Comments Add Comment

उपभोक्तालाई ग्याँस उद्योग संघको आग्रह : खाली सिलिण्डर भर्नुस्

फाइल तस्वीर

१२ वैशाख, काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्याँसको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्याँस आयात हुने मुलुक भारतमा कोभिड महामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।

गत वर्ष ग्याँस भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘गत वर्ष खाली सिलिण्डर एकै पटक बजारमा आउँदा आपूर्ति व्यवस्थामा समस्या देखियो, यस वर्ष त्यस्तो नहोस् भनेर खाली सिलिण्डर भर्न भनेका हौं’, अध्यक्ष भण्डारीले अनलाइनखबरसँग भने । ग्याँसको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई चुस्त बनाउन निगमले संघलाई पत्राचार गरेको पनि उनले बताए । भारतबाट नियमित रुपमा ग्याँसको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने अध्यक्ष भण्डारीको भनाइ छ ।

ग्याँसको आपूर्ति व्यवस्थालाई चुस्त बनाउन र अभाव कतैबाट पनि नहोस् भनेर व्यवसायीलाई सचेत गराइएको नेपाल आयल निगमले जनाएको छ । ‘गत वर्ष उपभोक्ता त्रसित हुँदा आपूर्ति चेनमा केही समय असर पर्‍यो । यो वर्ष त्यो हुनु भएन भनेर हामीले पूर्वतयारी गर्न भनेका हौं’, निगमका प्रवक्ता विनितमणि उपाध्ययले अनलाइनखबरसँग भने ।

ग्याँसको आपूर्ति नियमित रुपमा भइरहेको भए पनि पाइन्जेल चुप लागेर बस्ने र अभाव भएपछि लाइन लाग्ने उपभोक्ताको स्वभावलाई सुधार गर्न यस पटक पहिल्यै तयारी गरिएको उपाध्यायको भनाइ छ । भारतको धेरै टाढा रहेको पारादीप, हल्दीय, मथुरा लगायतका ठाउँबाट ग्याँस ल्याउनुपर्ने र ती क्षेत्रमा कोरोना कहर बढी रहेका कारण सामान्य अवस्था रहँदै क्षमताले भ्याएसम्मको भण्डारण गर्ने नीतिमा निगम रहेको उनले बताए ।

अघिल्लो महीना अहिलेसम्मकै धेरै चार अर्ब रुपैयाँ बराबरको ४७ हजार मेट्रिक टन एलपी ग्याँस आयात भएको पनि निगमले जनाएको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार नेपालमा दैनिक ८० हजार सिलिण्डर र मासिक २६ लाख ७६ हजार ५७ सिलिण्डर ग्याँस खपत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment