Comments Add Comment
आत्ममन्थन :

साहित्यको सामीप्यले पत्रकार

कहिलेकाहीं मन तरङ्गित हुन्छ । म पत्रकार नहुँदो हुँ त के बन्थें होला ? यो लेखन सीप कसरी आयो ? पत्रकार कसरी भएँ होला ?

भल्चौरी हान्दै र लुकामारीमा रमाउँदै गर्दा माध्यमिक शिक्षा उत्तीर्ण गरेको पत्तै भएन । खै म बुद्धु हुँ कि, बुद्धिमान ! एसएलसीको तयारी त स्व. प्रकाश कोविदको ‘अर्को जन्म’ र ‘देवता’ उपन्यास पढेर पो गरें ।

अल्लारे त्यो उमेरमा साथी–सँगीहरू युधिर थापाको ‘नीलो चोली’ र ‘लुकेको समाज’मा रमाइरहँदा कसो–कसो म भने ‘अर्को जन्म’ र ‘देवता’को गहिरो मोहमा फसेछु ।

प्रेमका अनुपम कहानी छन् दुवै उपन्यासमा । उपन्याससँगको आत्मीयता कतिसम्म भने दार्जीलिङको टिष्टा रङ्गीन होइन सुनकोशी र तामाकोशीको दोभानमा एक जोडी प्रेमिल सपना पानीका छालहरूसँग हेलिएर कता हो कता ! आफू कहिल्यै नपुगेको र नदेखेको बागडोरा, घुम, चौरास्ता, मिरिकसँगको सामीप्यता चौपट्टै बढायो ।

साहित्य र पत्रकारिताको सम्बन्धबारे धेरै कोणबाट चर्चा हुने गर्छ । यी दुई विधाको सम्बन्धमा कसैको धारणा ‘खोलाका दुई किनार’ हो भन्ने पाइन्छ अनि कसैको ‘नङ र मासु’ सम्म पुगेको छ ।

मेरो अनुभव पत्रकारिता र साहित्यको सम्बन्ध ‘नङ र मासु’कै हो । २०४३/४४ सालताका स्कूले समयमा स्व. कोविदको ‘अर्को जन्म’ र ‘देवता’ नपढेको भए म कसरी पत्रकार बन्थें होला र ? त्यतिबेला पत्रकारितासँग मेरो टाढा टाढासम्मको पनि साइनो थिएन ।

‘मधुमालती’ को कथाले पनि मलाई लेखनतिर प्रेरित गरेको हो । आत्मीय प्रेमको अनमोल कथा रहेको ‘मधुमालती’ मा मालतीले भोगेको पीडा र मधुले पे्रमिका मालतीलाई पुष्पक विमानमा उडाएर लगेको परिवेशले म कति रोमाञ्चित बनें । साँच्चै भन्छु ‘मधुमालती’ कथा पढेको धेरै रात म अनिंदो रहेको छु ।

उपन्यासका कथावस्तुले शब्दहरूसँग हराउने आदत बन्यो, शब्दहरूसँग खेल्ने रहर पलायो । विस्तारै शब्दहरूलाई जोडजाम गर्दै कविता, मुक्तक, व्यङ्ग्य र लघुकथासम्म पुर्‍यायो । अनि २०४७ सालतिर आइपुग्दा शब्दलाई तानतुन गरेर गाउँशहरका समस्या र सभ्यताहरूलाई समाचार बनाउन सिकें । त्यसपछि के थियो र गाउँटोलका साथीसँगीहरूले पत्रकार भन्न थालिहाले । मलाई याद भएसम्म मेरा बालसखाहरू राजेन्द्र, भोजराज न्यौपाने, शम्भु गौतम, विष्णु सुवेदीहरू पनि साहित्य पढेरै पत्रकार बनेका हुन् ।

पृथक ठाउँ, परिवेश र परिघटनाहरूसँग सधैं सामीप्यता रहने पत्रकारसँग जति लेख्ने विषय अरू कोसँग होला र ? ती विषयहरू समाचारको हेडलाइनमै सीमित गर्नु भनेको हाम्रो सामीप्यतालाई अन्याय गर्नु हो ।

म यहाँनेर पत्रकारिता र साहित्यको साइनो खोज्दैछु । नेपालका नाम चलेका धेरै पत्रकारहरूले साहित्यिक, गैर–साहित्यिक पुस्तक प्रकाशन गर्नुभएको छ । प्रशस्तै साहित्यिक कोलमहरू, राजनीतिक लेखहरू प्रकाशन गर्नुभएको छ ।

दिनेश सत्याल, किशोर श्रेष्ठ, नारायण वाग्ले, सुधीर शर्मा, मोहन मैनाली, अखण्ड भण्डारी, धमेन्द्र झा, शिव गाउँले, शरदचन्द्र वस्ती, हरिबहादुर थापालगायत धेरै पत्रकार हुनुहुन्छ जसले समाचार मात्र हैन साहित्यिक, गैर–साहित्यिक पुस्तक, लेख–रचनाहरू प्रकाशन गर्नुभएको छ । नारायण वाग्ले दाइ त अहिले पनि पुस्तक लेखनमै व्यस्त हुनुहुन्छ ।

अरू धेरै पत्रकार पनि अहिले वाइलाइन समाचार लेख्ने मात्र हैन साहित्यिक तथा गैर–साहित्यिक पुस्तक लेखनमा समेत व्यस्त हुनुहुन्छ ।

माथिका यी नामहरूसँग समाचार जोडिएर आउँदा पाठकले जति विश्वसनीय ठान्छन् त्यति नै पठनीय पनि मान्छन् । किनभने उहाँहरूले समाचार मात्र हैन हाम्रो परिवेशको सत्यता खोज्नुहुन्छ । गरीबी, पीडा, उत्पीडन, आवश्यकता, कामको सत्य कथा आफ्नो समाचारमा उधिन्नु हुन्छ । ती विषयवस्तुहरूलाई परिवेश र परिस्थिति अनुसार शब्दमा खेलाउँदै पठनीय बनाउनुहुन्छ । यसको कारण हो, उहाँहरूमा साहित्यिक चेत छ ।

त्यसैले त म्याच्यु अर्नोल ‘पत्रकारिता हतारको साहित्य’ भन्न पुग्छन् । अहिले हाम्रा धेरै पत्रकार हतारमा समाचार कोर्नुहुन्छ र फुर्सदमा साहित्य लेख्नुहुन्छ ।

कति मिल्दो छ साहित्य र पत्रकारिता । समाज र परिवेशको सत्यता समाचारमा लेखिन्छ तत्कालै । अनि त्यही सत्यतालाई कथावस्तुमा विस्तृतीकरण गर्दै साहित्य लेखिन्छ । हामी साहित्यलाई काल्पनिक ठान्छौं तर साहित्य काल्पनिक हुँदै होइन । समाजमा हुँदै नभएको विषय कसरी साहित्यमा लेखिन्छ र !

स्व. प्रकाश कोविदको उपन्यासमा उल्लेख गरिएका चौरास्ता, घुम, बागडोरा, मिरिक, टिष्टा रङ्गीन काल्पनिक नाम हुन र ? ‘देवता’ र ‘अर्को जन्म’ का कथा समाजको वास्तविकता भन्दा पृथक् छन् र ? अहँ पटक्कै छैनन् । चन्द्रप्रकाश बानियाँको ‘महारानी’ होस् कि, सगुना शाहको अनुवाद कृति ‘कान्छा महारानी’ यी सबै त नेपाली परिवेशका सत्य घटना नै हुन् नि !

म त भन्छु हरेक पत्रकारले साहित्य लेख्नैपर्छ । पृथक् ठाउँ, परिवेश र परिघटनाहरूसँग सधैं सामीप्य रहने पत्रकारसँग जति लेख्ने विषय अरू कोसँग होला र ? ती विषयहरू समाचारको हेडलाइनमै सीमित गर्नु भनेको हाम्रो सामीप्यतालाई अन्याय गर्नु हो । हाम्रा स्थलगत अनुभव र अनुभूतिहरूलाई शब्दमा उतार्ने र विस्तृतीकरण गर्ने बानीले हामीलाई जिम्मेवार पत्रकार बनाउँछ । एउटा परिघटनाको विवरण तयार हुन्छ र त्यो भविष्यमा उत्कृष्ट इतिहास बन्नेछ ।

बालमस्तिष्कमा भरिएको साहित्यको रसले मलाई पत्रकार बनायो । कति पत्रकारहरू अहिले साहित्यकार बन्नुभएको छ । अनि कसरी साहित्य र पत्रकारिताको सम्बन्ध ‘खोलाको दुई किनार’मा सीमित रहन सक्छ ? यो सम्बन्ध त ‘नङ र मासु’कै हो नि !

मेरो उत्सुकता, म पत्रकार नभएको भए के हुन्थें होला ? अहिले सम्झिंदैछु नेवारको छोरो पत्रकार नभएको भए कि व्यापारी हुन्थें होला कि जागिरे ! धन्य छु ‘मधुमालती’को कथाप्रति, स्वर्गीय प्रकाश कोविदको लेखनी ‘अर्को जन्म’ र ‘देवता’प्रति; मलाई पत्रकार बनाउने मेरा सारथीहरू… ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment