+
+
Shares

म्याद गुज्रिएको औषधि भेटिएपछि नर्सिङ होममाथि कारबाही

रासस रासस
२०७८ वैशाख ८ गते १९:४२
फाइल तस्वीर

८ वैशाख, सिरहा । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङ होम प्रालिमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङ होममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद भएको थियो ।

‘अनुगमनका क्रममा म्याद गुज्रिएको औषधि र ल्याबका केमिकल फेला परेको छ,’ घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले भने, ‘फार्मेसीमा म्याद गुज्रिएको औषधि र ल्याबमा म्याद गुज्रिएको केमिकल राखेर मानव स्वास्थ्यसँग खेलवाड गरेको पाइएकाले उक्त नर्सिङ होममाथि कारबाही अघि बढाइएको हो ।’

अनुगमनका क्रममा नर्सिङहोम सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमतिपत्र लिएको नपाएपछि नर्सिङ होमका सञ्चालकलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताए । अनुगमनमा भेटिएको म्याद गुज्रिएको औषधि र कमिकल नियन्त्रण लिई आवश्यक प्रक्रिया पुर्‍याएर नष्ट गरिने उनले बताए ।

यस्तै बजार अनुगमनकै क्रममा लहानको अस्पताल चोकस्थित सन्जु जेनरल स्टोर, ओम जेनरल स्टोर, पवन किराना पसल एण्ड जेनरल स्टोर, चाँदनी किराना पसललगायत एक दर्जन पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको खाद्यान्न, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

यसैगरी रिया, लक्ष्मी होटल तथा सिटी ट्रेडर्सबाट पेय पदार्थ तथा उपभोग मिति सकिएका बियर बरामद गरी नष्ट पारेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, पञ्जालगायत सामग्रीलाई केन्द्रित गरेर अनुगमन गरिएको कार्यालय प्रमुख सुरेश सिंहले बताए ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अबिलम्व उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उनले जानकारी दिए ।

अर्को पटक अनुगमन गर्दा यस्तो पाइएमा थप कडा कारबाही गरिने उनको चेतावनी छ। सिरहाको लहानलगायत धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य बजारमा पनि बजार अनुगमन गरिने सिंहले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?