+
+
Shares

खोइ, राजनीति कहाँ छ?

खासमा, अहिले राजनीति हराएको छ। यहाँ त केवल लोकप्रियतावाद, अतिवाद, गुटनीति, शंका, गालीगलौज, घृणा, मनोमानी, आरोप-प्रत्यारोप, नैराश्यता सम्प्रेषण आदित्यादि मात्रै छन्।

डा. सन्जिब हुमागाईं डा. सन्जिब हुमागाईं
२०८२ साउन २५ गते ९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खासमा नेपालमा अहिले राजनीति हराएको छ र जताततै राजनीति नभएर दलीयकरण भएको छ ।
  • हामीले प्रश्न गर्न थाल्यौं भने मात्रै छुट्याउन सक्छौं, कहाँ राजनीति छ, कहाँ छैन ?
  • हाल नेपाली राजनीतिमा लोकप्रियतावाद, अतिवाद, गुटनीति र आरोप-प्रत्यारोप बढी छन् र यस्ता महामारी उन्मूलन गर्नुपर्ने छ।
  • राजनीतिलाई द्वन्द्व व्यवस्थापन, समस्या समाधान र बहुविध पात्रको सहअस्तित्व खोजीको रूपमा परिभाषित गर्न सकिन्छ।

जताततै राजनीति मात्रै छ। यो नेपाली समाजमा नैराश्यता फैलाउने एक प्रमुख अभिव्यक्ति हो। एकातर्फ यो वाक्य आफैंमा सत्य होइन। त्यति मात्रै होइन, यस्ता शब्दावलीको निरन्तर प्रयोगले राज्य सञ्चालन र सुशासन सम्बन्धी बहसलाई अत्यन्त साँघुरो बनाउँदै लगेको छ। यसले लोकप्रियतावादलाई मलजल गरिरहेको छ। हामी एकपछि अर्का पात्रहरूको परीक्षण गर्ने पङ्क्तिमा बसेका छौं।

सबैभन्दा पहिले एउटा विषय स्पष्ट पारौं। हाम्रो देशमा जताततै राजनीति भएको होइन, धेरै सामाजिक क्षेत्रको दलीयकरण मात्रै भएको हो। समाजका धेरै क्षेत्रमा बहुसंख्यक सदस्यहरू दलीय पहिचानका आधारमा विभाजित छन्। उनीहरूको प्रायः सबै सहकार्य र प्रतिस्पर्धा दलीय पहिचानको आधारमा हुन्छ। तर, यस्तो प्रतिस्पर्धा वा सहकार्यमा दलका सदस्य बाहेक अरूको सहभागिता न्यून हुन्छ।

नदेखिने दलीय आधिपत्यता हुन्छ। दुःखका साथ स्वीकार गर्नुपर्दछ, यसमा नयाँ वा पुराना दल तात्विक रूपमा फरक छैनन्। गाउँको खानेपानी उपभोक्ता समितिको निर्वाचनमा कुन दलको गठबन्धनले जित्यो, राष्ट्रिय समाचार बन्छ। यस्तो अवस्थालाई व्याख्या गर्न हामीले हरेक ठाउँमा ‘राजनीति भयो’ भन्ने गरेका छौं।

खासमा राजनीति के हो? राजनीति र अन्य नीति बीच के भिन्नता छ? राम्रोसँग राजनीति हुँदा र नहुँदाको स्वरूप कसरी फरक हुन्छन्? नेपाली समाजमा यस्ता तमाम आधारभूत सैद्धान्तिक प्रश्न उपरको छलफलको आवश्यकता हिजो पनि नैराश्य थियो र आज पनि। हामीसँग स्पष्ट परिभाषा र मापदण्ड नहुँदा जसले जे गरे पनि राजनीति देखिने अवस्था सिर्जना भयो।

हाम्रो सन्दर्भमा राजनीतिलाई परिभाषित गर्न अर्को अप्ठ्यारो पनि रहेको छ। जहिले पनि, जस्तोसुकै जटिल विषयको एउटा साझा परिभाषा खोज्नु हाम्रो आधुनिक विशेषता नै बनेको छ। खासमा नेपाली समाजको दुःखको एउटा मूल कारण पनि यही हो। हामी विविधतालाई मनभित्रबाट स्वीकार गर्दैनौं। हरेक विषय र पात्रको एकै स्वरूप खोजे पछि दुःख त हुने नै भयो।

त्यसैले राजनीतिको पनि एउटै परिभाषा खोज्ने प्रयास गरिन्छ। तर दार्शनिकहरूले राजनीतिका सम्बन्धमा विभिन्न परिभाषा दिएका छन्। राजनीतिको स्वरूप र ध्येयका आधारमा व्यक्ति, समाज र राष्ट्रप्रतिको बुझाइ पनि फरक–फरक हुन्छ। तिनीहरूका सम्बन्ध र प्राथमिकताका बारेमा पनि पृथक् धारणा विकसित हुन्छन्।

यो दुष्चक्रबाट बाहिर आउनुपर्दछ। म एक सचेत नागरिक हुँ भने के राजनीतिक हो र के गैरराजनीतिक हो स्पष्ट छुट्याएर आफ्नो धारणा राख्नुपर्दछ

अमेरिकी राजनीतिशास्त्री हेराल्ड लासवेल र जर्मनी मूलकी अमेरिकी राजनीतिक सिद्धान्तकार (उनी आफैंले आफूलाई राजनीतिक दार्शनिक भन्न नरुचाउने बताएकी छन्) हाना आरेन्टको दुई पृथक् ध्रुवमा केन्द्रित परिभाषाहरूलाई तुलना गर्दा राजनीति के हो भन्ने बारेमा हाम्रो आफ्नै परिभाषा वा दृष्टिकोण विकास गर्न सहज होला जस्तो लाग्छ।

लासवेलका अनुसार राजनीतिले ‘कसले, कहिले र कसरी के प्राप्त गर्ने’ लाई निर्धारण गर्दछ। राज्य सञ्चालन गर्दा धेरै विषयहरू वितरण गर्नुपर्ने हुन्छ। शक्ति, सम्पत्ति, सेवा आदि-आदि। ती सबै विषयलाई कसरी वितरण गर्ने भन्ने सिद्धान्त हो राजनीति।

हरेक नागरिकको गुणस्तरीय जीवन जिउने अधिकार सुनिश्चित गर्ने सिलसिलमा आउन सक्ने द्वन्द्वको व्यवस्थापन गर्नु नै राजनीतिको प्रमुख उद्देश्य हुन आउँछ। द्वन्द्वको प्रकृतिहरू समय कालखण्डसँगै बदलिंदै जान्छन् अनि राजनीतिको स्वरूप पनि।

त्यस्तै, अर्का नाम चलेका अमेरिकी राजनीतिशास्त्री डेभिड इस्टनका अनुसार राजनीति भनेको ‘सामाजिक मूल्यको आधिकारिक वितरण’ हो। हरेक समाजमा शक्ति, पैसा वा प्रतिष्ठा जस्ता विषयहरू दुर्लभ हुन्छन्। समाजका हरेक सदस्यहरू यस्ता मूल्य धेरैभन्दा धेरै प्राप्त गर्ने इच्छा राख्छन्। हो, राजनीति त्यसैको व्यवस्थापन हो। यस अर्थमा राजनीतिले भौतिक स्रोत मात्रै होइन सामाजिक मूल्यको वितरणसम्म व्यवस्थापन गर्नुपर्दछ।

दुई अमेरिकी राजनीतिशास्त्री स्कट आडर्लर र जोन विल्कर्सनले यस विषयमा थप सिधा धारणा राखेका छन्। राजनीतिको प्रमुख काम भनेको ‘समाजका समस्याहरूलाई समाधान’ गर्ने हो।

माथिका परिभाषाहरू मूलतः प्रकार्यवाद अर्थात् फङ्सनल दृष्टिकोणमा आधारित छन्। यहाँ राजनीतिले वितरण वा व्यस्थापन गर्नुपर्ने विषयहरूलाई निर्धारित हुन्छन्। जुन-जुन क्षेत्रमा समस्या छन् राजनीति त्यसको समाधानमा केन्द्रित भए पुग्छ। राजनीतिको दुई प्रमुख उद्देश्य हुने भए— पहिलो, द्वन्द्व व्यवस्थापन र दोस्रो, समस्या समाधान।

हाना आरेन्ट राजनीतिलाई परिभाषित गर्ने अर्को ध्रुवको प्रतिनिधिमूलक सिद्धान्तकार हुन्। उनका अनुसार राजनीति मानिसहरू फरक हुन्छन् भन्ने तथ्यको स्वीकारोक्तिबाट शुरु हुन्छ। तसर्थ त्यस्ता ‘फरक व्यक्तिहरूको सहअस्तित्व र संघ के-कसरी निर्माण गर्न सकिन्छ’मा राजनीति केन्द्रित रहन्छ।

प्रश्न गरौं, कुन पात्र, समूह वा संस्था यस्ता आधारभूत र अत्यावश्यक सिद्धान्तप्रति इमानदार देखिन्छन् ? अनि हामी छुट्याउन सक्छौं, कहाँ राजनीति छ, कहाँ छैन ?

त्यस्तै, बेलायती राजनीतिशास्त्री बनार्ड क्रिकका अनुसार राजनीतिमा भनेको ‘मसँग विमति राख्ने व्यक्तिहरूको विचार राम्रोसँग सुन्ने र बुझाउने, सहमति गर्ने’ काम गरिन्छ।

प्रकार्यवादका परिभाषाहरू मुद्दा केन्द्रित थिए भने हाना आरेन्ट लगायतका सिद्धान्तकारहरूले बहुआयामिक पात्र र उनीहरूका सम्बन्धहरूलाई विशेष प्राथमिकता दिएका छन्। सँगसँगै, आफ्नो समस्या समाधान गर्ने संघ पनि आफैं निर्णय गर्ने विषयलाई पनि उच्च प्राथमिकता दिएका छन्। राजनीति भनेको पहिला नै उद्देश्य निर्धारण गरेर गरिने गतिविधि होइन सम्बन्धित विषयका सरोकारवालाहरूको सघन छलफल र संवादबाट उद्देश्य, विधि निर्धारण गर्ने र सोको कार्यान्वयन गर्नु हो।

सबैभन्दा पहिला असल नागरिक “म” स्पष्ट हुनुपर्‍यो : मेरो राजनीतिको परिभाषा के हो? अझ सिधा सोध्ने हो भने: माथि उल्लिखित दुई पृथक् ध्रुवमध्ये तपाईंले आफूलाई कता नजिक रहेको ठान्नुहुन्छ? जब हामी आफैं राजनीतिको बारेमा स्पष्ट हुन्छौ तब मात्रै अहिलेको राजनीति सही दिशामा छ कि गलत भनेर मूल्यांकन गर्ने आधार तयार हुन्छ। राजनीतिले हाम्रो दैनिक जीवनको हरेक पाटोमा प्रभाव पार्ने हुँदा हामी सबैले यसमा चासो राख्नुपर्दछ।

फेरि हाम्रो मूल प्रश्नमा फर्कौं। हामीले जहाँ पनि राजनीति छ भन्दा कुन राजनीति छ भनेका हौं? यदि हामीले माथिको परिभाषामा समेट्न कठिन हुने अरू कुनै उप-प्रकारको राजनीति छ भनेका हौं भने खासमा यहाँ राजनीति नै छैन अन्य नीतिको राज छ भनेका हौं। त्यो अल्प राजनीतिक गतिविधिलाई यदि हामीले पूर्ण राजनीतिक हो भनेर प्रमाणित गरिदिएका हौं। वैधानिकता दिएका हौं।

यो दुष्चक्रबाट बाहिर आउनुपर्दछ। म एक सचेत नागरिक हुँ भने के राजनीतिक हो र के गैरराजनीतिक हो स्पष्ट छुट्याएर आफ्नो धारणा राख्नुपर्दछ। द्वन्द्व व्यवस्थापन, समस्या समाधान, विविधता भित्रको सहअस्तित्वको खोजी वा मसँग विमति राख्ने व्यक्तिहरूको विचार राम्रोसँग सुन्ने र बुझाउने, सहमति केन्द्रित नभएका गतिविधि माथि प्रश्न उठाउनुपर्दछ।

खासमा, अहिले राजनीति हराएको छ। यहाँ त केवल लोकप्रियतावाद, अतिवाद, गुटनीति, शंका, गालीगलौज, घृणा, मनोमानी, आरोप-प्रत्यारोप, नैराश्यता सम्प्रेषण आदिआदि मात्रै छन्। यी सबै असल राजनीतिका लागि घातक रोगहरूका लक्षण हुन्। कत्ति पनि ढिला नगरी यस्ता महामारी उन्मूलन गर्नुपर्दछ।

हामी जुन वादी भए पनि सामाजिक एवं राजनीतिक समस्याको बारेमा निरन्तरको संवादबाट सरोकारवालाहरू बीचको विचारको दूरी घटाई सहमति निर्माण गर्नु राजनीतिको पहिलो र सबैभन्दा महत्वपूर्ण भूमिका हो भन्नेमा सहमत हुनुपर्दछ। जब समस्याको बारेमा सहमति हुन्छ तब मात्र समाधानको प्रक्रिया सुरु हुन्छ। के आज नेपाली समाज र राजनीतिमा प्रमुख समस्याको बारेमा साझा धारणा छन्?

आफ्ना फरक धारणालाई राख्दै सहमतिको ढोकालाई सधैं खुला राख्नु राजनीतिक व्यक्ति र समूहको प्रमुख धर्म हो। प्रश्न गरौं, कुन पात्र, समूह वा संस्था यस्ता आधारभूत र अत्यावश्यक सिद्धान्तप्रति इमानदार देखिन्छन् ? अनि हामी छुट्याउन सक्छौं, कहाँ राजनीति छ, कहाँ छैन ?

लेखक
डा. सन्जिब हुमागाईं

दक्षिण कोरियाको यान्से विश्वविद्यालयबाट अर्थराजनीतिमा विद्यावारिधि गरेका हुमागाईं त्रिभुवन विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयमा एमफिल तथा पीएचडी कार्यक्रममा राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त प्राध्यापन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?