा उनले काठमाडौंमा रहेका विभिन्न कलात्मक झ्यालहरूको बारेमा उल्लेख गरेका छन् । उक्त पुस्तकमा उल्लेख भए अनुसार च्यासलको झ्यालचा खेल फिल्मी जगत सुरु हुनुभन्दा अघि सुरु भएको हो । जुन खेल अहिले पनि खेलिन्छ । जसमा झ्यालमा पर्दा राखी बत्ती बालेर चलचित्र देखाउने गरिन्छ । यी उदाहरणहरूले झ्यालको महत्व केवल हावा प्रवाह र घरको सुन्दरतासँगमात्रै नजोडिएर कला र संस्कृतिमा समेत यसको गहिरो सम्बन्ध देखिन्छ ।

परम्परागत झ्यालका प्रकारहरू

झ्यालको प्रकार एकिन गर्न कठिन छ । तर नाम र विशेषताको आधारमा झ्याललाई विभाजन भने गर्ने गरिएको छ । सामान्यतया ७ प्रकारको झ्यालको प्रकारलाई यहाँ व्याख्या गरिएको छ ।

संझ्याल

जोशीका अनुसार संझ्यालको सिधा नेपालीकरण कपाल कोर्ने झ्याल भन्ने हुन्छ । पहिलेका आमा, दिदी, बहिनीहरूले यही शैलीको झ्यालमा बसेर कपाल कोर्ने भएकाले यसको नाम नै संझ्याल हुन पुग्यो । यो झ्यालमा देखिने युवती र बाटोमा हिँड्ने युवकसँग प्रेमिल प्रसंगसँग समेत जोडिन्छ ।

संझ्याः प्रायः तेस्रो तलामा राखिएको हुन्छ । यसमा तीनवटा इकाई हुन्छ । जसमध्येबीचको इकाई अलिक ठूलो हुन्छ र त्यसबाट मान्छेले अनुहार निकालेर हेर्न मिल्नेगरी खुला ठाउँ राखिएको हुन्छ । यो वसन्तुपुरको कुमारी घरलगायत ठाउँमा देख्न सकिन्छ ।

टिकी झ्याः (आँखीझ्याल)

परम्परागत आर्किटेक्चरको अर्काे सुन्दर नमूना हो टिकी झ्याः अर्थात् टिकीझ्याल । यसलाई आँखीझ्याल पनि भनिन्छ । यो प्रायः परम्परागत घरको दोस्रो तलामा राखिन्छ । यसले हावा र प्रकाशलाई सजिलै भित्र प्रवेश गर्न दिन्छ । यसमा भित्रबाट बाहिर राम्रोसँग नियाल्न सकिन्छ भने बाहिरबाट भित्र देख्न सकिंदैन । यो सुरक्षाको हिसाबले पनि महत्वपूर्ण झ्याल मानिन्छ ।

गाः झ्याः

गाः झ्याः घरको छानोको ठीक मुनि रहने एक किसिमको झ्याल हो ।

विमान झ्याः

विमान ज्याः पनि तीनवटा भागमा विभाजन हुने संझ्याः जस्तै एक किसिमको झ्याल हो । जसको चारैतिर कलात्मक बुट्टाहरू कुँदिएको हुन्छ । विमान झ्याः गाह्रोभन्दा केही बाहिर निकालेर बनाइएको हुन्छ । जसको अर्थ चोरी गर्नेहरु झ्यालबाट छिर्न नसकून् भन्नको लागि हो । जसमा बागथाम, मुल थाम, छेपारो आकारको बुट्टा, आँखीभौं आकारको बुट्टा, गरुड आकारको बुट्टा, झल्दर आकारको बुट्टा, बारुलोको चाका आकारको बुट्टा जस्ता विविधखाले बुट्टाहरूको संयोजन गरिएको हुन्छ । कुन भागमा कुन आकारको बुट्टा राख्ने भन्ने विज्ञान यसमा हुन्छ ।

यी झ्यालहरू हचुवाका भरमा तयार पारिने झ्याल नभएर एउटा योजनावद्ध रुपमा तयार पारिएका हुन्छन् । विमान झ्यालमा चरा रहने अंश पनि बनाइएको हुन्छ । जसलाई नेवारी भाषामा झंगाचागा भनिन्छ । समग्रमा विमान झ्याः पनि कला पक्षले सुशोभित महत्वपूर्ण परम्परागत झ्याल हो ।

मयुर झ्याः

मयुर झ्या भक्तपुरको पुजारी मठ र हनुमानढोका दरबार क्षेत्रमा पाइन्छ । मयुर झ्यालमा बीचमा मयुरको आकृति बनाइएको हुन्छ भने मयुरको प्वाँख फैलिएको जसरी फैलिएको काठले साना साना प्वालहरू बनाएका हुन्छन् । बाहिरी घेरामा ११/११ वटा सानो मयुरको आकार कुँदिएको हुन्छ । माथिल्लो भागमा भने छेउछेउमा जस्तै १५ वटा मयुरको आकृति राखिएको हुन्छ ।

पासुखा झ्याः

पासुखा झ्याः पञ्च बुद्ध (पाँच बुद्ध) को प्रतीक स्वरुप बनाउने गरिन्छ । अतः यसमा पाँच इकाइहरू हुने गर्छन् । यो एक सानो आकारको झ्याल हो । यसमा रहेका पाँच झ्यालमध्ये बीचको झ्याल अरूभन्दा अलिक ठूलो हुने गर्छ । यो झ्याल मूल ढोकाको ठीक माथि राखिन्छ । यो प्रायः दोस्रो तलामा हुने गर्छ ।

यसबाहेक भक्तपुरको पुजारी मठमा देखिने कमल झ्याः, काठमाडौंको याट्खा र पाटनको गाबहालमा रहेको देशेमरु झ्याः, दत्तात्रयको पुजारी मठमा रहेको पञ्च झ्याः र पाटन सिगबहिल सत्तलको सूर्यमुखी एवं वसन्तपुर कुमारी घरको सूर्यमुखी झ्याल पनि परम्परागत झ्यालका उत्कृष्ट उदाहरण हुन् ।

झ्यालमा चराको आकृतियुक्त बुट्टा

–लाम्चो आधार रहेको झ्यालको थाम (उपयोधी) मा गरुडको चिह्नयुक्त बुट्टाहरू राखिन्छ ।

–झ्यालमा एउटा सुचोचना भन्ने ठाउँ र अर्काे सुपारी आकार (अमोसा)को बुट्टाको माथि भँगेराको आकृति राख्ने गरिन्छ ।

–झ्यालमा ढुकुरको समेत चिह्न राखिन्छ । जसलाई सुलोचा अर्थात् गरुड आकारको बुट्टा भएको ठाउँ (सुलोचा) र सुपारी आकारको गोलो बुट्टा भएको (अमोसा) माथि राखिन्छ ।

– झ्यालमा रहेको एउटा खुड्किलो आकारको तेर्साे काठ हुन्छ । उक्त काठलाई कोताला भनिन्छ । उक्त कोतालाको शिरमा मयुरको मूर्ति राख्ने गरिन्छ ।

जनावरको आकृतियुक्त बुट्टा

–कुकुरलाई झ्यालको तल्लो भागमा डण्डीको ठीक मुनि कोतालामा राखिएको हुन्छ ।

–नागलाई पनि कुकुरको चिह्न राखिएको कोतालाको पातामा नै राखिएको हुन्छ ।

–गोरुलाई उक्त कोतालाको पाताको माझमा राखिएको हुन्छ ।

–घोडालाई सुपारी आकारको गोलो बुट्टा भएको (अमोसा) माथि राखिएको हुन्छ ।

–घोडा राखिएको अमोसामा नै सिंहकोे चिह्न पनि अंकित हुन्छ ।

–मकर (गोही) लाई तल्लो पानी महलमा राखिएको हुन्छ ।

झ्यालमा प्रयोग गरिने काठ

प्रयोजन अनुसार कुन काठ कस्तो झ्याल बनाउनको लागि प्रयोग गर्ने भनेर यकिन गरिन्छ । काठको प्रकृति र प्रयोगको आवश्यकताको आधारमा काठ छनोट गरिने भए पनि परम्परागत झ्याल बनाउँदा चाँप, सल्लो, दार, अग्राख, हल्दी र सिसौको प्रयोग गर्ने गरिन्थ्यो ।

जसमध्ये धेरै बुट्टायुक्त झ्याल तयार पार्नको लागि चाँपको काठ रोज्ने गरिन्छ भने सल्लाको पनि प्रयोग गर्ने गरिन्छ ।

यसबाहेक मसिनो बुट्टेदार झ्याल बनाउनको लागि दारको काठ, घामपानी परिरहने झ्याल निर्माणका लागि अग्राख र घामपानीले नछुने ठाउँमा राखिने झ्यालको निर्माणका लागि हल्दीको काठ प्रयोग गर्ने गरिन्छ ।

घाम नदेखिने ठाउँमा राखिने झ्यालको लागि सिसौको काठ प्रयोग गर्ने गरिन्छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment