Comments Add Comment

घरेलु कार्यालय पर्साले पालिका अनुसार दिन तोकेर सेवा दिने

६ वैशाख, वीरगञ्‍ज । घरेलु तथा साना उद्योग कार्यालय पर्साले पालिका अनुसार दिन तोकेर सेवा प्रवाह गर्ने भएको छ । मंगलबार सूचना जारी गर्दै बुधबारदेखि लागु हुने गरि पालिका अनुसार सेवा प्रवाह गर्न लागेको हो । पर्सा जिल्लामा १४ वटा पालिका छन् ।

एकै दिन सबै पालिकाबाट सेवाग्राहीहरु सेवा लिन आउँदा बढी भिडभाड देखिएकोले पालिका अनुसार सेवा प्रवाह गर्ने तालिका बनाइएको घरेलु कार्यालय पर्साले जनाएको छ । बढ्दो कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर भिडभाड कम गर्न जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि नै यसरी सेवा प्रवाह गर्न थालिकेको छ ।

निमित्त प्रमुख उद्योग अधिकृत द्वारा जारी सूचनामा कोभिड -१९ को प्रकोपका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना सहित सेवाग्राही वर्गीकरण गरेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको उल्लेख छ ।

दर्ता, नविकरण लगायत सबै सेवाहरू पालिका अनुसार बार तोकेर प्रवाह गरिने कार्यालयले जनाएको छ । आईतबार र सोमबार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् ।

मंगलबार र बुधबार तीनवटा नगर पालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिका बासिन्दाले मंगलबार र बुधबार सेवा लिन सक्नेछन् । बिहीबार र शुक्रबार बाँकी गाउँपालिकाका सेवाग्राहीका लागि छुट्याइएको छ ।

कालिकामाई, जगरनाथपुर, ठोरी, पकाहामैनपुर, सखुवाप्रसौनी, छिपहरमाई, जिराभवानी, धोबीनी, पटेर्वासुगौली र बिन्दबासिनी गाउँपालिकाका सेवाग्राहीले बिहीबार र शुक्रबार सेवा पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment