
News Summary
Generated by OK AI. Editorially reviewed.- स्रोतले जनताले सडकमा आएर जनअसन्तुष्टि पोख्नुपर्ने आवश्यकतालाई जोड दिन्छ।
- राजनीति र राज्यव्यवस्थाको वर्तमान अवस्थाले मुलुकलाई अनिश्चितता र अस्थिरता तर्फ लैजान्छ।
- महाभारतको भीष्म र कृष्णको संवादले वर्तमान राजनीतिक अवस्थाबाट पार पाउन शिक्षाप्रद मार्ग देखाउँछ।
जनताले सडकमा आएर जनअसन्तुष्टि र आक्रोश नपोखुञ्जेल टेरपुच्छर नलगाउने राज्यव्यवस्था नैतिक रूपमा निकम्मा/गएगुज्रेको मानिन्छ । जायज मागको टालटुले सम्बोधनले जनभावको घाँटी ङ्याकिन पुग्छ । केही सीमित मुठ्ठीभर तरमाराको हालीमुहाली/वर्चस्वलाई सुचिता र नैतिकताको राजनीतिक कसीले नअठ्याएसम्म मुलुक हरप्रहर ऐठनमा रहन्छ ।
वैचारिक बेठेगानका कुरा, बिचौलियाको बिगबिगी, राज्यको व्यक्तिगत इबी साध्ने/तेजोबध (राजनीतिक प्रतिशोध र चरित्रहत्या, किनारीकृत) गर्ने प्रवृत्ति, भ्रष्टाचारको एकोहोरो भट्याई, राज्यको प्रमुख निकायको नाकैमुनि झिंगा भनाभन हुँदा पनि थाहा–पत्तो नभएको बहानाबाजी, जनघाती अपराधको मिलेमतोमा दाँत ङिच्च पार्नु, बिजोग बाटोघाटो आदिले मुलुकको उच्चाटलाग्दो (जता हेर्यो उतै अस्तव्यस्त) अवस्था चित्रित गर्न पर्याप्त छ । हुलहुज्जत/धम्कीको परिस्थिति व्यहोर्नुपर्ने राज्य नैतिक रूपमा पतनोन्मुख दिशातिर गएको संकेत गर्छ । जतिसुकै तर्कको जलप लगाए पनि ‘राजनीति गएगुज्रेको बेला अर्थतन्त्र झुत्रो’ हुनुलाई अस्वाभाविक मानिंदैन ।
यसै परिवेशमा महाभारतको युद्ध सकिने–सकिने छेक बाणशय्यामा रहेका भीष्म पितामहले धरा छोड्नु पूर्व आफूसँग रहेका अनेकानेक भ्रम समाप्त गर्न कृष्णसमक्ष उठान गरेका केही प्रश्न–उत्तर संवादको तल उल्लिखित छोटो अंश मुलुकको वर्तमान दिग्भ्रमित/गञ्जागोल अवस्थाबाट पार पाउन कारगर साबित हुन सक्छ ।
कृष्ण र भीष्म पितामहको संवाद
भीष्म पितामह (कृष्णसँग सोध्छन्)– के पुत्र युधिष्ठिरको राज्याभिषेक गराइसक्यौ केशव…? उसको ध्यान राख्नु । परिवारका ज्येष्ठजनहरूले रिक्त भइसकेको राजप्रासादमा उनलाई सबैभन्दा बढी आवश्यकता तिम्रो छ…!
कृष्णः (चुपचाप सुनिरहन्छन् केही बोल्दैनन्…)
भीष्म पितामहः एउटा कुरा बताऊ कन्हैया…! यो युद्धमा जे भयो त्यो ठिक थियो त….?
कृष्णः कसको पक्षबाट पितामह…?
भीष्म पितामहः पाण्डवको तर्फबाट…। कौरवका कृत्यको चर्चाको त अब कुनै अर्थ छैन कन्हैया…! तर पाण्डवको तर्फबाट जे भयो त्यो सही थियो त….? आचार्य द्रोणको वध, दुर्योधनको जाँघको तल प्रहार, दुःशासनको छाती चिर्नु, जयद्रथ र द्रोणाचार्यसँग भएको छल, निहत्था कर्णको वध, यी सबै ठिक थिए त….? यी सबलाई उचित मान्न सकिन्छ त…?
कृष्णः यसको उत्तर म कसरी दिन सक्छु पितामह ! यसको उत्तर त उसले दिनुपर्छ, जसले यो गरेको छ । उत्तर दिनुपर्छ दुर्योधनले, दुःशासनको वध गर्ने भीमले, कर्ण र जयद्रथको वध गर्ने अर्जुनले ।
भीष्म पितामहः विश्वले भलै महाभारत अर्जुन र भीमले जितेको भनुन् परन्तु म जान्दछु कि यो केवल तिम्रो…नितान्त तिम्रो विजय हो…!
कृष्णः यो युद्धमा त म कहीं पनि थिइनँ पितामह…!
भीष्म पितामहः अहिले पनि छल गर्न छोड्दैनौ कृष्ण…? अरे विश्वले भन्दै गरोस् कि महाभारत अर्जुन र भीमले जितेका हुन्…! तर म जान्दछु कि कन्हैया यो तिम्रो र केवल तिम्रो विजय हो…! म त यो उत्तर तिमीसँग सोध्दैछु कृष्ण…!
कृष्णः त सुन्नुहोस् पितामह…! कुनै त्यस्तो नराम्रो भएन, कुनै अनैतिक भएन…! त्यही भयो जो हुनुपथ्र्यो..!
भीष्मः मर्यादा पुरुषोत्तम रामको अवतार कृष्णले यस्तो भनिरहेको छ…? … छल गर्नु कुनै पनि युगमा हाम्रो सनातन संस्कारको अङ्ग होइन अनि कसरी उचित मान्न सकिन्छ ?
कृष्णः इतिहासबाट शिक्षा लिन त सकिन्छ तर निर्णय चाहिं वर्तमान परिस्थितिको आधारमै लिनुपर्छ । हरेक युगले आफ्नो तर्क र आवश्यकताको आधारमा आफ्नो नायक चुन्ने गर्छन् । राम त्रेता युगका नायक थिए भने कृष्ण द्वापर युगको ।
अनि दुवैको निर्णय कसरी एक जस्तो हुन सक्छ…?
भीष्म पितामहः आखिर युद्धमा कसको जित भयो ?
कृष्णः धर्मको विजय । केवल धर्मको विजय । भविष्यले यो सिक्न जरूरी छ ।
भीष्म पितामहः के धर्मको नाश हुन सक्छ ? अनि यदि धर्मको नाश हुन्छ भने, के मनुष्यले यसलाई रोक्न सक्छ त ?
कृष्णः कहिलेकाहीं धर्म बचाउनको लागि ईश्वरको साथ आवश्यक हुन्छ । परन्तु सबै कुरा ईश्वरकै भरोसामा छोडेर हात बाँधेर बस्नु मूर्खता सिवाय केही होइन पितामह ।
भीष्मः अर्जुनलाई कर्णको बधको लागि प्रेरित गर्ने, भीमलाई दुर्योधनको जाँघमा आक्रमण गर्न इशारा गर्ने, अनि शिखण्डीको सहारा लिन अर्जुनलाई भन्ने…जस्ता मार्गदर्शन किन आवश्यक थियो ? के भविष्यमा यस्तो छलको अनुसरण अरूले गर्दैनन्….? यदि गरे भने त्यो उचित होला ? अनि त्यो तिम्रो निर्णयले गलत परम्पराको प्रारम्भ हुँदैन त केशव ?
कृष्णः भविष्य त योभन्दा पनि नकारात्मक आउँदैछ भीष्म पितामह । कलियुगमा त यतिले पनि काम चल्दैन । त्यस समय मनुष्य कृष्ण भन्दा पनि कठोर हुनु जरूरी हुन्छ, होइन भने धर्म समाप्त हुन्छ ।
जब क्रूर र अनैतिक शक्ति सत्य र धर्मको समूल नाश गर्न चारैतिरबाट आक्रमण गरिरहेका छन् भने त्यस बखत नैतिकता अर्थहीन हुन जान्छ पितामह । केवल धर्मको विजय मात्रै महत्वपूर्ण हुन्छ, केवल धर्मको । भविष्यले यो सिक्नै पर्छ पितामह ।
भीष्मः मैले बुझ्न सकिन कृष्ण…! अझै सम्झाऊ…!
कृष्णः राम र कृष्णको परिस्थितिमा धेरै अन्तर छ भीष्म पितामह…! रामको युगमा खलनायक रावण त शिवभक्त हुन्थे…! रावण जस्तो नकारात्मक शक्तिको परिवारमा पनि विभीषण, मन्दोदरी, माल्यवान जस्ता सन्त र विदुषी हुने गर्थे…! अनि बालीको जस्तो खलनायक परिवारमा पनि तारा जस्ती विदुषी स्त्री र अङ्गद जस्तो सज्जन पुत्र हुन्थे । त्यस युगमा खलनायक पनि धर्मको ज्ञान राख्थे, त्यसैले रामले उसँग कहीं पनि छल गरेनन् । परन्तु मेरो युगको भागमा कंस, जरासन्ध, दुर्योधन, दुःशासन, शकुनि, जयद्रथ जस्ता घोर पापी आए । त्यसैले तिनीहरूको समाप्तिका लागि हर छल उचित थियो पितामह । पापको अन्त्य आवश्यक छ, चाहे त्यो जुनसुकै विधिबाट होस् ।
…….
यी दुई बीचको संवाद निकै रोचक, मर्मस्पर्शी र अन्तरदृष्टिले भरिएको छ । आधुनिक राजनीतिक परिदृश्यमा पूर्वीय दर्शनका धार्मिक सन्देशहरू राज्य व्यवस्था सञ्चालन खातिर वर्तमान उल्झनलाई निकासतर्फ लैजाने भनौं गञ्जागोलबाट पार पाउने निर्दिष्ट मार्गहरू पहिल्याउन/मनन गर्न किञ्चित अन्यथा मान्नुुहुन्न । अनि दह्रो पाइला चालिहाल्नुपर्ने यो समयको टड्कारो जोडबल पनि हो ।
सरकार (कार्यपालिका), न्यायपालिका र राजनीतिमा भ्रष्ट र अनैतिक व्यक्तिहरूको हालीमुहाली र कुकृत्य नै अधर्म (पाप) यानिकी विकृति/विसंगतिको पर्याय हो । जसको अन्त्य आवश्यक छ, चाहे त्यो जुनसुकै संवैधानिक विधिबाट होस् । कुशासनको अँध्यारो सुरुङबाट सुशासनको झलमल्ल घाम हेर्ने जनगणको अतृप्त प्यास सदैव दिवास्वप्न रहँदै आएको छ । पारदर्शिता, जिम्मेवारी बहन र जवाफदेहिताले नै स्वतन्त्रता र अस्तित्ववादको मूल मन्त्रलाई सच्चा रूपमा आत्मसात् गर्न अभिप्रेरित गर्नेछ ।
दिमित्री मेन्डलिभ भन्छन्– केही निश्चित र सटिक सिद्धान्तद्वारा निर्देशित प्रणाली स्थापित गर्नुपर्छ, न कि संजोग र मौकापरस्त प्रणाली ।
(प्राध्यापक बराल स्वतन्त्र अनुसन्धाता पनि हुन् ।)
प्रतिक्रिया 4