Comments Add Comment

कार्बन उत्सर्जनमा भारतीय नागरिकको भूमिका निकै कम छ : मोदी

१० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनविरुद्ध स्पष्ट कदम चाल्न आवश्यक रहेको बताएका छन् बताए ।

मोदीले भारतले जलवायु परिवर्तनविरुद्धको कदमको रुपमा नवीकरणीय ऊर्जाको योजना अघि सारिरहेको बताए । सन् २०३० सम्म ४५० गिगावाटको विद्युत् उत्पादन गर्ने भारतको लक्ष्य रहेको मोदीले बताएका थिए । उनले भारतले अहिले नवीकरणीय ऊर्जा, जैविक विविधताजस्ता विषयलाई ध्यान दिइरहेको बताए ।

मोदीले अन्तर्राष्ट्रिय सैन्य गठबन्धन, लिडआईटी र संकट निवारणको पूर्वाधार विकासमा सहकार्यजस्ता विश्वव्यापी आविष्कारलाई प्रेरित गर्नुपर्ने बताए । सम्बोधनको क्रममा मोदी र अमेरिकी राष्ट्रपति जो बाइडनले लगानी परिचालन, स्वच्छ प्रविधिको प्रयोग र हरित सहकार्यको लक्ष्य बोकेको ‘इन्डिया–यूएस क्लाइमेट एण्ड क्लिन इनर्जी एजेन्डा २०३० पार्टनरसिप’ कार्यक्रम सार्वजनिक गरेका थिए ।

मोदीले भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जनको हिस्सा विश्वको औसतभन्दा कम रहेको बताए । उनले भारतका मानिसहरु अझै पनि दिगो पारम्पारिक जीवनशैली जिउँदै आएकाले कार्बन उत्सर्जनमा उनीहरुको भूमिका निकै कम रहेको धारणा राखे ।

उनले सबैलाई ‘ब्याक टु बेसिस’को आदर्शलाई पछ्याउन पनि आग्रह गरे । कोरोना महामारीपछिको कालमा यो निकै महत्वपूर्ण आर्थिक रणनीतिको मेरुदण्ड हुने मोदीको भनाइ छ ।

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडनको निमन्त्रणामा भर्चुअल जलवायु शिखर सम्मेलन भएको हो । यो सम्मेलनमा बिहीबार ब्राजिल, क्यानडा र जापानलगायतका मुलुकले आन्तरिक हरितगृह ग्यास उत्सर्जन नियन्त्रणका लागि प्रतिबद्धता जनाएका छन् । यी मुलुकले यसअघि सन् २०१५ मा भएको जलवायु सम्झौताबाट बाहिरिने बताएका थिए ।

बिहीबारको सम्मेलनमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सन् २०३० सम्ममा अवैध वन विनाशको अन्त्य गर्ने बताएका थिए । साथै सन् २०५० मा नेट कार्बन उत्सर्जन शून्यमा झार्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले सन् २०३० सम्ममा अमेरिकाको कार्बन उत्सर्जन आधाभन्दा धेरै घटनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जापानका प्रधानमन्त्री योसिहिडे सुगाले सन् २०३० सम्ममा कार्बन उत्सर्जन २०१३ को तुलनामा ४६ प्रतिशत घटाउने प्रतिबद्धता जनाए । यसअघि जापानले सो अवधिमा २६ प्रतिशत उत्सर्जन मात्र घटाउन सकिने बताउँदै आएको थियो । २६ प्रतिशत उत्सर्जन घटाउनु पर्याप्त नहुने भन्दै जापानको आलोचना हुँदै आएको थियो । जापानका प्रधानमन्त्री सुगाले सन् २०५० सम्ममा नेट कार्बन उत्सर्जन शून्यमा झार्नुपर्ने बताए ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो मुलुकले सन् २०३० सम्ममा कार्बन उत्सर्जन सन् २००५ को तुलनामा ४० देखि ४५ प्रतिशत घटाउने बताए । यसअघि क्यानडाले ३० प्रतिशत मात्र घटाउन सकिने बताएको थियो । उनले पनि सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्नुपर्नेमा जोड दिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कार्बन उत्सर्जन कम गर्ने नयाँ लक्ष्य घोषणा गरेनन् । तर, उनले सन् २०३० सम्ममा ४५० गिगावाटको नवीकरणीय ऊर्जा विकास गर्ने बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वका मुलुकले उल्लेख्य मात्रामा कार्बन उत्सर्जन गर्नुपर्ने बताए । रुसले सन् १९९० यता उत्सर्जन आधा घटाइसकेको उनले बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०३० भन्दा अघि नै विश्वव्यापी कार्बन उत्सर्जन घट्न सुरु गर्ने गरी काम गर्न सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment