Comments Add Comment

कोभिड-१९ को दोस्रो लहर : खाद्य उद्योग र व्यापारमा स्वास्थ्य सुरक्षा मापदण्ड तोकियो

५ वैशाख, काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसंगै पुनः लकडाउन तथा निषेधाज्ञाको मनोविज्ञान सर्वत्र छाएको छ । महामारीको अनुभव नभएका कारण यसअघि ठूलो क्षति व्यहोरोका उद्योगी/व्यवसायी दोस्रो लहरको प्रभावलाई लिएर थप चिन्तित छन् ।

कर्मचारीलाई सुरक्षित राख्दै उद्योग र व्यवसाय सञ्चालन कसरी गर्ने भन्नेबारे उनीहरूमा चिन्ता बढिरहेका बेला उत्पादन, आपूर्ति र वितरण प्रणालीमा महामारीको असर कम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयारी थालेको छ ।

विभागले खाद्य उत्पादन तथा वितरणमा सहभागी हुने व्यवसायी र कर्मचारीको सुरक्षा उपायबारे छलफल शुरु गरेको जनाएको छ । गत वर्ष विभागले जारी गरेको मापदण्ड पूर्ण कार्यान्वयन गर्ने र आवश्यक परे उक्त मापदण्ड संशोधन गर्ने विभागका महानिर्देशक उपेन्द्र रायले अनलाइनखबरलाई बताए ।

‘आपतकालीन अवस्थाअनुसार केही फेरबदल गर्नु अलग कुरा भएपनि हाललाई पुरानै प्रोटोकललाई पूर्ण कार्यान्वयन गर्नेगरी छलफल अघि बढाएका छौं । केही दिनमा प्रोटोकल पालनाका लागि सरकारको आदेश हुनेछ’, महानिर्देशक रायले भने ।

स्वस्थ्याको न्युनतम् मापदण्ड पालना गर्दै उत्पादन, आपूर्ति र वितरण प्रणालीमा कसैगरी पनि प्रभाव पर्न नदिने सरकारको तयारी छ । त्यसका लागि खाद्य उत्पादन, भण्डारण, ढुवानी तथा वितरणमा सहभागी हुनेलाई सावधान रहन आग्रह गरिएको महानिर्देशक रायले बताए ।

विभागको प्रोटोकलअनुसार उत्पादनमा आधारित उद्योग, सम्पूर्ण वितरण प्रणाली र रेष्टुरेन्ट व्यवसाय पनि कोभिड महामारीमा सुरक्षाको उपाय अबलम्बन गरेर सञ्चालन गर्न सकिन्छ ।

विभागले उद्योग तथा व्यवसाय सञ्चालनका लागि कामदार र कर्मचारीहरूको स्वास्थ्य सुनिश्चिततालाई पहिलो प्राथमिकतामा राखेको छ । उनीहरूको सुरक्षाबिना उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले महाहारीकै बीचमा पनि सेवा प्रवाह दुरुस्त बनाउन नौ बुँदामा कर्मचारीको स्वास्थ्य प्रोटोकल विभागले बनाएको छ ।

महानिर्देशक उपेन्द्र राय भन्छन्– आपतकालीन अवस्थाअनुसार केही फेरबदल गर्नु अलग कुरा भए पनि हाललाई पुरानै प्रोटोकललाई पूर्ण कार्यान्वयन गर्नेगरी छलफल अघि बढाएका छौं ।
  • प्रि स्क्रिन टेष्ट गर्ने, शरीरको तापक्रम नाप्ने, गुणस्तरीय मास्कको प्रयोग अनिवार्य गर्ने, कामदारहरूको लक्षणको पहिचान गर्ने ।
  • कर्मचारी वा कामदारलाई कम्तीमा २० सेकेन्ड साबुन र सफा पानीले पटक पटक हात धुन लगाउने तथा सेनिटाइजर प्रयोग गर्ने ।
  • कार्यक्षेत्र सरसफाइ गरी डिस इन्फेक्ट गर्ने, काममा प्रयोग हुने सामग्री पनि पटक पटक सफा गर्ने ।
  • कामदारले मास्क प्रयोग गर्ने र अन्य कामदारसँग कम्तीमा ६ फिटको दुरी कायम राख्ने ।
  • कोभिड– १९ रोगसँग सम्बन्धित जानकारी र काम गर्दा अपनाउनुपर्ने सावधानीसम्बन्धी अन्य जानकारीका लागि आधिकारिक निकायले दिएका निर्देशन पालना गर्ने गराउने ।
  • कोभिडका लक्षणबारे सबै कामदार एवं कर्मचारीहरूलाई सुसूचित गराउने ।
  • कोभिडसँग सम्बन्धित लक्षणहरू देखा परेमा सुपरभाइजरलाई जानकारी गराउने र बिरामी कर्मचारीलाई तत्काल स्वस्थ्य परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सजगता अपनाउन निर्देशन दिने ।
  • कामदार वा कर्मचारीलाई कोभिड लक्षण देखिएमा उक्त कामदारको सम्पर्कमा आएको क्षेत्रको डिस्इन्फेक्ट गर्ने र अन्य कामदारहरूको पनि स्वस्थ्य परीक्षण गर्ने ।
  • कुनै पनि संक्रामक रोगका लक्षण देखिएका कामदारलाई काममा नलगाउने ।

व्यक्तिगत सरसफाइ

व्यवसायिक प्रतिष्ठान वा उद्योगले अपनाउने विविध उपायका बाबजुद कोरोनासंग जुध्न त्यस क्षेत्रमा काम गर्ने कर्मचारीले पनि सतर्कता अपनाउनुपर्ने विभागको प्रोटोकलमा उल्लेख छ । जसअनुसार कामदार वा कर्मचारीले व्यक्तिगत व्यवहारमा अपनाउनुपर्ने सावधानीको नियम पनि बनाइएको छ ।

  • खाद्य पदार्थ तयार पार्नु वा परिचालन गर्नुअघि, खोकी वा हाच्छ्यूँ गरेपछि, शौचालयको प्रयोग पछि ढोका, टेबल, पैसा छोएपछि अन्य कुनै सामान समाएपछि, खाना खानुअघि कामदारलाई कम्तीमा २० सेकेण्ड साबुन पानीले हात धुन लगाउने तथा सेनिटाइजरको प्रयोग गर्ने ।
  • आँखा, कान, मुख तथा अन्य अंग छुने, चलाउने कार्य नगर्ने, यदि छोएमा तुरुन्त साबुन पानीले हात धुने ।
  • तयारी खाद्य पदार्थ परिचालन गर्दा पञ्जा,मास्क र अन्य सुरक्षा प्रदान गर्ने सामग्रीको प्रयोग गर्ने ।
  • खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु वा रुमालले नाक, मुख छोप्ने र टस्यु डस्टबिनमा फालेर सफा साबुन पानीले हात धुने ।
  • कार्यस्थलमा संक्रमणको जोखिम कम गर्न सकेसम्म थोरै कामदारको समूह बनाई एक अर्का बीचको दुरी कम्तीमा ६ फिट कायम गर्ने ।
  • आफूले काम गर्ने क्षेत्र सधैं सफा राख्ने, डिस इनफेक्ट गर्ने र काममा प्रयोग हुने सामग्री पनि पटक पटक सफा गर्ने ।
  • व्यक्तिगत सुरक्षा कायम राख्न मेसिनरी औजार, धेरै छुने सम्पर्कमा आउने जस्तै ढोका, डोरबेल, बिल भक्तानी गर्ने काउन्टर, टच प्याड, सवारी साधन आदि सेनिटाइजरको प्रयोग गरी पटक पटक डिसइन्फेक्ट गर्ने ।

खाद्य उत्पादक र वितरकले के गर्ने ?

कोरोना महामारीकै बीचमा पनि खाद्य पदार्थको चेन टुट्न नदिन विभागले यस क्षेत्रमा स्वास्थ्य प्रोटोकल बनाएको छ ।

यदि ती निकायहरूले जिम्मेवारपूर्ण ढंगबाट स्वास्थ्य मापदण्ड पालना गरे व्यवसाय पनि नडुब्ने र खाद्य श्रृङ्खला पनि नटुट्ने विभागको ठम्याइ छ ।

जसअनुसार खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरू, प्रशोधन गर्ने केन्द्र तथा भण्डारण स्टोर, ढुवानी र बिक्री वितरण गर्ने होटल रेष्टुरेण्टले पालना गर्नुपर्ने मापदण्डको सूची बनाएको छ ।

  • विश्व स्वास्थ्य संगठनको खाद्य स्वच्छताका पाँच सन्देश : सरसफाइ राख्ने, स्वच्छ पानी र खाद्य वस्तु मात्र प्रयोग गर्ने, राम्ररी पकाउने, पकाएको र नपकाएको खाद्य वस्तुलाई छुट्टाछुट्टै राख्ने र खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने ।
  • खाद्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउने सतह, भाँडावर्तन, खाद्य पदार्थ तयार गर्ने सतह आदि प्रयोग पश्चात राम्ररी धुने र सफा तथा सुख्खा राख्ने ।
  • प्याकेजिङ नगरिएका खुल्ला रुपमा राखिएका खाद्य पदार्थहरू हात नधोई नचलाउने ।
  • उपभोक्ता/ग्राहकद्वारा छोइने ठाउँहरू जस्तै ढोकाको ह्याण्डल, उपकरण, टेबल, सामान राख्ने कार्ट, चेक आउट काउण्टरहरू सेनिटाइजरको प्रयोगगरी पटक पटक डिस्इनफेक्ट गर्ने ।
  • सेनिटाइजर प्रयोग गर्दा लेबलमा दिइएको निर्देशन अनुरुप गर्ने ।

होटल/रेष्टुरेन्टले ध्यान दिनुपर्ने कुरा

कोभिड महामारीको अवस्थामा होटल तथा रेष्टुरेण्टहरूले सामान्य अवस्थामा गरेको क्रियाकलापमा केही परिमार्जन गर्नु पर्ने विभागको मापदण्डमा उल्लेख छ । जसअनुसार खानालाई पकाउने र तापक्रममा राख्ने विषय प्रमुख छ ।

  • राम्ररी पाकेको खाद्य पदार्थ मात्रै उपलब्ध गराउने ।
  • पकाएको खानेकुरा सामान्य तापक्रममा २ घण्टा भन्दा बढी नराख्ने ।
  • पकाएको वा चाँडै बिग्रने खानालाई ५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा रेफ्रिजेरेटरमा राख्ने ।
  • खाना पस्किँदा खानाको तापक्रम ६० डिग्री सेल्सियस भन्द बढी हुनुपर्ने ।
  • लामो समयसम्म जोखिमपूर्ण तापक्रम (५ देखि ६० डिग्री सेल्सियस) मा खाद्य पदार्थ भण्डारण नगर्ने ।
  • खाद्य पदार्थ परिचालनमा संलग्न कर्मचारी वा कामदारलाई खाद्य स्वच्छता र खाद्य पदार्थ परिचालनका सुरक्षित विधि सम्बन्धि तालिम दिने ।

ग्राहकलाई कस्तो मापदण्ड ?

कोभिड महामारीका बेला पनि सेवा निरन्तर गर्न चाहने होटल रेष्टुरेण्टले ग्राहकको स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने विभागले बनाएको प्रोटोकलमा छ । जसअनुसार ग्राहकका लागि निश्चित शर्तहरू छन् ।

  • सबै ग्राहकका लागि एउटै भाँडा, वर्तन वा डिस्पेन्सर प्रयोग हुने सेवा जस्तै सलाद बार, बफे, पेय पदार्थ स्टेशनहरू बन्द गर्ने ।
  • खाद्य पदार्थ व बिल भुक्तानीका लागि लाइन बस्दा ग्राहकहरूबीचको आवश्यक भौतिक दुरी कायम राख्ने ।
  • ग्राहकलाई खाद्यान्न भण्डारण तथा खुद्रा पसल, होटल, रेष्टुरेन्टहरूमा घर पलुवा जनवार ल्याउन रोक लगाउने/दुरुत्साहन गर्ने ।
  • ग्राहकहरूका लागि हात धुने साबुन र सफा पानी एवं सेनिटाइजरको व्यवस्था गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment