Comments Add Comment

प्रहरी कार्यालय पुगेर ‘भाउजू मारेर आएँ’ भनेपछि…

काठमाडौं प्रहरीको थुनुवा कक्ष अगाडिको तस्वीर । फाइल फोटो ।

५ वैशाख, काठमाडौं । शनिबार राति ८ बजे टेकुस्थित काठमाडौं प्रहरी कार्यालय सुनसान भइसकेको थियो, एउटा ट्याक्सी बत्ती बाल्दै गेटबाट भित्र छिर्‍यो ।

ट्याक्सीमा सवार व्यक्ति हतास मनस्थितिमा आउँदै गरेको देखेपछि ड्यूटी अफिसरले रोकेर सोधपुछ गरे । उनले एक वाक्यको जवाफ फर्काए, ‘भाउजू मारेर आएको हुँ ।’ ड्यूटी अफिसरमार्फत यो खबर काठमाडौं प्रहरी प्रमुख अशोक सिंहसम्म पुग्यो ।

‘बेलुका ७ः२० तिर बानेश्वरको बुलबुले मार्गमा एक महिलाको हत्या भएको पहिल्यै जानकारी आइसकेको थियो’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले अनलाइनखबरसँग भने, ‘फेरि बानेश्वरबाट आएको भनेपछि त्यही केसको होला भन्ने भइहाल्यो ।’

सोधपुछका क्रममा उनी ४८ वर्षीय मोहन राजभण्डारी भएको खुलेको सिंहले बताए । उनले भाउजु ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरेर आएको समेत बयान दिएको सिंहले सुनाए ।

बानेश्वर प्रहरीले खोजिरहँदा टेकुमा आत्मसमर्पण

प्रहरी वृत्त बानेश्वरका प्रमुख दक्षबहादुर बस्नेत चाहिँ हत्याबारे सूचना पाएलगत्तै आफूहरु मुचुल्का गरेर देवर भण्डारीको खोजीमा जुटिसकेको बताउँछन् ।

‘उनको खोजी गरिरहेका वेला आफैं टेकु पुगेको खबर आयो’, बस्नेतले अनलाइनखबरसँग भने, ‘लामो समयदेखि दुईजनाबीच विवाद भइरहेको थाहा पाएपछि उनको खोजी गरेका थियौं ।’

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका भण्डारीले भाउजू पसलमा तरकारी लिन गएर फर्किँदा फलामको रड (खन्ती) ले हिर्काएका थिए । घटना भएलत्तगै रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर, केहीबेरमै चिकित्सकहरुले मृत घोषणा गरे ।

पक्राउ परेका मोहनलाई अहिले प्रहरी वृत्त वानेश्वरको हिरासतमा राखिएको छ । ‘ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं,’ डीएसपी बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment