
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण नगर्ने निर्णयविरुद्ध निरन्तर लडिरहने घोषणा गरेकी छन्।
- भण्डारीले मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल समितिको कार्यालय थापागाउँमा उद्घाटन गर्दै पार्टीमा विकृति र विसंगतिविरुद्ध लडिरहने बताइन्।
- एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले भण्डारीविरुद्धको निर्णयमा फरक मत राख्दै नोट अफ डिसेन्ट तल्ला कमिटीमा पठाइदिन निवेदन दिएका छन्।
५ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा आउन रोक लगाउने र पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयविरुद्ध निरन्तर लडिरहने घोषणा गरेकी छन् ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल समितिको कार्यालय थापागाउँमा उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विकृति र विसंगतिविरुद्ध लडिरहने बताएकी हुन् ।
‘मलाई पार्टीले जिम्मेवारी देओस् कि नदेओस् त्यससँग सरोकार छैन, म नेकपा एमालेको सदस्य हुँ’ भण्डारीले भनिन्, ‘त्यो नाताले जे सिद्धान्त धारण गरेको छु, त्यसअनुसार काम गर्ने हो । पार्टीहरूमा विकृति विसंगति फैलिएको छ भने त्यो विकृति र विसंगतिका विरुद्ध पनि म निरन्तर लडिरहन्छु ।’
लगभग आधा घण्टाको सम्बोधनमा उनी पूर्वराष्ट्रपति भन्दा पनि एमालेका पूर्वउपाध्यक्षका हैसियतमा बढी सुनिइन् । मुलुकको समसामयिक समस्या सम्बोधनमा दलहरू चुकिरहेको, जनताका आकांक्षा सम्बोधन हुन नसकेको जस्ता तर्क गरेकी भण्डारीको मुख्य जोड एमालेभित्र विकसित राजनीतिक घटनाक्रममै केन्द्रित थियो ।
‘.मेरो संगठित सदस्यताकै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा म चाहिँ के भन्न चाहन्छु भने, नेकपा एमाले अहिले भयो । मैले माले कालदेखि नै सदस्यता लिएको हुँ’, भण्डारीले भनिन् । पार्टी सदस्यताकै सन्दर्भमा उनले आफ्नो राजनीतिक इतिहास सम्झेकी थिइन् ।
‘म राजनीतिक दलसँग आबद्ध भएर सुरु गर्दा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन । म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झडा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं’ उनले भनिन्, ‘विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो, हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं ।’
२०३७ सालमा पार्टी सदस्य लिएको ४५ वर्षपछि नवीकरण नहुने निर्णयकै कारण आफ्नो सक्रियता नरोकिने सन्देश भण्डारीले आज पनि सुनाइन् । यस्तो सन्देश ९ साउनमै सार्वजनिक गरेकी थिइन् । ६ साउनमा भएको एमाले बैठकको निर्णयविरुद्ध पत्रकार सम्मेलन गरी मदन भण्डारीबाट लिएको सदस्यता कसैले खान नसक्ने बताएकी थिइन् ।
उक्त घोषणा बमोजिम नै पूर्वराष्ट्रपति भण्डारीको गतिविधि चलिरहेको छ । गत २ भदौमा विराटनगर पुगेर सार्वजनिक कार्यक्रममा सहभागी बनेकी भण्डारीले राजधानीमा निरन्तर राजनीतिक भेटवार्ता गरिरहेकी छन् ।
थापागाउँमा उद्घाटन भएको यो कार्यालयको प्रयोजन पनि पूर्वराष्ट्रपति भण्डारीकै सक्रियतालाई व्यवस्थित गर्नु हो । भलै, कार्यालयको ब्यानर भिन्न छ ।
गत ३१ असारमा मदन भण्डारी फाउण्डेसन अन्तर्गत रहनेगरी बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा यो समिति गठन भएको थियो । जुन बेला विद्या भण्डारीबारे एमालेमा कुनै निर्णय भएको थिएन ।
यद्यपि, विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी थिइन् । मदन भण्डारीको ७४औं जन्मजयन्ती मनाउन गत १४ असारमा आयोजित कार्यक्रम मार्फत् विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
उक्त कार्यक्रमबाटै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत हुनेगरी मन्तव्य राखेका थिए । पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत गर्ने र आउन दिन नहुने मतले एमालेभित्र ठूलो रुप लिएको थियो ।
तर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीको सदस्यता नै नवीकरण नहुने र राजनीतिमा रोक लगाउने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गराए ।
पूर्वराष्ट्रपति भण्डारीबारे लिइएको निर्णयविरुद्ध पार्टीभित्र अहिले पनि एउटा हिस्सा लागिरहेकै छन् । बुधबार मात्र उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टीभित्र आफूहरूले राखेको नोट अफ डिसेन्टलाई तल्ला कमिटीमा छलफलका निम्ति पठाइदिन निवेदन दिएका छन् ।
विद्या भण्डारीबारे भएको निर्णयमा आफूहरूको फरक मत भएपनि अपानिमा समावेश नगरिएको भन्दै ज्ञवाली र पाण्डेले केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् । उनीहरू दुवै जना थापागाउँको कार्यालय उद्घाटनमा आज अतिथि थिए ।
अर्थात् विद्या भण्डारीलाई राजनीतिमा स्वागत गर्ने मतसहित पहिलोपटक उपाध्यक्षद्वय ज्ञवाली र पाण्डे सार्वजनिक भए । १४ असारको कार्यक्रममा ईश्वर पोखरल मात्र थिए । आज पोखरेलसँगै ज्ञवाली र पाण्डे पनि विद्या भण्डारीसँगै मञ्चमा सार्वजनिक भए ।
यद्यपि ज्ञवाली र पाण्डे पहिलेबाटै यो अभियानमा छन् । कर्ण थापा, विनोद ढकालहरू खुलेरै यो अभियानमा छन् ।
ईश्वर पोखरेलले देखेको खतरा
विद्या भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत गर्ने मध्येका शीर्ष नेता ईश्वर पोखरेलले आजको सम्बोधनमा जबजमाथि चुनौती रहेको विश्लेषण सुनाएका छन् ।
र त्यो चुनौती एमाले नेतृत्वबाटै रहेको पनि घुमाउरो संकेत गरे । ‘म सम्झन्छु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जुन बेला वास्तवमा विचारको प्रखरताको झण्डा बोकेर अघि बढ्नु भएको थियो’ पोखरेलले सम्झिए, ‘त्यसबेलादेखि नै मदन भण्डारी फाण्डेसन जोडिँदै आयो । उहाँको सामिप्यता पाएर फाउण्डेसनले महत्वपूर्ण भूमिका खेल्दै आयो ।’
केहीदिन अघि एक कार्यक्रम मार्फत् ओलीले मदन भण्डारी फाउण्डेसन ठगी खाने भाँडो बन्ने खतरा रहेको टिप्पणी गरेका थिए । यसको जवाफ हुनेगरी फाउण्डेसनको पृष्ठभूमिसँग ओलीलाई पोखरेलले जोडेको बुझ्न सकिन्छ ।
सँगै, जबजसँग मदन भण्डारीलाई अलग गर्ने प्रयत्नका विरुद्ध पनि पोखरेलले प्रतिवाद गरे । ‘कतिपयलाई जनताको बहुदलीय जनवाद मदन भण्डारीले सूत्रीकृत गरेको हो कि होइन भन्ने लागेको हुन सक्छ’ उनले भने, ‘तर म तपाईँहरू समक्ष भन्न चाहन्छु विचारको शुद्धीकरण जननेता मदन भण्डारीले सग्रतालाई ख्याल गरेरै गर्नुभएको हो ।’
१४ असारकै कार्यक्रममा ओलीले जबजको पृष्ठभूमि चौथो महाधिवेशन भएको र मदन भण्डारीलाई आफूहरूले महासचिव बनाएको बताएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने जबज र मदन भण्डारीबारे हुने टिप्पणी नौलो नरहेको तर्क गरे ।
जबज प्रस्तुत भइरहँदा पनि त्यसका विरुद्धमा आवाज उठेको र अहिले पनि चुनौती कायमै रहेको पोखरेलले बताए । ‘आज पनि प्रश्नहरू उठ्न सक्छ यो विचारका विरुद्धमा, यो विचारलाई क्षतिग्रस्त बनाउनेगरी कुरा उठ्न सक्छ’ पोखरेलले आग्रह गरे, ‘विचारको टोपी लगाउनेहरू मात्रै विचारका सम्वाहक हुन् भन्ने ठान्ने भूल गर्न हुन्न ।’
जबज, मदन भण्डारी र एमालेको सन्दर्भ उठाएर पोखरेलले पार्टीभित्रको परिस्थितिलाई व्याख्या गर्न खोजेका थिए । उनको आग्रह भने लुकेको थिएन । विद्या भण्डारीबारे भएको निर्णय सच्याउने अभियानमा लागेकाहरूलाई पोखरेलले उर्जा भर्न खोजेका थिए ।
‘चुनौतीको सामना गरेर अगाडि बढ्नुको कुनै विकल्प छैन । म एमालेका तर्फबाट भन्न चाहन्छु, चुनौतीहरू आए अप्ठ्याराहरू आए, अबगालहरू आए भनेर अलिकति पनि मनोबल कमजोर बनाउनु हुँदैन’ उनले भने, ‘अलिकति पनि मनोबल कमजोर बनाउन दिन हुँदैन । यो अहिलेको आवश्यकता हो ।’
प्रतिक्रिया 4