Comments Add Comment

वाग्मतीमा प्रदेशसभा अधिवेशन अन्त्य

७ वैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको हो । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेबाट प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखबाट जारी सूचनामा उल्लेख गरिएको छ ।

यसअघि सोमबार बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले लगातार अवरोध गरेपछि सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले संसद चलाउन सर्वदलीय बैठक बोलाएका थिए ।

मुख्यमन्त्री पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले बहिष्कार गरेका थिए ।

दुई विधेयकसहित प्रतिवेदन रोकियो

बागमती प्रदेश सभामा मंगलबार सम्म चालु हिउँदे अधिवेशनमा पास हुनुपर्ने दूई वटा विधेयक पेश नभई रोकिएको छ । कार्यसूचीमा रहेका बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले पेश गरेको सडक सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातवारण मन्त्रालयले पेश गरेको पर्यटन सम्बन्धी विधेयक छलफल विना नै अर्को अधिवेशनमा गएको हो ।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठका अनुसार, महालेखा परीक्षणको प्रतिवेदन, लोक सेवा आयोगको प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पनि पेस हुन सकेको छैन ।

बागमती पटक–पटक संसद अवरुद्ध भएपछि प्रदेश सभा सचिवालयमा पेश भएका ‘विजनेस’ रोकिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले विद्युतीय बस खरिद गर्नुअघि चार्जिङ सेन्टरलगायत पूर्वाधार निर्माण हुनुपर्नेलगायत विषयमा सरकारको जवाफ मागे पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै संसद बैठक अवरुद्ध गरेका थिए ।

बजेटको छलफल सुरु

बागमती प्रदेश सरकारले भने अब नयाँ बजेटको लागि छलफल सुरु भएको जनाएको छ । बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलका अनुसार अब बन्ने बजेटको लागि आवश्यक छलफल सुरु भइसकेको छ ।

उनले भने ‘हामी बजेटको छलफलमा एक महिना अघिदेखि नै छौं, चालु बजेटको कार्यान्वयन गर्दै अर्को बजेट कसरी प्रभावकारी बनाउन सक्ने भन्दै हामी छलफलमा छौं ।’ मन्त्री फुयाँलले बजेट अधिवेशन सुरु हुने र प्री–बजेटको छलफलको विषयमा भने तत्काल निर्णय नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment