
९ वैशाख, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिहीबार करिब साढे ११ बजे मोरङको कटहरी गाउँपालिका–४ घर भएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषमा तीन दिन अघि संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बिहीबार साढे ११ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र संयोजक एपोलो भगतले जानकारी दिए । उनका अनुसार कोरोना पुष्टि भएपछि ति पुरुषलाई वैशाख ६ गते भर्ना गरिएको थियो ।
ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएका पुरुषमा दिर्घरोगको समस्या थिएन । अस्पतालमा हाल २३ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।
योसँगै प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको थियो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति धरान उपमहानगरपालिका– ११ का ४५ वर्षीय पुरुष र बुधबार दिउँसो प्रतिष्ठान मै इटहरी उपमहानगरपालिका –२ की ७८ वर्षीया वृद्धा महिलाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4