Comments Add Comment

राज्यारोहणको समयमा युधिष्ठिरलाई कसले दिएका थिए मृत्युवरणको सुझाव ?

महाभारतमा रहेका हरेक पात्रलाई कुनै न कुनै ज्ञान दिनका लागि प्रयोग गरिएका हुन्छन् । यी सबै पात्रको कथालाई छुट्टाछुट्टै हिसाबले व्याख्या गर्दा पनि यसबाट कुनै न कुनै ज्ञान प्राप्त हुन्छ । यिनै पात्रमध्ये एक हुन् चार्वाक राक्षस ।

चार्वाक राक्षस दुर्याेधनका परममित्र थिए । जसका कारण उनले युधिष्ठिरको राज्यारोहणको समयमा ज्ञानीको भेषमा गएर दुर्याेधनलाई बन्धुको हत्यारा रहेकोले राजकाजको साटो देहत्याग गर्नु श्रेयस्कर हुने सुझाव दिएका थिए ।

पाण्डवहरूले महाभारतको युद्ध जितेका थिए तर यो विजयले उनीहरूलाई त्यति खुशी प्रदान गर्न सकेको थिएन । कारण एकातर्फ आफ्नै बन्धुहरुको हत्याबाट राज्य प्राप्त भएको थियो भने अर्काेतर्फ द्रौपदीका छोराहरू पनि युद्धमा मारिएका थिए । बचेका थिए त केवल अर्जुनका पुत्र अभिमन्युका पुत्र परीक्षित ।

युधिष्ठिरले युद्धको मैदानमा वीरगति प्राप्त गरेका योद्धाहरूको दाहसंस्कार गरेपछि दुवै पक्षका परिवारको लागि अन्त्येष्टि संस्कारको समेत आयोजना गरे । मृतक सबैप्रति श्रद्धा–तर्पण गरेपछि जब युधिष्ठिरको राज्याभिषेकको तयारी भएको थियो सो राज्याभिषेकमा मुलुकभरका विद्वानहरुको भेला थियो । ती सबै विद्वानहरु युधिष्ठिरको अभिनन्दनको लागि तयार थिए । तर सोही भीडमा एउटा फरक स्वर उठ्यो । त्यो थियो चार्वाक राक्षसको ।

भनिन्छ कि युद्ध जितेर पाण्डव ऋषिमुनिहरूको अनुसरण गर्दै हस्तिनापुरमा प्रवेश गरेका थिए । जब युधिष्ठिरको राज्याभिषेक भइरहेको थियो, त्यस समय चार्वाक नामका राक्षस पनि सोही विद्वानको भेषमा आएका थिए ।

राक्षसले सबै ब्राह्मणहरुको तर्फबाट आफूले भनाइ राखेको भन्दै उनले भनेका थिए: ‘म यी सबै ब्राह्मणहरुको तर्फबाट यो भन्न चाहन्छु कि तिमी आफ्नो बन्धुबान्धवको वध गर्ने एक दुष्ट राजा हौ । तिमीलाई धिक्कार छ । तिमी त बाँच्नुभन्दा मर्नु श्रेयस्कर हुनेछ ।’

ब्राह्मणको मुखबाट यस्तो कुरा सुनेपछि युधिष्ठिर साह्रै डराए । यो सुनेर युधिष्ठिर अवाक् पनि भए । साथमा त्यहाँ उपस्थित सबै ब्राह्मणहरु पनि अचम्मित भए । सबैजना चार्वाकले भनेको उक्त उक्तिको विरुद्धमा थिए । त्यसपछि सबै ब्राह्मणहरुले आफ्नो तर्फबाट आफ्नो विचारको विरुद्धमा बोल्ने को रहेछ ? भनेर उसको पहिचान खोज्न थाले । पछि थाहा भयो कि उनी दुर्याेधनका परममित्र चार्वाक भेष बदलेर ब्राह्मणको भेषमा आएका थिए ।

यति पत्ता लागेपछि युधिष्ठिरले केही बोल्नुपूर्व नै चार्वाक भष्म भए । यसको कारण थियो कि चार्वाकले अनेक वर्षसम्म बद्रिकाश्रममा तपस्या गरेका थिए । तदनन्तर उनले ब्रह्मासँग कुनैपनि प्राणीले उनको हत्या गर्न नसक्ने वरदान प्राप्त गरेका थिए । तर उनले ब्राह्मणको अपमान गरे भने भष्म हुन्छन् भन्ने शर्त थियो । यसरी ज्ञानी मान्छेहरुको सभामा सबैको यति धेरै अपमान गरेका कारण उनी भष्म भएका थिए । यसरी उनको विगतको बारेमा कृष्णले सबैलाई सुनाएपछि युधिष्ठिरको अभिनन्दन सुरु भएको थियो ।

यसबाट यो ज्ञान मिल्छ कि आफूसँग भएको शक्तिको दुरुपयोग गर्दा मान्छे भष्म हुन पनि बेर लाग्दैन । यद्यपि उसले आफ्नो मित्रप्रतिको सदासयता देखाएर गएको थियो । तर असत्यको साथ दिंदा उसले मृत्युवरण गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment