Comments Add Comment

विद्यालय बन्द गरेर खानेपानी संस्थाको चुनाव !

८ वैशाख, चितवन । राजनीति प्रदूषित बन्दा त्यसको असर सर्वत्र देखिन्छ भन्ने प्रमाण बनेको छ, चितवनको राप्ती नगरपालिकाको एक विद्यालय वीरेन्द्र आदर्श मावि । खानेपानी संस्थाको निर्वाचन गराउने भन्दै बुधबार विद्यालय बन्द गरियो । बालबालिकालाई सूचना नै जारी गरेर विद्यालय नआउन भनियो र थालियो दलीय राजनीतिको आडमा हुने खानेपानीको चुनाव !

वीरेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन विद्यालय प्राङ्गणमा गरियो । विद्यालय आफैंले नभई नगरपालिकाले नै विद्यालय बन्द गराएर खानेपानीको चुनाव गराउन पत्र पठायो । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाबाट पत्र आएपछि बाध्य भएर एकदिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक केशवमणि सिग्देलले गुनासो पोखे ।

करिब एक हजार विद्यार्थीहरु उक्त विद्यालयमा अध्ययन गर्छन् । नगरपालिकाकी प्रमुख प्रभा बराल आफैंले हस्ताक्षर गरेर विद्यालयलाई बुधबार बन्द गर्न पत्र थमाएकी थिइन् । विद्यालयका निवर्तमान अध्यक्ष घनश्याम कँडेलले विद्यालय नै बन्द गराएर खानेपानी संस्थाको चुनाव गराउनु सरासर गलत भएको बताए । ‘विद्यालयमा खानेपानी, कुलो, सामुदायिक वन, आमा समूह, मन्दिरको चुनाव लगाउने काम नै सरासर गलत हो,’ कँडेलले भने, ‘यो विषय भोलि बस्ने शिक्षा समितिको बैठकमा उठाउँछु ।’

नगरपालिका प्रमुख बरालले रामनवमीको दिन स्थानीय सार्वजनिक विदा विद्यालयलाई दिने गरी चुनाव गराइएको दाबी गरिन् । ‘खानेपानी पनि कम संवेदनशील विषय होइन, अब कोरोना बढ्दै छ । हजारौ उपभोक्ता छन्, भोलि समस्या परे कसले हेर्ने ?,’ उनले भनिन्, त्यसैले बेलैमा चुनाव गराउन खोजेको हो, नगरपालिकाले एक क्षेत्र मात्रै हेरेर हुँदैन सबैतिर ध्यान दिनसक्नुपर्छ ।’ चुनाव नगराउने, पछि धकेल्ने षडयन्त्र गरेकाले शनिबार पनि सार्न नसकिएको उनको भनाइ छ ।

राप्ती नगरपालिका–८ मा रहेको सो खानेपानी संस्थाको नयाँ नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा छन् । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले (ओली समूह) को संयुक्त प्यानलबाट अध्यक्षमा चूडाप्रसाद सिलवाल (भीमसेन)को उम्मेदवारी छ भने अर्कोतर्फ नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), राप्रपा र नेकपा (माले)को संयुक्त प्यानलबाट अध्यक्षमा रामचन्द्र पाठकको उम्मेदवारी परेको छ ।

खानेपानी संस्थामा १ हजार ५३९ जना उपभोक्ताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment