Comments Add Comment

राजकुमार भन्छन् : गीत लेख्ने मात्रै गरेको भए टिक्ने थिइनँ

गीतकार तथा संगीतकार राजकुमार बगरले गीत लेखेर मात्रै बाँच्न सक्ने अवस्था सिर्जना नभइसकेको बताएका छन् । उनी अहिलेपनि अधिकांश गीतकारहरु अन्य कुनै न कुनै पेसा, व्यवसायमा संलग्न रहेको बताउँछन् ।

अनलाइनखबरसँग कुरा गर्दै बगरले भने, –‘गीत लेखेर मात्रै कोही पनि टिकिरहेजस्तो लाग्दैन । उहाँहरु गीत लेख्नेसँगै अन्य पेसा, व्यवसाय गरिरहनुभएको छ ।’

उनले आफू पनि स्टुडियो नखोलेको र संगीतकार नबनेको भए सांगीतिक क्षेत्रबाट हराइसक्ने बताउँछन् । ‘गीत लेखेर मात्र आर्थिक रूपमा केही हुँदोरहेनछ भन्ने चिन्ता सुरुमा लागेको थियो’ उनले भने, ‘स्टुडियो खोलेँ, संगीत भर्न थालेँ । अनि मात्र सहज भयो ।’

उनका अनुसार सुरुवाती दिनमा गीतकारलाई पारिश्रमिक दिनुपर्छ–लिनुपर्छ भन्ने संस्कार नै थिएन । अझ आधुनिक विधामा हुनेखानेहरू गीत लेख्थे । उनीहरु राम्रो संगीतकारलाई संगीत भरिदिन, गायकलाई गीत गाइदिन भन्थे । ‘लेख्नेहरु अन्य पेसा/व्यवसायमा आबद्ध हुन्थे । उनीहरुमा आफ्नो सिर्जना बिनामूल्य अरूलाई दिनु हुँदैन भन्ने मान्यता थिएन ।’ उनले भने ‘गीत नि:शुल्क दिइन्थ्यो । त्यसकारण व्यावसायिक संस्कार बस्नै लामो समय लाग्यो ।’

अहिले गीतकारलाई पारिश्रमिक दिन थालिए पनि खुलेर भने नदिने गरेको उनको गुनासो छ । म्युजिक भिडियो र मोडलको लागि लाखौं खर्चिनेहरू गीतकारलाई पारिश्रमिक दिन गाह्रो मान्ने गरेको उनी बताउँछन् । सांगीतिक क्षेत्रमा मात्रै आबद्ध भएर जीविकोपार्जन गर्ने संगीतकारहरु भने प्रसस्तै रहेको बगरले बताए । आफूपनि हिजोआज गीत लेख्नेभन्दा संगीत भर्ने काममा बढी सक्रिय रहेको उनी बताउँछन् ।

दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय बगरका थुप्रै लोकदोहोरी तथा आधुनिक गीतहरु चर्चित छन् । ‘उडेर जुन छुन्छु भन्थेँ’, ‘आमा ! रातो सारी चुरा पोते किन नला’को’, ‘मिर्मिरेको घाम’, ‘मनको देउतैले’, ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि’, ‘तिमी छौ र पो हाँसेको छु म’ जस्ता गीतहरु उनका चर्चित गीतहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment