Comments Add Comment

प्रदेश २ मा अपराधका घटना : तथ्यांकमा तलमाथि, सुध्रेन अवस्था

मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको शव भेटिएको स्थान

२ वैशाख, जनकपुरधाम । सिरहाको लहान नगरपालिका–२३ स्थित वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा कोठा भाडामा लिई सुनचाँदी व्यवसाय गर्दै आएका प्रदीप मिझारको २८ चैतको राति हत्या भयो ।

१ बजे राति लुटपाट गर्न आएको समूहले धारिलो हतियार र गोली हानेर ४५ वर्षीय मिझारको ज्यान लिए । घटनामा उनकी पत्नी ३५ वर्षीया अनिता कुमारी दुलाल घाइते भइन् । उनको दाहिने हातमा खुकुरी प्रहार हुँदा गहिरो चोट लाग्यो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले लहान नगरपालिका–७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरी र लहान–२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई पक्राउ गर्‍यो ।

०००

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा १० फागुनको रातिदेखि बेपत्ता भए ।

१२ चैतमा दुवै जनाको शव खाल्डोमा पुरिएको अवस्थामा पिपरा गाउँपालिका–२ स्थित बाटो छेउमा फेला पर्‍यो । झा दम्पतीको हत्या आरोपमा प्रहरीले तीन जना आफन्तसहित सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहे पनि हत्याको कारण भने स्पष्ट भएको छैन ।

०००

१२ चैतको बिहान सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–१० बस्ने सुशील राय यादवको टाउको काटिएको अवस्थामा शव फेला पर्‍यो । उनको हत्या गरेको भन्दै स्थानीय ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र उनका ४० वर्षीय भाञ्जा अशोक झालाई पक्राउ गरेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।

०००

एक समय थियो प्रदेश–२ का जिल्लासहित तराई–मधेशका अन्य जिल्लामा प्रायः दैनिक रूपमा हत्या, अपहरणका घटना सार्वजनिक हुन्थे । त्यस बेला सक्रिय रहेको सशस्त्र समूह र ती समूहको आडमा यस्ता घटना भएको प्रहरी रेकर्डले देखाउँछन् ।

अहिले सशस्त्र समूहको स्थापना गर्ने जयकृष्ण गोइतको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) मात्र केही सक्रिय देखिएको छ ।

तर तराई मधेसमा हत्या अपहरणका घटना निरन्तर भइरहेको छ । ‘घटना नै हुँदैन भन्ने छैन । घटना भए पनि दोषीलाई कारबाहीको दायरामा ल्याएका छौं’ प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह भन्छन्, ‘केही हत्या व्यक्तिगत कारण पनि भएको छ । व्यक्तिगत कारण हुने घटना भइरहन्छ । तर त्यसको पुनरावृत्ति हुन नदिन हामी कठोर कानूनी कारबाही गर्छौं ।’

आपराधिक तत्वप्रति निगरानी र ‘फ्लो’ गर्दै कठोर कानूनी कारबाही गरेपछि आपराधिक घटनामा कमी आएको उनी दाबी गर्छन् ।

धनुषाको मिथिला नगरपालिका–६ का शत्रुधन साहका अढाइ वर्षीय छोरा आर्यन साह २३ वैशाख २०७६ देखि हराए । भोलिपल्टै उनको घाँटी रेटिएको अवस्थामा घर नजिकै शव फेला पर्‍यो । स्थानीय ५५ वर्षीय शत्रुधन महतोले आफूलाई ‘शक्तिशाली झाँक्री’ बनाउन बालकको बलि चढाएको तथ्य खुल्यो ।

अहिलेको तथ्यांकलाई हेर्ने हो भने हत्या र अपहरणमा कमी देखिएको छ । तर लगातार भइरहेको घटनाले सुरक्षा अवस्था सुध्रन नसकेको देखाउँछ ।

आर्थिक वर्ष २०७५/७६ मा १२० जनाको हत्या र ३३ जनाको अपहरण भएको थियो । २०७६/७७ मा यो संख्या केही घटेर ९० जनाको हत्या र २७ जनाको अपहरण भयो । चालु आर्थिक वर्षको चैतसम्म यो तथ्यांक घटेको छ ।

चालु वर्षको नौ महिनामा ६० जनाको हत्या र २० जनाको अपहरण भएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

जिल्लागत रूपमा हेर्ने हो भने आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी हत्या सिरहामा भएको छ । यो जिल्लामा २५ जनाको हत्या हुँदा धनुषामा १८, बारामा १७, सर्लाहीमा १५, पर्सामा १३, सप्तरीमा १२ र रौतहटमा ८ जना मारिएका छन् ।

यो वर्ष अपहरण भने सबैभन्दा बढी सप्तरीमा भएको छ । सप्तरीमा १० जनाको अपहरण हुँदा धनुषामा ८, सिरहामा ७, रौतहटमा ५, महोत्तरी, सर्लाही र पर्सामा १–१ जनाको अपहरण भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा धनुषामा १८ जना, पर्सामा १५ जना, सप्तरी र सिरहामा १२–१२ जना, महोत्तरीमा ११, सर्लाहीमा १०, रौतहटमा ७ र बारामा ५ जनाको हत्या हुँदा बारामा ७ जना, सप्तरी र पर्सामा ६–६ जना, सिरहामा ४ जना, धनुषामा २ जना, सर्लाही र रौतहटमा १–१ जनाको अपहरण भएको छ । यो वर्ष महोत्तरीमा कसैको अपहरण भएको देखिंदैन ।

चालु आर्थिक वर्षको चैतसम्म रौतहट र पर्सामा १२–१२ जनाको हत्या भइसकेको छ । यो अवधिमा सिरहामा ९ जनाको हत्या हुँदा महोत्तरी र सर्लाहीमा ७–७ जनाको, सप्तरी र धनुषामा ४–४ जनाको र बारामा ६ जनाको हत्या भएको छ ।

यस अवधिमा सर्लाहीबाट ५ जना, धनुषा, महोत्तरी र बाराबाट ४–४ जना, सिरहा, रौतहट र पर्साबाट १–१ जनाको अपहरण हुँदा सप्तरी हालसम्म जोगिएको छ । सप्तरीबाट एक जना पनि अपहरणमा परेका छैनन् ।

यो पनि पढ्नुहोस अपहरण र फिरौती : १० वर्षे द्वन्द्वले फैलाएको अपराध

आफन्तबाटै असुरक्षित

७ फागुन २०७७ मा धनुषाको नगराइन नगरपालिका–६ स्थित लग्माबाट ७ वर्षीय चन्दन दासको अपहरण भयो । अपहरणकारीले बालकको परिवारसँग एक करोड फिरौती मागे । अपहरित बालकको खोजीमा जुटेको प्रहरीले ७ फागुनकै राति जनकपुरधामस्थित माछाबजार छेउबाट बालकको उद्धार गर्‍यो । त्यस क्रममा पत्ता लाग्यो– बालकको अपहरणकारी उनकै मामा महोत्तरीको पिपरा गाउँपालिका ७ का लक्ष्मेश्वर दास रहेछन् ।

आफ्नै भान्जाको अपहरण गर्ने दासविरुद्ध शरीर बन्धक तथा अपहरण मुद्दा दायर गरेर प्रहरीले कानूनी प्रक्रिया अगाडि बढायो ।

२० माघ २०७७ मा सिरहा नगरपालिका १ डुम्बाखाता बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा प्रियांशुको अपहरण भयो । प्रहरीले भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गरेपछि बालककै काका कुलदीपले अपहरण गरेको खुल्यो ।

बालकको बुबा अर्थात् दाजु प्रदीपसँग कुलदीपको मनमुटाव रहेको र सोही रिसइबी साध्न प्रियांशुको अपहरण गर्दै फिरौती समेत माग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न उनका काका कुलदीप र सहयोगी भरोसी यादवलाई प्रहरीले १० फागुनमा पक्राउ गरी मुद्दा प्रक्रिया अगाडि बढायो ।

आफन्तले नै अपहरण गरेको घटना नौलो होइन । सामान्य प्रतिशोध साध्न पनि आफन्तले आफन्तकै अपहरण गरेको घटना सप्तरीमा भएका छन् ।

कतै बम विस्फोट, कतै हत्या, कतै बलात्कार भइरहेको छ । यी घटनालाई हेर्दा शान्तिसुरक्षा कमजोर भइरहेको देखिन्छ ।

राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मणको १६ वैशाख २०७६ मा मामा भोलेन्द्रको जन्ती गएको बेला अपहरण भयो । प्रहरीले खोजतलास गर्ने क्रममा भारतको बिहार राज्यअन्तर्गत दरभंगा र सीतामढीको बीचमा रहेको एक ढावाबाट ती बालकको उद्धार गर्‍यो । बालकको उद्धारपछि उनको अपहरण भोलेन्द्रकी पहिलाकी पत्नीका परिवारले गरेको खुलेको थियो ।

भोलेन्द्रको केही वर्षअघि सप्तरीकै महदेवा गाउँपालिका निवासी एक युवतीसँग बिहे भएको थियो । तर, सम्बन्ध राम्रो नहुँदा दुवैले सप्तरी जिल्ला अदालतबाट सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि अपहरित बालक लक्ष्मणकी आमाले अर्काे केटी खोज्न सहयोग गरेकै कारण बालकको अपहरण गरेको तथ्य बाहिर आयो ।

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले भोलेन्द्रकी जेठी पत्नीका पिता, सालोको छोरा र आफन्तलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलायो ।

अन्धविश्वास पनि कारण

धनुषाको मिथिला नगरपालिका–६ का शत्रुधन साहका अढाइ वर्षीय छोरा आर्यन साह २३ वैशाख २०७६ देखि हराएका थिए । भोलिपल्टै उनको घाँटी रेटिएको अवस्थामा घर नजिकै शव फेला पर्‍यो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले बालकको हत्या अन्धविश्वासका कारण भएको तथ्य सार्वजनिक गर्‍यो । बालकको स्थानीय ५५ वर्षीय शत्रुधन महतोले आफूलाई ‘शक्तिशाली झाँक्री’ बनाउन बलि चढाएको तथ्य खुल्यो ।

महतोले बालकलाई ललाई–फकाई २३ वैशाखमा आफ्नो घर लगी राति २ बजे घाँटी काटेर घर नजिकैको झाडीमा फ्याँकेका थिए ।

महतोलाई १६ जेठ, २०७६ मा सार्वजनिक गर्दै प्रहरीले अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा प्रक्रिया अगाडि बढायो ।

कन्ट्रोलिङ पावर कमजोर देखियो : विश्लेषक सुरेन्द्र लाभ

आपराधिक घटना बढ्नु भनेको शान्तिसुरक्षा कमजोर हुनु हो । यो शान्ति सुरक्षासँग सान्दर्भिक प्रश्न हो । कतै बम विस्फोट, कतै हत्या, कतै बलात्कार भइरहेको छ । यी घटनालाई हेर्दा शान्तिसुरक्षा कमजोर भइरहेको देखिन्छ ।

यसको ‘कन्ट्रोलिङ पावर’ छैन । कन्ट्रोलिङ पावर लुज भइरहेको छ । ‘ल एण्ड अर्डर’ मजबूत भए सबै सम्भावनालाई हटाउन सकिन्छ । समग्रमा भन्ने हो भने जसको हातमा पावर छ त्यो कमजोर भइरहेको छ ।

यो पनि पढ्नुहोस समाजमा बढ्दै छ अपराधिक मनोवृत्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment