 
																			भदौ २२ गते आइतवार दिउँसोसम्म अनलाइनखबरको नियमित स्तम्भ लेख्न कुनै विषयमा आवश्यक सामग्री जुटाउँदै थिएँ। तर, जोसँग केही प्रश्न राखेकी थिएँ, जवाफ पाएकी थिइनँ। आफ्नै व्यस्तताले त्यो दिन लेख्न सकिएन। त्यतिबेला सरकारले सामाजिक सञ्जाल पनि बन्द गरिदिएको रन्कोले धेरैलाई तताइराखेको थियो।
स्मरणीय छ, मन्त्रिपरिषद्को ९ भदौको निर्णयले ‘एक साताभित्र सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता गर्ने आह्वान गरिने र त्यसपछि दर्ता नगरेको सामाजिक सञ्जाल निष्क्रिय गरिने’ भनेको थियो। त्यसपछि, यहाँ चलाइने २६ सामाजिक सञ्जालहरू क्रमशः निष्क्रिय पार्दै लगिएका थिए। सरकारलाई उक्त कदम चाल्न कुनै पनि कानूनी व्यवस्था नरहेको र त्यसले अभिव्यक्ति स्वतन्त्रता माथि असर पुग्ने सरोकारवालाहरूको धारणा रहेको थियो।
कोभिडको बेलामा घरमा थुनिनुपरेको थियो। त्यतिबेला सूचनाको संसारबाट निकालेर हाम्रो जीवन बन्दी बनाइदिएका छन्। ‘सामाजिक सञ्जाल बन्दलाई सपोर्ट गर्नेलाई राष्ट्रवादीको मान भिराइयो; विरोध गर्नेहरू अराष्ट्रवादी भए’ भन्दै रोष प्रकट गरेकी थिएँ।
मुलुकका तत्कालीन प्रधानमन्त्रीले आफ्नो क्षुद्र बोलीमा लगाम लगाएनन्। नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आइतवार उनले बुद्धिजीवीहरूलाई सुनाउँदै भने, ‘म चीन गएर हाम्रो भूमि लिपुलेक, लिम्पियाधुराबारे कुरा उठाएँ, अडान राखें तर यो बुद्धिजीवीहरूले देखेनन्, यसबारे यहाँ कुरा उठाएनन्, … दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई दर्ता गर्न आऊ भनेर सरकारले भनेको विषयलाई सामाजिक सञ्जाल बन्द गर्यो भनेर प्रचार गरेका छन्।’
अझ चर्किंदै भने, ‘एक वर्षदेखि सामाजिक सञ्जालहरू नेपालको कानून अनुसार दर्ता हुनुपर्छ भन्दा तिमीहरूको संविधान थाहा छैन भनेर अटेरी गर्ने ? सामाजिक सञ्जाल दर्ता गर्न आऊ भन्दा ४ जनाको जागिर खोसियो अरे! ४ जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान ?’ खासमा, नियमनको विरोध कसैले गरेको थिएन; एकैपटक निषेध गरिनुहुन्न भन्ने माग थियो।
एक्काइसौं शताब्दीमा सूचनाको बलि चढाऊ भनेर कसले मान्दो हो ? फेरि अगाडि पुगिसकेको समयलाई पछाडि फर्काउन सहज हुन्छ ? त्यो कुरा दम्भले भरिएको व्यक्तिले कसरी बुझ्ने ?
अझ, उनका सल्लाहकार, चाटुकारहरूले त शायद आँखा र कान नै बन्द गरिदिएका थिए कि ? कतिपय घरका ज्येष्ठ नागरिक फेसबुकको फोटो हेरेर आफ्ना छोराछोरीलाई सम्पर्क गर्थे ! लेख्न/पढ्न नआउनेहरू, ‘नानी/बाबु, तिम्रो फोटो फेरेछौ, कसरी कुरा गर्ने ?’ भन्थे ! कति घरमा वृद्ध आमाबाबु मात्रै छन्; दिनको एकपटक मेसेन्जरबाट भिडियो कल गरेर नाति/नातिना देखेर रमाउँथे ! कतिको रोजगारी सामाजिक सञ्जालबाट नै चलेको तियो। त्यो पर्वाह गरेनन्; बरु, ‘पुतली’ को कथा सुनाए।
उनले भने, ‘फूलको रस खाएर पुतली झुम्म परेर निदाएपछि सपनामा मानिस बनेको देखेछ। डाक्टर, इन्जिनियर, मन्त्री बनेको, गाडी चढेर हिंडेको देख्यो। केही समयपछि झल्यास्स ब्युँझियो– उसलाई दिग्भ्रम भएछ– म पुतली हुँ कि मान्छे ? बुद्धिजीवीहरू मानिस हुन् कि पुतली भन्ने भ्रममा बाँचिरहेका छन्।’
क्षुद्रताले पराकाष्ठा नाघेकै थियो। दम्भ र भ्रष्टाचारको लेखाजोखा पनि पार्टीका केही सीमित सदस्यहरूलाई छाडेर अरूले पनि राखेकै थिए। शायद, मर्ने बेला छिचिमिराको प्वाँख पलाउँछ भन्ने उखान चरितार्थ हुँदैथियो।
सन् २०१० को डिसेम्बरमा ट्युनिसियामा प्रहरीको दुर्व्यवहारले मोहमद बौजीजी नाम गरेका सडक व्यापारीले आफूले आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएपछि सडकमा ओर्लिएका युवाले २३ वर्ष अविच्छिन्न राज गरेका राष्ट्रपति जिन अल अबादिन बेन अलिलाई सन् २०११ को जनवरीमा देश नै छाडेर भाग्नुपर्ने स्थिति बन्यो। शायद, दलीय भागबण्डामा रमाउनेहरूले यो कुरा बिर्सिए।
त्यसपछि पनि विभिन्न देशमा युवाहरू सडकमा ओर्लिएर गरेका प्रदर्शनहरू आँखामा सत्ता र शक्तिको पट्टी लगाएर बसेकाहरूले बिर्सिए। तर, ट्युनिसियाकै उदाहरण दिएको कारणचाहिं, त्यो प्रदर्शन सामाजिक सञ्जालकै सूचना प्रवाहको कारणले भएको थियो।
‘जेन-जी’ पुस्ताले सोमवार ११ बजे माइतीघरमण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखेको सूचना केही सामाजिक सञ्जालमा नै पढियो; तर, फेरि कुनै समूह नै जेन-जी भनेर ९ बजेदेखि नै माइतीघरमा जम्मा हुन थालिसकेका थिए। उनीहरूको उद्देश्य, शृङ्खलाबद्ध भ्रष्टाचारको विरोध र सरकारको नयाँ नियम अन्तर्गत दर्ता हुन नआएका फेसबुक, एक्स (ट्विटर), युट्युब, इन्स्ट्राग्राम, ह्वाट्सएप सहित २६ प्रमुख सामाजिक सञ्जालहरूमाथि सरकारले प्रतिबन्ध लगाएपछि यो आन्दोलन देशव्यापी रूपमा शुरु भयो।
सोही दिन एउटा पारिवारिक जमघटमा थिएँ। त्यहाँ उक्त दिनको प्रदर्शनमा केही अप्रिय घटना घट्ला कि भनेर चासो राख्नेलाई दाबाका साथ भनेकी थिएँ, भर्खरै नियुक्त हुनुभएको प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले त्यसो नगर्नुहोला ! तर, उहाँले त सबै भ्रम तोडिदिनुभयो। जम्माजम्मी केही महिनाको लागि प्रहरी महानिरीक्षक हुनुहुने उहाँले, आफ्ना क्याडरहरूलाई यति पनि भन्न सक्नुभएन कि, ती आतंककारी होइनन्, पानीका फोहोराले हटाउन खोज; नभए अश्रुग्यास फ्याँक, त्यतिले नभए हवाई फायर गरेर तर्साऊ ! त्यसले पनि भएन भने, पहिले चेतावनी दिएर मात्रै, घुँडामुनि गोली हान।
नवयुवा, जसले आफूहरूलाई ‘जेनजी’ नामकरण गरेका छन्, उनीहरूको समूह माइतीघरबाट संसद् भवनतिर बढ्यो; कुनै तरिकाले चलेको/चलाइएको सामाजिक सञ्जालबाट के-के भइरहेछ भन्ने चासो रहिरहेकै थियो। जब, युवाहरू नयाँबानेश्वरस्थित संसद् भवनतिर लागे कौतूहल बढ्दै गयो। उनीहरू त्यहाँ पुग्दासम्म उनीहरूको समूह देखेर आश्चर्य भने पक्कै लागेको थियो; कसरी यतिका नवयुवा जम्मा हुनसकेका होलान् भनेर !
उनीहरू बानेश्वरतिर लाग्दा बाटोमा पानीको फोहोरा हानियो; अश्रुग्यास फालियो। उनीहरू वास्ता नगरिकन शान्तिपूर्वक र्यालीमा सहभागी भैरहे।
संसद् भवन अगाडि पुगेर उनीहरूमध्ये केहीले दुवै हात माथि उठाएर उभिएको दृश्य पनि देखियो। उनीहरूसँग हतियार थिएन। गोलीगट्ठा थिएन। ढुंगामुढा बोकेका थिएनन्। उनीहरूमाथि सुरक्षाकर्मीले हतियार नउठाउन भनेर, उनीहरूमध्ये धेरै त स्कूल ड्रेसमा थिए। तर, एक्कासी शान्तिपूर्ण प्रदर्शनमा कताबाट को घुस्यो, संसद् भवन भित्र पस्न बल प्रयोग हुन थाल्यो। कसैले, संसद भवन कम्पाउण्डको भित्ता फोड्न थाले।
सामाजिक सञ्जालमा तुरुन्तै, उनीहरूले आफ्ना साथीहरूलाई फर्कन आह्वान गर्न थाले। तर, त्यहाँको तोडफोड रोकिएन। प्रहरीले जता पायो उतै ताकेर गोली हान्न थाल्यो। ती कलिला विद्यार्थीको घाँटी, मुटु, छाती जताततै गोली लाग्न थाल्यो। ६ घन्टाको बीचमा १९ जनाको हत्या भयो।
हो, त्यो मृत्यु होइन, हत्या नै थियो। त्यो सत्ताको बर्बरता थियो। आफूभन्दा दुई पुस्ता तलकाले केही गर्न सक्छन् भन्ने कल्पनासम्म नगरेकाहरूले, जसरी भए पनि सत्ता र शक्तिमै रहिरहन गरेको निर्दयीपनको हद थियो।
उफ् ! न सोच्न सकियो; न त, रोक्ने सामर्थ्य नै थियो। आफू पनि सन्तानको आमा भएको यो मनले त्यो असह्य पीडालाई पचाउनै सकेन। बारम्बार फेसबुकमा लेखिरहें, ‘केटकेटीमाथि अन्धाधुन्ध गोली चलाउन कसरी सकेको, स्टप !’ ‘स्टप योर ब्रुटालिटी !’
आक्रोश र पीडाले असहाय भएको मन र मस्तिष्क स्तब्ध भएको थियो। फेरि लेखें, ‘हिजो पुतलीको कथा; आज १२ वर्षकालाई समेत गोली ! के बिगारेको थियो त्यो १२ वर्षको बच्चाले !’ सामाजिक सञ्जालमा १२ वर्षको बच्चालाई गोली लाग्यो भनेर कसैको पोस्ट देखेपछिको विक्षिप्त मनस्थितिको असहायपन थियो त्यो अभिव्यक्ति।
प्रदर्शनको दुइटा दृश्यले सिरिंग बनायो; फेरि लेखें, ‘कर्फ्युले केही दिनको समस्या समाधान होला; सत्तामा टिकिरहन पाइएला !’ तर, हिजोको दुइटा दृश्यको सम्झना छ ? पहिलो, छाती थापेर सेनाको ट्रकको अगाडि पुगेका/ट्रकको मुनि सुतेका ती युवाहरू। दोस्रो, छाती र अन्यत्र लागेको घाउ (गोलीको ?) मा पट्टी बाँधेर फेरि घटनास्थलमा आएर ऊर्जाका साथ भाषण गर्ने ती युवा।
तिनै हुन् ‘जेन-जी पुस्ता’ जो विसंगति विरुद्ध लड्न अगाडि आएका छन्। तिनका आँखामा हेर ! तर, शासकहरूलाई सत्तामा टिकिरहन्छु भन्ने भ्रम थियो। शासकका आउरेबाउरेले मुखैमा भने, अनि सरकारले नगर भनेको कुरा गरेपछि सरकार चुप लागेर बस्छ त ?
६ घन्टाभित्र १९ जनाको हत्या गरियो। त्यो हत्या नै थियो, किनकि ती नवयुवाहरू स्कूलको ड्रेसमा हात उठाउँदै हाँसी–हाँसी अगाडि बढिरहेका थिए। उनीहरूले केही बिगारेका थिएनन्।
‘जेन-जी’ को भीडमा मौकापरस्तहरू घुसे, उनीहरूले भेउ पाउने बित्तिकै आफ्ना साथीहरूलाई फर्कने आह्वान पनि गरेका हुन्; तर, आन्दोलन अर्कैको हातमा पुगिसकेको भान भयो।
बिचमा घुस्नेहरू को को थिए, त्यो त समयले बताउँदै जाला तर, दोस्रो दिन ठूलो विध्वंस भयो। कर्फ्यू तोड्दै टोल–टोलबाट जुलुस निस्कियो। सिंहदरबार जल्यो। सर्वोच्च अदालत जल्यो। थुप्रै सरकारी सम्पत्ति ध्वस्त भए। नेताहरू थुप्रैका घर जले, नेताका नामसँग जोडिएका घर मात्रै होइन; स्कूल, होटल, व्यापारिक स्टोर समेत जले।
सर्वसाधारणलाई त्यसरी सम्पत्ति नाश भएकोमा पीर देखिएन; उनीहरू त ठिक्क पर्यो ! को भाकामा रमाएर भिडियो खिच्दै पोस्ट गरिरहेका देखिन्थे। त्यति मात्रै होइन, टिकटकमा पोस्ट भएका भिडियोहरूमा ‘फलानाको घरमा पनि जाओ !
त्यो पनि भ्रष्टाचारी हो। त्यसको घर पनि जलाउनुपर्छ’ भन्दै आफ्नो आक्रोश पोखिरहेका थिए।
यो दिन, यत्तिकै आएको थिएन। तीस वर्षदेखिको राजनैतिक र नीतिगत भ्रष्टाचारले नेताहरूले थुपारेका अकुत सम्पत्ति, देश र जनताको दिन–प्रति–दिनको समस्या समाधान नहुँदा भोगेको नैराश्यता, देशमा रोजगारी सिर्जना नहुँदा घर–घरबाट खाडी, कतार, मलेशिया पुग्नुपर्दाको पीडा सबै समेटिएको थियो।
कारको झ्यालबाट बाहिर हेर्दा देखिएको दृश्यलाई आकलन गरेर सर्वसाधारण सुखी भएको देख्ने ती नजरहरूले भुइँमान्छे, जो हरेक दिनको श्रमले पेट पाल्छन्, उनीहरूको पीडा कहिल्यै बुझेनन्। कसैले, ती कुराहरू भन्ने साहस गर्दा, उनीहरू सत्ता विरोधीमा दरिए। आफूहरू, आफ्ना र आफ्ना धुपौरेहरू बाहेक सत्ता अरूको पहुँचमा नै भएन।
भदौ २४ गते मंगलवार नेताहरूको घर जलाइएको र देउवा दम्पतीमाथि गरिएको आक्रमण देखेर सन् २०१० मा टम हूपरले बनाएको चलचित्र, ‘ले मिजराबेला’ (Les Miserables) हेरेको याद आयो, जुन १९औं शताब्दीमा भएको फ्रान्सेली क्रान्तिमा आधारित थियो।
मन दुख्यो, एउटा वृद्ध अवस्थाको व्यक्तिलाई त्यसो गरिन हुन्नथ्यो। देशको बहालवाला परराष्ट्र मन्त्रीको पदमा रहिरहेको, पटक–पटक हिप सर्जरी समेत गरेको महिलालाई त्यसरी पिट्न हुन्नथ्यो।
तर, दुइटै हातमा खुकुरी नचाउँदै गएको त्यो क्रुद्ध भीडसँग प्रहरी र सेनाको त केही लागेन भने, अरू गएकै भए पनि कसरी जोगाउन सक्थे होलान् र ! धन्न २/४ जनामा मानवीयता रहेछ र ज्यान गएन। अरू भीड त रमाएको थियो; हौस्याउँदै थियो। किनकि, उनीहरूसँग चरम नैराश्यता भरिएको थियो। अझ, घरभित्रको पैसा र अन्य कुराहरू देखेपछि, कसको मनमा सहानुभूति जाग्यो होला र !
त्यो दृश्य हेरिरहँदा मनमा धेरै प्रश्न खेले, आखिर एउटै भएको छोरा त आपत् परेको बेलामा काम लागेनन् ! पैसा र सम्पत्ति त उनकै लागि जोडिदिएको होला ! कति मान्छेहरूले त्यो परिवारबाट लाभ उठाए होलान् ! को काम लाग्यो त ? सत्ता र शक्तिको अतिमोहबाट टाढा हुन नसक्दा, अब छोराको समेत भविष्य के होला ? अझ पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीलाई त घरभित्र हुँदै आगो लगाइदिए।
उपरोक्त सबै घटनाहरू अमानवीय थिए; त्यसलाई ठीक हो भनेर कसैले पनि समर्थन गर्नुहुन्न। तर, सर्वसाधारणमा किन त्यति धेरै आक्रोश बढेको रहेछ भनेर ध्यान दिनैपर्छ।
मान्छे मार्नु कहिल्यै पनि ठिक होइन, अझ त्यो पनि नेपाल जस्तो मानवअधिकारको पक्षधर भएको देशमा। न त, कसैको निजी निवास, व्यापारिक भवन र सरकारी सम्पत्ति स्वाहा पार्नु संवैधानिक प्रक्रिया हो। अब अहिले आएर, फेरि द्वन्द्व फैलाउन खोज्नु त झनै समय र देशलाई पछाडि धकेल्ने बाटो हो। १० वर्षको अवधिमा केवल तीन जनाको बीचमा प्रधानमन्त्रीको कुर्सीमा बस्न म्युजिकल चेयरको खेल भइरहेको थियो। इतिहासले पनि पत्याउन गाह्रो बनाउने गरी सत्ता परिवर्तन भयो।
सोमवार शान्तिपूर्ण प्रदर्शनको आह्वान गरियो। मंगलवार, जताततैको अराजक गतिविधिले विषम परिस्थितिको अवस्था खडा गर्यो। बुधवार, सामाजिक डिस्कर्ड लगायतका सामाजिक सञ्जालबाट अन्तरिम सरकारको प्रधानमन्त्री कसलाई बनाउने भनेर भोट गरियो। बिहीवार, सरकार गठन गर्ने कानूनी कुराहरूबारे छलफल भयो र शुक्रवार नयाँ प्रधानमन्त्रीले शपथ खानुभयो। यति छिटो सत्ता परिवर्तन कहाँ हुनसक्छ होला !
यहाँनिर एउटा स्मरणीय कुरा के छ भने, युवाहरूको रोजाइमा देशले पहिलो महिला प्रधानमन्त्री पायो। यो निर्णय, महिला नै हुनुपर्छ भनेर भएको होइन, संकटको घडीमा युवाहरूको आड, भरोसा र विश्वास लिएर देश अगाडि बढाउन सक्ने नेतृत्वमा उहाँ छानिनुभो।
मुलुक यस्तो संकटबाट गुज्रिरहेको बेलामा अगाडि बढ्न दिने कि, अझै पनि मेरो गोरुको बाह्रै टक्का गर्दै शान्ति खल्बल्याउन अघि सर्ने ? नेताहरूलाई त परेको बेलामा सेनाले कुखुराले चल्ला च्यापे झैं गरेर बचाउन लगिहाले, सर्वसाधारणको पीडा महसुस गरेका छौ ?
रातिको १० बज्ने बेलामा अगाडिको घरमा लागेको आगोको झिल्काले आफ्नो घर जल्ला र मरिएला भनेर चोकमा आएर बस्नेहरूको मनस्थिति महसुस गरेका छौ ? कति जनाले हाड घोटेर कमाएको सम्पत्ति तिमी नेताहरूको छिमेकी भएको कारणले वा पार्टीमा लागेकै कारणले मात्र पनि जलाएर नाङ्गेझार बनाइदिएको त लुकेर बसेको कुनाबाट हेर्दै बसेका थियौ होला !
कमसेकम अब अन्तरिम सरकारलाई चुनावसम्म काम गर्न दिन सक्दैनौ ? राजावादीहरूले, ‘राष्ट्रपतिलाई सेनाले तुरुन्तै अपदस्थ गरेर आफ्ने हातमा लिनुपर्थ्यो’ भन्दै अन्तर्वार्ता समेत दिएको तिमीहरूको कारणले होइन ? सेनालाई त धेरै धन्यवाद दिनुपर्छ जसले, पोल्टामा आइसकेको सत्तालाई सहजीकरण गर्दै फेरि जनतालाई नै फिर्ता दियो।
तिमीहरूले जोडेको कुवेरको ढुकुटीले कोही घाइतेलाई सहयोग गर भनेर बोल्यौ ? आफ्नो काख रित्याएका नवयुवाहरूको परिवारसँग माफी माग्यौ ?
यो लेखुन्जेलसम्म ७२ जनाको मृत्यु भएको खबर आइसकेको छ। सरकारका जिम्मेवारहरू त हेलिकप्टर चढेर भागे, आफ्नो आदेशले मारिएका परिवारसँग आँखा मिलाएर गल्तीको लागि माफी माग्नुपर्दैन ? अझै पनि पनि युवा पुस्ताको स्वतःस्फूर्त आन्दोलनलाई अनेक आरोप–प्रत्यारोप गर्दै खास्टोबाट मुख निकाल्दै म्याउँ गरिरहने ?
त्यस्तै हुती भए आगामी चुनावमा बहुमत ल्याएर देखाइदिनू नि ! सहादत हुनुभएका ‘जेन-जी’ पुस्ताका प्रत्येक नवयुवाप्रति माफी माग्दै, यहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु।
कमसेकम, यो समयमा कसैको कार्यकर्ता भएर होइन, जनता बनेर अगाडि आउनुस् र सकेको सहयोग गर्नुहोस् ! हालको अन्तरिम सरकारको टीम र नवयुवाहरूलाई अनेक लाञ्छना लगाएर होइन कि, उहाँहरूले गर्न लाग्नुभएको राम्रा कामको प्रशंसा र गलत भए आलोचना गर्नुहोस् !
जबसम्म यहाँहरू जनता मात्रै भएर बाँच्न सक्नुहुन्न, तबसम्म ठिक र बेठिक छुट्याउन गाह्रो हुन्छ। ‘जेन-जी’हरू पनि वाचडगको रूपमा चनाखो भएर बस्नुहोस्! हुनत, यहाँहरूको यति ठूलो नेटवर्किंग, जागरुकता र देशप्रतिको माया देखेर, हाम्रो पुस्ताले सिकाउनुपर्ने जस्तो लाग्दैन तर पनि, आमा पुस्ताको बानी छाड्न नसकिने रहेछ !
सबैभन्दा महत्वपूर्ण कुरा ती हत्यारा र भ्रष्टाचारीलाई कारबाही हुनैपर्छ। अहिले, सरकारलाई असहयोग गर्न एकजुट हुन लागेका ती समूहहरूले, फेरि सत्तामा फर्किउँला र छुट पाउँला भन्ने सोचेका होलान्, त्यस्तो हुन कदापि दिइनुहुन्न।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4