Comments Add Comment

महाभारतको प्रसंग : युधिष्ठिरको कालमाथिको विजय !

महाभारतको युद्ध सकिएको थियो । महाराज युधिष्ठिर राजा बनिसकेका थिए । आफ्ना चार भाइहरूको सहयोगमा उनले राजकाज चलाउँदै आएका थिए । राज्य सञ्‍चालनमा पाँचै दाजुभाइको समान अधिकार र सक्रियता थियो । कोही दु:खी सहयोगको लागि आयो भने उसलाई सहयोग गर्ने गर्थे । राज्यमा हाँसिखुसी थियो ।

एकदिन युधिष्ठिर राजभवनमा बसेर मन्त्रीहरूसँग कुरा गरिरहेका थिए । एक समस्यामाथि गहन विचार चलिरहेको थियो । केही दुष्टहरूबाट पीडित रहेका एक नागरिक हारगुहार गर्दै थिए । उनीहरूले नागरिकको गाई खोसेर उसलाई दु:ख दिएका थिए । समस्या त्यति ठूलो त थिएन । तर ती नागरिक न्यायका निम्ति त्यहाँ पुगेका थिए । मन्त्रीसँगको व्यस्त कुराकानीको कारण महाराज युधिष्ठिरले नागरिकको कुरा सुन्न सकेनन् । उनले नागरिकलाई बाहिर पर्खिन भने, नागरिक मन्त्राणा भवन बाहिर युधिष्ठिरको पर्खाइमा थिए ।

मन्त्रीसँग कुराकानी सकिसकेपछि महाराजले नागरिकलाई बोलाउन चाहेका थिए तर उनीसँग भेट्न अर्को कुनै देशको दूत त्यहाँ पुगे । युधिष्ठिर फेरि अर्को कुराकानीमा फसे । यसरी महाराज युधिष्ठिरले एकपछि अर्को महत्वपूर्ण बैठकका कारण ढिला गरी ती नागरिकसँग भेट्न त पुगे । तर दिनभरिको भेटघाटका कारण थाकेका युधिष्ठिरले नागरिकलाई भेटेर आफू निकै थाकेका कारण भोलि आउन भने । यति भनेर राजा आफ्नो विश्राम गृहतिर लागे ।

नागरिक महाराजा युधिष्ठिरको व्यवहारबाट अत्यन्त निराश थिए । उनी दु: खी मनको साथ आफ्नो घर फर्किँदै थिए । उनको मनमा एकपटक भीमलाई भेटेर जाने इच्छा जाग्यो । त्यहाँबाट महाराज युधिष्ठिरका भाइ भीमलाई भेट्न हिँडे । भीमले नागरिकलाई आफ्नो समस्याको कारण सोधे । नागरिकले भीमलाई सम्पूर्ण कुरा सुनाए । साथै महाराजले आफूलाई समय नदिएको कुरा पनि सुनाए ।

नागरिकको बारेमा सुनेर भीम साह्रै दुःखी भए । उनी महाराजा युधिष्ठिरको व्यवहारबाट धेरै निराश पनि थिए। उसले एकछिन सोचे र द्वारपालको नजिक गएर विजयको अवसरमा बजाउने ड्रम बजाउन सैनिकलाई निर्देशन दिन भने । ढोकामा तैनाथ सिपाहीहरूले विजयको अवसरमा बजाउने ड्रम बजाउन सुरू गरे। महाराज युधिष्ठिरले पनि ड्रमको आवाज सुनेर छक्क परे। ड्रम किन बजिरहेको छ भनेर पत्ता लगाउन उनी आफ्नो कोठाबाट बाहिर आए ।

कोठाबाट बाहिर आउने बित्तिकै उनको भेट भीमसँग भएको थियो । युधिष्ठिरले सोधे “विजयको अवसरमा बजाउने ड्रम किन बजिरहेको छ ? हाम्रो सेनाले कुनै शत्रुमाथि विजय हाँसिल गरेको छ र ?’

भीमले नम्र भई जवाफ दिए, “महाराज, हाम्रो सेनाले कुनै शत्रुलाई जितेको छैन।”

युधिष्ठिरले फेरि सोधे “त्यसोभए किन यी ड्रमहरू बज्दै छन् त ?”

“किनभने यो कुरा थाहा भयो कि महाराज युधिष्ठिरले काललाई जितेका छन्।” भीमले जवाफ दिए ।

भीमको कुरा सुनेर महाराज आश्चर्यचकित भए । उनले सोधे, “मैले काललाई कसरी जितेँ ?”

भीमले महाराजको आँखामा हेर्दै भने, “महाराज, केही समय अघि तपाईंले एक नागरिकलाई भन्नुभएको थियो कि उसको समस्या सुन्नको लागि भोलि मात्रै फुर्सद छ भनेर। यो स्पष्ट छ कि तपाईंलाई थाहा छ आज तपाईं मर्न सक्नुहुन्न । तपाईंले एकदिनको लागि काललाई जितेकोले नै तपाईंले भोलि अवष्य भेट हुन्छ भन्ने लाग्यो तपाईंलाई ।

भीमको कुरा सुनेपछि महाराज युधिष्ठिर छाँगाबाट खसेजस्तै भए । उनको आँखा खोलियो। उनले आफ्नो गल्ती पत्ता लगाए र नागरिकको समस्या अनुसारको सहयोगको प्रबन्ध मिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment