Comments Add Comment

नेपालमा फिटनेस सेन्टर धाउनेमध्ये आधाको लक्ष्य ‘आकर्षक शरीर’ निर्माण

व्यक्ति शारीरिक अभ्यासको लागि फिटनेस सेन्टर किन जान्छन् ? हल्का शारीरिक अभ्यासको लागि घरमै पनि पर्याप्त हुन्छ भन्ने हुँदाहुँदै पनि मान्छे फिटनेस सेन्टर नै जानुको पछि छुट्टै कारणहरू छन् ।

डिल्लीबजार कालिकास्थानमा रहेको फिटनेस च्वाइस नेपालका सञ्चालक उद्धव सिलवालका अनुसार फिटनेस सेन्टरमा आउनेमध्ये ५० प्रतिशत सहभागीहरू खाइलाग्दो र सुन्दर शरीर निर्माणको लागि आउने गर्छन् । उनीहरूले भर्ना गर्ने बेलामा नै सोही अनुसारको उद्देश्य बताएर सोही अनुसारको अभ्यास विधि अपनाउने गर्छन् । बाँकी रहेकोमध्ये ३० प्रतिशतले स्वास्थ्यलाई ख्याल गरेर जिममा भर्ना हुने गरेका छन् भने २० प्रतिशत घरमा बस्दा बस्दा अल्छीभइन्छ भनेर जिम ज्वाइन गर्नेहरू रहेको बताउँछन् । यो उनको फिटनेस सेन्टरमा आएकामध्ये गरिएको सर्वेक्षणमा आधारित तथ्यांक हो ।

उनी जस्तै नेपालमा सञ्चालित अन्य फिटनेस सेन्टरका अधिकारीहरू किशोरावस्थादेखि ६५ वर्षसम्मका व्यक्तिहरू जिममा सहभागी हुनुको पछि यस्तै छुट्टै खाले उद्देश्य रहेको बताउँछन् । यसमध्ये किशोरावस्थाका सहभागीहरू सुन्दर शरीर निर्माणको लागि आउँछन् भने अरू स्वास्थ्यको दृष्टिकोणले आउने गर्छन् ।

जिम जानुको पछि कसैको शक्ति सुधार गर्ने र मांसपेशीलाई बलियो बनाउने उद्देश्य हुन्छ भने कोही प्राकृतिक ऊर्जाको खोजीका लागि पनि जिम जाने गर्छन् ।

बेलायतको नेसनल हेल्थ सर्भिसले एक वयस्कहरूले कम्तीमा एक हप्ताको १५० मिनेट मध्यम खालको व्यायाममा संलग्न हुनु पर्ने सुझाव दिएको छ भने ७५ मिनेट एरोबिक गतिविधिमा संलग्न हुनुपर्ने उक्त संस्थाको सुझाव छ ।

जिम जानुको पछि कडा परिश्रम र लामो व्यायाम कारण हुन्छ । हामी घरमै बसेर पनि व्यायाम गर्न सक्छौं । घरमा व्यायाम गर्दा आफूसँग भएका उपकरणको नै प्रयोग गरेर व्यायाम गर्न सकिन्छ । गुणस्तरीय उपकरणहरूमा पहुँच राख्नु र समर्पित व्यक्तिहरूको वरिपरि रहँदा आफ्नो फिटनेस लक्ष्यहरू पूरा गर्न सहज हुने भएकोले पनि धेरै मान्छे फिटनेस सेन्टरमा भर्ना हुने गर्छन् ।

विदेशमा गरिएका विभिन्न शोध र नेपालका फिटनेस सञ्चालकहरूले दिएको जानकारी अनुसार मान्छे फिटनेस सेन्टरमा भर्ना हुनुका कारणहरू निम्नानुसार छन् ।

लक्ष्य एक: स्वास्थ्यमा सुधार

सिलवालका अनुसार अनुसार फिटनेस सेन्टरमा आउनेमध्ये उमेर ढल्किएकाहरू आफ्नो स्वास्थ्यको सुधार होस् भनेर आउने गरेको बताउँछन् । नेसनल हेल्थ सर्भिसको रिपोर्टले पनि धेरै मान्छे लामो र स्वास्थ्यकर जीवन बिताउनको लागि नियमित अभ्यास गर्छन् र त्यसमध्येका केही नियमित फिटनेस सेन्टर जाने गर्छन् । कार्डियो र शक्ति प्रशिक्षण एवं वैज्ञानिक स्वास्थ्य सुधारका लागि मान्छे नियमित अभ्यास गर्ने गर्छन् । व्यायामले तनावसँग लड्न मद्दत पुर्‍याउँछ ।

लक्ष्य दुई: वजन घटाउन

यो पनि एक कारण हो कि धेरै जना वजन घटाउनको लागि पनि फिटनेस सेन्टरमा जाने गर्छन् । बीबीसीका अनुसार विश्वका ४८ प्रतिशत मान्छे महामारीको क्रममा बढेको वजन घटाउन संघर्ष गरिरहेछन् । जिममा जानुकोपछि पनि यो कारण रहेको उनी बताउँछन् ।

लक्ष्य तीन: सुन्दर र हट्टाकट्टा देखिन

सबै जनालाई आफू सुन्दर र हट्टाकट्टा भइयोस् भन्ने लाग्छ । व्यायामले स्लिम राख्न र हट्टाकट्टा बनाउन मद्दत गर्छ । तपाईंलाई कति वजनमा सीमित गर्ने ? शरीरलाई कसरी सुहाउँदो बनाउने जस्ता विषयमा फिटनेस सेन्टरले सहयोग गर्ने भएकोले फिटनेस सेन्टर धाउने गरिएको सञ्चालकहरू बताउँछन् ।

लक्ष्य चार: ऊर्जाको स्तर बढाउन

नियमित रूपमा मेहनत गर्दा ऊर्जाको स्तर बढ्छ भन्ने वैज्ञानिक तथ्यका कारण पनि मान्छे फिटनेस सेन्टर धाउने गर्छन् । यसरी नियमित अभ्यास गर्दा मान्छेमा थकानको भावना कम हुन्छ । झट्ट सुन्दा यो कुरा नमिल्दो लाग्न सक्छ । तर पक्कै पनि व्यायामले तपाईंलाई थकित नबनाई शरीरमा अधिक ऊर्जाको विकास गराउने गर्छ । व्यायामले डोपामाइन,  सेरोटोनिन र न्युरोट्रान्समिटरको उत्पादनलाई बढाउने गर्छ ।

लक्ष्य पाँच: मांसपेशी बलियो हुँदै जान्छ

यदि तपाईं शारीरिक रूपमा बलियो हुन चाहनुहुन्छ भने, तपाईंले आफ्नो फिटनेस व्यवस्थालाई महत्व दिनु पर्छ । नियमितको कडा शारीरिक व्यायामले तपाईंको मांसपेशी बलियो बनाउन सहयोग पुर्याउने गर्छ । यदि तपाईं तौलमा धेरै ध्यान दिने खालको हुनुहुन्न भने तपाईं आफ्नो शरीर शक्ति र ती मांसपेशीहरूको विकासलाई रोक्न सक्नुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment